रवि लामिछानेको विजय जुलुसमा पूर्व राजारानीको तस्वीर !
बिहीबार गृह जिल्ला पुगेका सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले व्यवस्था विरोधी अभियान्तालाई जनताले कुल्चिदिने चेतावनी दिए ।
मन्त्री बाँस्कोटाले अयोग्य तत्वको चलखेललाई जनताले जवाफ दिने पनि बताए । यसअघि पनि मन्त्री बाँस्कोटाले गणतन्त्र र संघीयता विरोधी अभियान्ताहरु डायनासर भएर जाने चेतावनी दिएका थिए ।
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पनि पूर्व राजावादीलाई लक्षित गर्दै कडा टिप्पणी दिइरहेका छन् । प्रधानमन्त्री ओलीले त संसदमै उभिएर पूर्व राजावादीको अभियानलाई बेमौसमको बाजा भनिसकेका छन् ।
१ भदौमा प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै पूर्व राजावादीको विरोधमा खनिएका थिए । संसद सम्बोधन गरेको भोलिपल्टै प्रधानमन्त्री ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएर परिवर्तनकारी शक्तिहरु एक हुनुपर्ने प्रस्ताव गरे । यसपछि प्रधानमन्त्री ओली उपचारका क्रममा ५ भदौदेखि सिंगापुरमा छन् ।
तर, पूर्व राजाका समर्थकहरुसँग सत्तारुढ दल र सरकार तर्सिरहेको प्रमाण पर्याप्त देखिदैछन् । त्रसित अभिव्यक्तिको पछिल्लो शृङ्खला भने नेकपा अध्यक्ष दाहालबाट शुरु भएको देखिन्छ ।
रामेछाप पुगेर पुष्पकमल दाहालले १९ साउनमा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाटै लखेट्ने चेतावनी दिएका थिए । यसको अघिल्लो दिन मात्रै राप्रपाका अध्यक्ष कमल थापाले सरकारलाई चेतावनी दिएका थिए । १८ साउनमा कार्यकर्तालाई ढाडस दिनेगरी अध्यक्ष थापाले अब ड्राइभर होइन, बाटो नै फेर्नुपर्ने बताएका थिए । अध्यक्ष थापाको यो चेतावनीपछि लगातार सत्तारुढ नेताहरु र विषेशगरी मन्त्रीहरुबाटै पूर्व राजा समर्थकहरुको विरोधमा अभिव्यक्ति आइरहेका छन् ।
संवैधानिक राजसंस्थाको वकालत गर्ने पूर्व पञ्चहरुको पाटी राप्रपाका नेता तथा कार्यकर्ता पनि सत्तारुढ नेताहरुको अभिव्यक्तिको जवाफबाट पछि हटेको देखिदैन । २४ साउनमा काभ्रेको धुलिखेलमा पार्टी प्रशिक्षण कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले भनेका छन्, “हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको माग राख्न पाउनु संवैधानिक अधिकार हो ।”
सवाल–जवाफको शृङ्खलामा अहिले जोडिएका छन्, टेलिभिजन प्रस्तोता रवि लामिछाने प्रकरण । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरी पाँच लाख धरौटीमा छोडेका रवि लामिछानेलाई नेकपाका केही नेताहरुले पूर्व राजावादीसँग जोडेर हेर्न थालेका छन् ।
लामिछानेका समर्थनमा निस्किएका प्रदर्शनमा पूर्व राजावादी शैलीको जुुलुस र पूर्व राजारानीको तस्वीर अंकित टी–सर्टलाई देखाएर देशमा प्रतिगमनकारीकाे चलखेल बढेको आशंका गरिरहेका छन् । नेकपाका कार्यकर्ताहरुले समेत प्रश्न उठाउन थालेका छन्– रवि लामिछानेको विजय जुलुसमा पूर्व राजारानीको तस्वीर अंकित टी–सर्ट कहाँबाट आयो ?
२०७४ को निर्वाचनमा भने अहिले सत्तारुढ तर्सिरहेको शक्ति राप्रपाले अत्यन्तै कम जनमत पाएको थियो । निर्वाचन आयोगको तथ्याङ्कअनुसार, १,९६,७८२ (२.०६ प्रतिशत) मात्रै मत राप्रपाले पाएपछि राष्ट्रिय दलको मान्यता समेत पाउन सकेको छैन ।