हिमालकर्मी दर्जीलाई वातावरणीय पत्रकारिता पुरस्कार
पत्रकार उमा सिंहको स्मृतिमा स्थापना गरिएको वातावरणीय पत्रकारिता पुरस्कार हिमालकर्मी अर्चना दर्जीलाई प्रदान गरिएको छ।
शुक्रबार राजविराजमा आयोजित कार्यक्रममा पत्रकार दर्जीलाई पुरस्कार प्रदान गरिएको हो। त्यस्तै, सप्तरीका पत्रकार अरुण यादवलाई लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
सिराहाकी पत्रकार उमा सिंहले धनुषामा बसेर पत्रकारिता गरेकी थिइन्। उनको २०६५ पुस २७ मा हत्या गरिएको थियो। उनको स्मृतिमा वातावरणीय पत्रकारिता पुरस्कार स्थापना गरिएको हो। विकास तथा वातावरण सम्बन्धी अनुसन्धात्मक समाचार लेखनका लागि दर्जीलाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ।
त्यस्तै, सल्यानका पत्रकार लोकेन्द्र बुढाथोकी सप्तरीमा बसेर पत्रकारिता गरेका थिए। बुढाथोकीको ३१ वर्षअघि हत्या गरिएको थियो। उनको स्मृतिमा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको हो।
शुक्रबार आयोजित कार्यक्रममा उच्च अदालत, राजविराज इजलासका मुख्य न्यायाधीश वामदेव ज्ञवालीले दुवै पत्रकारलाई पुरस्कार अर्पण गरेका छन्। नेपाल पत्रकार महासंघ, सप्तरी शाखाले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ।