‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
‘अहिलेको अधिकारविहीन संघीयता मधेशले मागेको संघीयता नै होइन। जनताले नमागेको संघीयता जबर्जस्ती भिराएपछि पूजा गर्ने कुरा आउँदैन।’
मधेश आन्दोलनको नेतृत्वकारी भूमिकामा रहेका पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो सधैं चर्चामा रहने गरेका छन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएर महतोले आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेका छन्।
पछिल्लो पटक भने उनले पुस्तक ल्याएका छन्, अधुरा क्रान्ति। चार दशकदेखि मधेश केन्द्रित दलमा रहेर राजनीति गरिरहेका महतोले पुस्तकमा राजनीतिक यात्रासँगै मधेशको उत्पीडन पनि उजागर गरेका छन्। पुस्तकमा केन्द्रित रहेर हिमालखबरको प्रस्तुति किताबका कुरामा महतोसँग शमशाद अहमदले गरेको कुराकानी :
राजनीति गरिरहेको मान्छे, किन किताब लेख्नुभयो?
मधेशले पटक पटक आन्दोलन गरेर हेरिसक्यो। ६ महीनासम्म आन्दोलित हुँदा दुश्मन देशको नागरिक जस्तै टाउको र छातीमा ताकीताकी अन्धाधुन्ध गोलीबारी हुँदा पनि सहेर मधेशले हेरिसक्यो।
दर्जनौं नागरिकले शहादत दिए। गोलीबारीको डरले बाध्यतापूर्वक दशगजासम्म पुगेर आन्दोलित भए। उद्योगधन्दा बन्द भइ अर्बौंको नोक्सान भयो। ६ महीनासम्म हाम्रो बालबच्चाको पढाइ लेखाइ भएन। स्कूल, कलेज बन्द भए। आफैले आफूलाई पीडा दिने काम जनताले गरे। त्यत्रो पीडा भोगेर ‘यो संविधान हामी मधेशी उत्पीडित जनताको लागि पनि बनाइ देऊ’ भनिरहे। तर। आवाज सुनिएन।
अब मधेशले मात्र आन्दोलन गरेर सफल हुँदैन। मधेशको आन्दोलनलाई शासकले असफल बनाए। राज्यलाई दबाव नै पुगेन। मधेशले सकेन। आदिवासी जनजातिले पनि छुट्टाछुट्टै आन्दोलन गरे, लिम्बुवानका लागि। शहादत दिए, तर सफल हुन सकेन।
मगरात, ताम्सालिङ, नेवा सबैले आ-आफ्नो ठाउँमा आन्दोलन गरेकै हुन्। कसैको पनि आन्दोलन सफल हुन सकेन। थरुहटले छुट्टै रूपमा आन्दोलन गरेको थियो। तर, सबैलाई कानूनको डर देखाएर जेल चलान गरियो।
सबैले विभिन्न कालखण्डमा आन्दोलन गरे, तर सफल हुन सकेन। अधिकारवादी, पहिचानवादी सबै असफल भए। लक्ष्य प्राप्त हुन सकेन। सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ।
पुस्तकमा काठमाडौंले मधेशलाई उपेक्षा गरेको, स्रोतसाधनबाट विमुख गरेको भनेर लेख्नुभएको छ। मधेशले के कसरी उपेक्षा भोगिरहेको छ?
खासगरी उत्पीडनमा परेको मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारूको जुन पीडा देखें र त्यसका लागि अहिलेसम्म गरिएको संघर्षको विवरण, अनुभूति र अनुभवलाई ‘अधुरा क्रान्ति’ पुस्तकमा समेट्ने प्रयास गरेको हुँ। मेरो कार्यक्षेत्र मेचीदेखि महाकालीसम्म मधेशमा केन्द्रित रहेकाले पुस्तक पनि त्यसैलाई उठाएको छु।
मधेशका जनताको अवस्थामा कुनै विशेष परिवर्तन आएको छैन। विगतमा गरेका संघर्षले गर्दा केहि हदसम्म मधेशका जनताले पहिचान पाएका छन्। यससँगै अधिकारको उपभोग गर्न पनि थालेका छन्।
२०७२ सालमा निर्मित नेपालको संविधानले देशलाई निकास र उत्पीडितमा परेका हिमाल, पहाड र तराईका जनताको माग सम्बोधन गर्ने अपेक्षा थियो। मधेशी, थारू, आदिवासी जनजाति सबैले संघर्ष गरेका थिए। संविधान सभाबाट बन्ने संविधानमा यावत समस्याको समाधान गरिने प्रतिबद्धता पनि नेपाल सरकारले गरेको थियो।
दुर्भाग्य, दुईतिहाई बहुमतको नाममा कांग्रेस र कम्युनिस्टहरूले ‘फास्ट ट्रयाक’बाट विगतमा गरिएका सारा सम्झौतालाई लत्याए। कांग्रेस, एमाले र माओवादीका तीन जना नेता बसेर संविधान लेखन कार्य गरे। यसरी संविधान सभाबाट बन्ने संविधान निकाशको बाटो दिन असफल भयो। त्यसैले मधेशी जनता समेतको पीडा चौराहामा छ, निष्कर्षमा पुग्न सकेको छैन।
नयाँ बनेको संविधानलाई लोकतान्त्रिक एवं राजनीतिक रूपमा नभई प्राविधिक रूपमा मात्रै संविधान सभाबाट बनेको भन्नुभएको छ, किन?
यो मेरो मात्रै होइन, संविधान सभाका सबै सदस्यको पीडा हो। पार्टीको आदेश पालकको रूपमा औंठाछाप लगाउनुपर्ने बाध्यता थियो। ‘फास्ट ट्रयाक’को नाममा जनताबाट निर्वाचित संविधान सभाका सदस्यलाई बोल्न दिइएन। जनप्रतिनिधिले आफ्नो विचार राख्न नपाएको संविधान हो। संविधान सभाको जनमतको प्रयोग प्राविधिक रूपले देखाइएको हो। जो जनताबाट निर्वाचित भएर आएका थिए, तिनले जनताको पीडा संविधान सभामा राख्न पाएनन्। त्यसैले २०७२ सालको संविधान प्राविधिक हो।
ठूला राजनीतिक दलले मधेशलाई निरन्तर विभेद् गरिरहेको भनेर किताबमा उल्लेख गर्नु भएको छ। मधेशलाई मात्रै विभेद् गरिएको छ कि देशका अन्य भूभागका जनताले पनि त्यस्तै अनुभूति गरिरहेका छन्?
पृथ्वीनारायाण शाहले सबै पहिचानलाई गोलबद्ध गरेर नेपाल एकीकरण गरेको इतिहास छ। स्वतन्त्र राष्ट्रको रूपमा बाइसे चौबिसे राज्यका आ-आफ्नै पहिचान थिए। सबै पहिचान मिलेर नेपाल देश बन्यो। बाहुन, क्षेत्री, राई, लिम्बू, मगर, नेवार, थारू, मधेशी, मुस्लिम, दलित लगायत सबै राष्ट्र राष्ट्रियता मिलेपछि नेपाल बनेको हो। यो २७० वर्ष पहिलाको घटना हो। यसले हामीलाई नेपाल र नेपालीको पहिचान दिएको हो। यो गौरवको कुरो हो।
नेपाल निर्माता पृथ्वीनारायाण शाहले चार वर्ण छत्तिस जातिको फूलबारी भनेका थिए। तर, पछिका शासकले एकल फूलबारी बनाउने प्रयास गरे। अरुको पहिचान र पहिचानसँग सम्बन्धित अधिकारका सवाल मेटाउने काम भयो।
आजसम्म पनि एकल फूलबारी बनाएर शोषण गरिँदै छ। त्यसैको नियति भनौं, हामीले विगतमा गरेका सबै क्रान्ति र आन्दोलनहरू अधुरा रहन गए। लक्ष्य प्राप्त गर्न सकिएको छैन। पृथ्वीनारायाण शाहको सोच अनुसार सबैको नेपाल बन्न सकेन। यो सबैको मातृभूमि भएकाले सबैको लागि नेपाल बन्नु पर्ने जरुरी थियो।
१०४ वर्ष शासन गरेका उच्च वर्गका राणाहरूले जहानानियाँ शासन मार्फत आफूबाहेक सबैको पहिचान मेटाउने काम गरे। बहुलताको आधारमा अगाडि बढ्न सकेनन्। राणा बाहेक कसैको अधिकारको कुरा सुरक्षित भएन।
त्यसपछि राजा महाराजाको एउटा वंशमा शासन सिमित हुन पुग्यो। निरंकुश राजाहरूले अरुको पहिचानको कुरै गरेनन्।
पृथ्वीनारायण शाहले बनाउन खोजेको सबैको साझा फूलबारी अनुसार सबै नेपालीको नेपाल बन्ला भन्ने आशा विश्वासका साथ जनताले बलिदान दिएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गराए। दुर्भाग्य, साझा नेपाल, सबैको नेपाल बन्दै बनेन। सबैले अधिकार र पहिचान त पाउँदै पाएनन्।
बहुदलीय प्रजातन्त्र आएको ३५ वर्ष भएको छ। आज नेपाल कहाँ पुग्यो त? अहिले नेपाली जनता निराश छन्। अवसर नपाएर लाखौंलाख युवा देश छाड्न बाध्य छन्। सुशासन छैन। ब्रह्मलुट छ। काण्डैकाण्ड मात्रै छन्, त्यसमा ठूला पार्टीको संलग्नता देखिएको छ। प्राकृतिक स्रोतसाधनले सम्पन्न देशलाई दुनियाँको सबैभन्दा गरीब राष्ट्र बनाइएको छ। अब यो अवस्थाबाट मुक्ति पाउनुपर्छ।
मधेशको विकास नहुनुमा काठमाडौंको सत्तालाई दाेष दिएर पुग्छ? मधेश केन्द्रित दल र नेताले पनि जिम्मेवारी लिनु पर्दैन?
२७० वर्षको छोडेर राजेन्द्र महतो संलग्न भएको शासनको कुरा गरौं। बहुदलीय व्यवस्थाका ३५ वर्षभित्र शासन गर्ने पार्टीले जिम्मा लिनुपर्छ, नेताले जिम्मा लिनुपर्छ। यो अवधिमा कसले शासन गरे र कसरी देशको अवस्था नाजुक भयो? कसको राजनीतिले बर्बाद भयो?
यो विन्दुमा आएर हेर्दा ३५ वर्षसम्म ठूला पार्टी भनिने कांग्रेस, एमाले र माओवादी जस्ता दललाई ९० प्रतिशत नेपाली जनताले मत दिएको हुन्। बाँकी १० प्रतिशत मधेश केन्द्रित लगायत थुप्रै दलले पाएका हुन्। त्यो १० प्रतिशतको जिम्मा १० प्रतिशत भोट पाउने पार्टीले लिनुपर्यो। ९० प्रतिशत भोट पाएका दल ठीक भइदिएको भए १० प्रतिशत पनि ठीकै हुन्थे। बदमाशी गर्ने मौका पाउँदैनथे। ठूला दलले विश्वासघात गरे। जनतालाई दिएको बचन अनुसार काम गरेनन्।
कांग्रेस, एमाले र माओवादीले आयातित विचार ल्याए। उनीहरूले पश्चिमी ज्ञान सत्ताको बलमा शासन गरिरहेका छन्। पश्चिमी सभ्यताबाट आएको ज्ञान, सत्ता नेपालमा काम लाग्दैन। यो परीक्षण असफल भयो। यो विचारमा नै त्रुटी छ।
अहिलेसम्म औपनिवेशिक सोच र चिन्तनको आधारमा मधेशीलाई गुलाम बनाउने काम गरियो। मधेशीलाई विदेशी भन्दिने, थारूलाई कमैया कम्लरी बनाउने, अधिकार दिनुको सट्टा जेल चलान गर्दिने, आदिवासी जनजातीलाई मासिने मतवाली बनाइदिने जस्ता व्यवहार गरिएको छ। अब यो एकल सोचले देश चल्न दिनुहुँदैन।
यहाँले किताबमा संघीयताका लागि भएको आन्दोलनको चर्चा गर्नु भएको छ। मधेश केन्द्रित दलहरूको प्रमुख माग संघीयता थियो। कार्यान्वयनमा आइसकेपछि अपनत्व लिन हच्किएको देखियो नि?
कांग्रेस र एमालेको माग संघीयता थिएन। संघीयताको अवाज उठाएर माओवादी १७ हजार मान्छे मारेर आएको थियो। तर, प्रचण्ड पनि पुष्पकमल दाहालको रूपमा परिणत भएपछि विना संघीयताको संविधान बनाउन राजी भए।
हामीले प्रष्ट रूपमा चार वटा काम मात्रै केन्द्र सरकार मातहत राख्नुपर्छ भनेका थियौं। सुरक्षा अर्थात सेना केन्द्रमा हुनुपर्छ। नोट छपाइ गर्ने लगायत अर्थको सम्पूर्ण अधिकार केन्द्र सकारमा हुनुपर्छ। विदेश नीति बनाउने र राष्ट्रिय गौरवका आयोजना केन्द्र पनि सरकारको मातहत राख्नुपर्ने भनेका थियौं। त्यससँगै पुरानै पारामा धेरै अधिकार केन्द्रकै मातहत राखियो।
अहिलेको संघीयता मधेशले मागेको संघीयता नै होइन। जनताले नमागेको संघीयता जबर्जस्ती भिराएपछि पूजा गर्ने कुरा आउँदैन। यसको विरोध हुनु स्वाभाविक हो। जुन संघीयताको लागि हिजो मधेशमा लाठी जुलुस निस्केको थियो, त्यहि मधेशमा अहिले वर्तमान संघीयताको विरुद्धमा लाठी जुलुस निस्किने अवस्था सिर्जना हुँदै छ। मधेशले खोजेको संघीयता दिनुपर्छ।
प्रमुख राजनीतिक दल र संविधानले मधेश आन्दोलनलाई सम्मान दिएन, अन्याय र अत्याचार गरिरहे भन्नुहुन्छ। फेरि तिनै दलसँग सत्ता सहकार्य गर्नुहुन्छ। यो त विरोधाभास भएन र?
दुनियाँमा कहिँ पनि ६ महीनासम्म शान्तिपूर्वक तवरले जनताले संघर्ष गरेका छैनन्, मधेशमा भयो। तर, बल प्रयोग गरेर, बन्दुक प्रयोग गरेर संविधान जारी भयो। त्यसैले संविधानमा सबैले अपनत्व महशुस गर्न सकेनन।
संविधान जारी भएपछि ‘जनताको इच्छा, आकांक्षा अनुसार संविधान संशोधन हुन्छ, सहयोग गर’ भने। हामी पनि संविधान संशोधनको आशा गरेर सहकार्य गर्न पुग्यौं। संशोधनका लागि वातावरण मिलाउन सहयोग गर्ने उद्देश्यले सरकारमा गएका थियौं।
संविधान संशोधनको आश देखाएर सम्झौता पनि गरे। केपी शर्मा ओलीले संविधान संशोधन गर्न कार्यदल नै बनाएका थिए। अर्थात संशोधन हुन्छ र हाम्रो माग पूरा हुन्छ भन्ने लोभले सत्तामा सहभागी भएको थिएँ। तर, संशोधन भएन।
मधेशमा उपेन्द्र यादव र महन्थ ठाकुरले जातिवादलाई बढावा दिएकाे आरोप लगाउनु भएको छ। के भन्न खोज्नु भएको हो?
मधेशवादको सबैभन्दा ठूलो दुश्मन जातिवाद हो। जातिवादको कुरा गर्नु भनेको मधेशवाद सकिनु हो। जहाँबाट जातिवादको शुरूआत हुन्छ, त्यहिंबाट मधेशवादको समाप्ति हुन्छ। मधेशका सबै जातजाति मिलेर मधेशवाद बन्छ। मधेशी भनेको कुनै एउटा जाति होइन। मधेशवादको सिंढी चढेर पार्टी र सत्ता नै चलाउने उपेन्द्रजीले ‘मधेशवाद केहि होइन’ भन्नुभयो। यो त मधेशको भावना विपरित भयो।
हामीले एकल जातीय शासन विरुद्ध संघर्ष गरेका हौं। मधेशमा पनि कसैले एकल जातीय कुरा गरेपछि मधेशलाई नोक्सान हुन्छ। एकल जातीयलाई प्रश्रय दिनु र त्यस अनुरूप व्यवहार गर्नु राम्रो होइन। त्यसैले जातिवादको गन्ध मधेशमा ल्याउनुहुदैन।
यो मधेशभित्रको कुरा भयो। भर्खरै सम्पन्न नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सका समर्थकले सामाजिक सञ्जालदेखि खेल मैदानमा पनि गालीगलौजको सामना गर्नुपर्यो। यसलाई कसरी हटाउन सकिएला?
यसको न्यूनिकरणका लागि शासकहरूले सबैभन्दा पहिला आफ्नो नश्लीय सोच त्याग गर्नुपर्छ। नेपाल सबै नेपालीको लागि बनाइनुपर्छ। ‘माइन्ड सेट’ परिवर्तन गर्नुपर्छ। कानूनी, राजनीतिक, सामाजिक र व्यावहारिक रूपमा पनि समानता कायम गर्नुपर्छ। दिमागबाट विभेद् हटाउने प्रयास गर्नुपर्छ। हामी सबै नेपाली र हामी सबैको नेपाल हो भन्ने सोच स्थापित गर्नुपर्छ।
मधेशमा मुस्लिम समुदायमामाथि भइरहेकाे प्रहारलाई कसरी रोक्न सकिएला?
यो दुर्भाग्य हो। मधेशमा भएका र भइरहेका साम्प्रादायिक दंगा विखण्डित तत्वद्वारा गरिएका हुन्। समाजलाई कमजोर बनाएर त्यसको लाभ लिने गरिन्छ। खासगरी मधेशी एकतालाई विखण्डित पार्ने उद्देश्यका साथ यस्ता घटना भइरहेका छन्। हिन्दू, मुस्लिम सबै मधेशी हुन्। सबै मिलेर मधेशी बनेका हौं।
मधेशमा एकात्मक सोच भएका शासकका दूतहरूले दंगा गराउने भूमिका खेलिरहेका छन्। विभाजित गरेर शासन गर भन्ने सोचले यस्ता घटना हुँदै आएका छन्। एकात्मक सोचलाई प्रवर्धन गर्ने शक्तिले अहिले पनि मधेशमा दंगा गराउने प्रयास गरिरहेका छन्। यसबाट जोगिनुपर्छ।
फेरि पुस्तककै कुरा गराै। अहिले त ‘अधुरा क्रान्ति’ नाम राख्नुभयो। कुनै दिन मधेश र मधेशीको मुद्दा सम्बोधन भएर ‘सफल क्रान्ति’ लेख्न पाइएला भन्ने कत्तिको आशावादी हुनुहुन्छ?
सफल क्रान्तिका लागि काम भइरहेको छ। हिमाल, पहाड र तराइका सबै आधिकारवादी, पहिचानवादीलाई विचारका आधारमा एकठाउँमा ल्याउने प्रयास भइरहेको छ। विकल्प सहितको विद्रोह गर्न आवश्यकता छ। बहुल राष्ट्रिय राज्यको आधारमा नेपालको निर्माण गरेर पृथ्वीनारायाण शाहले भने जस्तै सबैको साझा फूलवारी बनाउनुपर्छ।
किताबका कुराका थप सामग्री :
- ‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
- ‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
- ‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
- ‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
- ‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
- ‘नेपालमा कविताका समीक्षक नै छैनन्’
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’