बेलहियाबाट भारत हुँदै अवैध बाटो खाडीतिर
सरकारले महिलालाई खाडी मुलुकको रोजगारमा रोक लगाएपछि दलालको ‘फ्री भिसा-टिकट’ को प्रलोभनमा परेर स्थलमार्गबाट भारत जाने र त्यहाँबाट खाडीतिर उडेर अलपत्र पर्नेको संख्या बढ्दो छ।
पति बेरोजगार रहेपछि घरखर्च चलाउनै मुश्किल पर्यो। टाउकोमा एकपछि अर्को गरी ऋणको भारी थपिंदै थियो। त्यसबाट उम्कन हेटौंडा उपमहानगरपालिका-१२ की सोनिका सञ्जेलले वैदेशिक रोजगारमा जाने निर्णय गरिन्। विदेशमा सजिलै धेरै पैसा कमाइन्छ भन्ने उनको बुझाइ थियो। त्यसैले साथीभाइका सल्लाह पछ्याउँदै एउटा दलालको सम्पर्कमा पुगिन्। “आम्दानी नभएकैले श्रीमान्सँग सधैं झगडा भइरहन्थ्यो। आफन्त, साथीभाइले विदेश गए पैसा कमाउन सकिन्छ भनेपछि जाने निर्णय गरेकी हुँ,” उनी भन्छिन्।
सञ्जेललाई दलालले स्थलमार्ग हुँदै भारत प्रवेश गराउने र दिल्लीबाट सित्तैमा कुवेत उडाइदिने प्रलोभन दिएको थियो। घरदेखि टाढा भनेको एक पटक काठमाडौं र अर्को पटक वीरगन्जपारि रक्सौलसम्म पुगेकी उनी अहिले त्यही प्रलोभन पत्याएर अझ बिरानो ठाउँ जान राजी भएकी थिइन्।
गत मंसीर १३ गते सञ्जेल नेपाल-भारत सीमानाका बेलहिया पुगिन्। मानव बेचबिखन नियन्त्रणका लागि सीमाक्षेत्रमा खटिएका स्वयंसेवकले शंका लागी सोधखोज गर्दा यथार्थ पत्ता लागिहाल्यो। कुवेत जान लागेको बताएकी उनीसँग आवश्यक कागजपत्र थिएनन्। स्वयंसेवकले उनी जसरी विदेश जान लाग्दै छिन्, त्यो अवैध रहेको र यो काम कतिसम्म जोखिमपूर्ण हुन सक्छ भन्ने बुझाए। प्रलोभन देखाउने दलाल एकाएक गायब भयो। अहिले सञ्जेल भैरहवास्थित शान्ति पुनःस्थापना गृहमा छिन्।
सीमाक्षेत्रमा रहेर मानव बेचबिखनको निगरानी गर्दै आएको उक्त संस्थाका प्रमुख नीतेशकुमार चौधरीका अनुसार पछिल्ला दिन कुवेत लैजाने भन्दै स्थलमार्गबाट दिल्ली पुर्याइने महिलाको संख्या निकै बढेको छ। “हामीले शंका लागेकालाई रोकिरहेकै छौं,” उनी भन्छन्, “तर कहींकतैबाट आँखा छलेर गएका हुन सक्छन्।”
रुपन्देहीमा रहेर आप्रवासन तथा महिला सरोकारका क्षेत्रमा काम गर्दै आएका संस्थाले गत आर्थिक वर्षमा बेलहिया नाकामा झन्डै ३३ हजार महिलालाई परामर्श दिएका छन्। तिनले रोजगारका लागि तेस्रो मुलुक जान खोजेका तर जान लागेको ठाउँबारे अलिकति पनि जानकारी नभएका र आवश्यक कागजपत्र समेत नरहेका ७९१ जनालाई घर फर्काएका छन्।
शान्ति पुनःस्थापना गृहले आर्थिक वर्ष २०८०/८१ मा मात्र १० हजार ७९१ जनालाई परामर्श दिएको छ भने २७० जनालाई उद्धार गरेको छ। आफन्त नेपालले १७ हजार ५७ जनालाई परामर्श दिनुका साथै १८७ जनालाई उद्धार गरेको छ। साना हातहरूको भैरहवा शाखाले दुई हजार ६४१ जनालाई परामर्श र २२६ जनालाई उद्धार गरिएको जनाएको छ। अर्को संस्था शुभ अवसर ग्रामको रुपन्देही शाखाको तथ्यांकमा चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म मात्रै दुई हजार ६५१ जनालाई परामर्श दिइएको र १०८ जनालाई उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्ला पाँच वर्षमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी १५ वटा मुद्दा दर्ता भएका छन्। “अहिले स्थलमार्गबाट भारत हुँदै तेस्रो मुलुक जाने महिलाको संख्या बढेको छ,” जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्की भन्छन्।
सिद्धार्थनगर नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा मानव बेचबिखनसँग सम्बद्ध ३९९ तथा ठगी सम्बन्धी ३११ वटा उजुरी दर्ता रहेको र वैदेशिक रोजगारमा जोखिममा परेका २७ जनाको उद्धार गरिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को तथ्यांक छ। “रोजगारीका लागि भारतसम्म पैदल हुँदै त्यहाँबाट अन्य मुलुक जाने प्रवृत्ति पाइएको छ,” कार्यक्रम संयोजक सीता पन्थ भन्छिन्, “यसरी जानेहरू जोखिममा पर्ने गरेका छन्।” बेलहिया नाकामा गत मंसीर १३ गते वैदेशिक रोजगारीमा जान भनी हिंडेका तर आवश्यक भिसा, स्वास्थ्य परीक्षण रिपोर्ट केही नरहेका १३ महिलाको समूहलाई रोकिएको थियो। बेलहिया जस्तै नाका विराटनगर, वीरगन्ज, नेपालगन्ज र महेन्द्रनगरमा पनि छन्।
खाडी मुलुकमा गएका महिला कामदार घरेलु हिंसामा पर्ने घटना बढेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सिफारिशमा सरकारले २०७३ सालमा महिलालाई खाडी मुलुक जान रोक लगाएको छ। यही स्थितिको फाइदा उठाउँदै दलालहरूले महिलालाई रोजगारको प्रलोभनमा पारेर भारतबाट लैजाने गरेका छन्।
भैरहवामा रहेर मानव बेचबिखन तथा सामाजिक सचेतनाको क्षेत्रमा काम गर्ने नमूना एकीकृत विकास परिषद्की संस्थापक अध्यक्ष ज्ञानु पौडेल वैधानिक बाटो बन्द गरिंदा जोखिम झन् बढेको बताउँछिन्। “सरकारले खाडीमा महिला कामदारले दुःख पाएको भनेर बन्द त गर्यो, तर विकल्प दिएन,” उनी भन्छिन्, “यसमा पुनर्विचार गरिनुपर्छ। अब सुरक्षित हुने गरी वैधानिक बाटोबाटै जाने सुनिश्चित गरिनुपर्छ।”
वैधानिक बाटो बन्द हुुँदा नेपालबाट भ्रमण भिसामा खाडी जाने प्रवृत्ति पनि बढेको छ। तर यसरी गएकाहरू रोजगार नपाएर अलपत्र पर्ने गरेका र कतिले आत्महत्या समेत गर्ने गरेका छन्। २०८० भदौमा भ्रमण भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेकी ललितपुरको गोदावरी नगरपालिकाकी सुनीता पहारीले तीन महीनापछि छतबाट हाम फालिन्। पहारीले आत्महत्या गर्नुको कारण त्यहाँ पुगेपछि राम्रो काम नपाउनु रहेको पति अखिल बताउँछन्।
सन् २०२२ को नेपाल लेबर माइग्रेशन रिपोर्ट अनुसार पछिल्लो १४ वर्षमा १० हजार ६६६ श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। तिनमा १० हजार ४०० जति पुरुष र बाँकी महिला हुन्। श्रम मन्त्रालयको यो प्रतिवेदनले पनि खाडी देश तथा मलेशियामा श्रमिकको मृत्युको एउटा प्रमुख कारण आत्महत्यालाई मानेको छ। प्रतिवेदन अनुसार १४ वर्षको अवधिमा एक हजार १८७ नेपाली श्रमिकले आत्महत्या गरेका छन्। तिनमा १० देखि १५ प्रतिशत महिला छन्।
वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टीकाराम ढकाल अवैध बाटो वैदेशिक रोजगारीमा जानेहरू त्यहाँ कुनै भवितव्य परे सेवासुविधा एवं क्षतिपूर्तिबाट वञ्चित हुने गरेको बताउँछन्। “मृत्यु हुँदा शव ल्याउन समेत कठिनाइ पर्छ,” उनी भन्छन्।
फ्री भिसा-टिकटको प्रलोभन
महिलालाई स्थलमार्गबाट भारत पुर्याई तेस्रो मुलुक उडाउने दलालहरूले गाउँमा बेरोजगार रहेकाहरूलाई एक पैसा पनि खर्च नहुने र कमाइ राम्रो हुने आश्वासनमा फसाउने गरेको पाइन्छ। झापाको कमल नगरपालिका-३ की सुनीता रामलाई यस्तै प्रस्ताव आयो। उनका आफन्त रामजनमका अनुसार दलालले भिसा-टिकट दुवैलाई पैसा नलाग्ने र कुवेत पुगेपछि मासिक ५५ हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाएको थियो। त्यसपछि राहदानी बनाएर दलालको पछि लागेकी उनले सुनौली नाका हुँदै सीमापार गर्ने क्रममा बल्ल आफू अवैध बाटो जान लागेको र जोखिममा रहेको थाहा पाइन्। दलाल साथमा नरहेकाले पक्राउ परेन। शान्ति पुनःस्थापना गृहले सुनीतालाई त्यहाँबाट फर्काएर आफन्तको जिम्मा लगायो।
अर्की उदाहरण हुन्, सिन्धुपाल्चोककी पञ्चमाया तामाङ। उनलाई पनि दलालले फ्री भिसा-टिकटको प्रलोभन देखाएको थियो। तर सीमापार गर्दैगर्दा जब जाँच भयो, उनीसँग त्यस्ता कुनै कागजपत्र थिएनन्। दलाल एकाएक गायब भयो। उनलाई पनि त्यसपछि घर फर्काइयो।
दलालले सित्तैमा विदेश पठाउने प्रलोभन दिंदै गर्दा सम्बद्ध व्यक्तिले कसैले पनि कसैका लागि विना फाइदा लगानी गर्दैन भन्ने कुरा बुझ्नुपर्ने नमूना एकीकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेल बताउँछिन्। “उता गएर दुःख पाउनुभन्दा यतै दुई पटक सोच्ने हो भने भोलिको दिनमा पाइने कष्ट र दुःखबाट छुटकारा मिल्छ,” उनी भन्छिन्।
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा जाने प्रयास गर्नेहरूमा २० देखि ३५ वर्ष उमेर समूहका महिला छन्। तिनमा तामाङ, विश्वकर्मा, गुरुङ आदि जनजाति तथा सीमान्तीकृत समुदायका बढी छन्। “शिक्षा कम भएका र अति दुर्गममा बसोबास गर्नेहरूलाई दलालले टार्गेट गरेको देखिन्छ,” पौडेल भन्छिन्।