खुम्बु क्षेत्रमा हेलिकोप्टरको व्यावसायिक उडान गर्न नदिने गाउँपालिका र स्थानीयको अडान
खुम्बु क्षेत्रमा हेलिकोप्टरको व्यावसायिक उडानमा सगरमाथा राष्ट्रिय निकुञ्जसहितका सरोकारवाला मिलेर गरेको प्रतिबन्धको निर्णय निकुञ्जले एकाएक फिर्ता लिएकोमा खुम्बु पासाङल्हामु गाउँपालिका र स्थानीय बासिन्दाले विरोध गरेका छन्।
सगरमाथा राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा हेलिकोप्टरको व्यावसायिक उडानमा पुस १७ (जनवरी १) गतेदेखि लगाइएको प्रतिबन्ध एक साता नबित्दै फिर्ता भएको छ। निकुञ्ज, स्थानीय सरकार र स्थानीय सरोकारवाला मिलेर उडान रोक्ने निर्णय गरेकोमा निकुञ्जले एकपक्षीय ढंगले फिर्ता लिएको भन्दै स्थानीय तह र खुम्बु क्षेत्रका बासिन्दाले विरोध गरेका छन्।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति तथा खुम्बु क्षेत्रका सरोकारवाला संघसंस्थाको मंसीर २५ गतेको बैठकले खुम्बु क्षेत्रमा अंग्रेजी नयाँ वर्षदेखि उद्धार र ढुवानी बाहेकका हेलिकोप्टर उडान रोक्ने निर्णय गरेको थियो। विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जको गरिमा, स्वच्छ वातावरण, वन्यजन्तु र वासस्थानको सुरक्षा, मध्यवर्ती क्षेत्रका बस्ती र स्थानीयको पर्यटन व्यवसायमा असर परेको भन्दै उडानमा रोक लगाइएको थियो।
उच्च हिमाली क्षेत्र भएकाले खुम्बु क्षेत्र पर्यटकीय र जैविक विविधताको हिसाबले संवेदनशील मानिन्छ। यस क्षेत्रमा हेलिकोप्टरको अनियन्त्रित उडान र चर्को ध्वनि प्रदूषणले वन, वातावरण, जीवजन्तु, पर्यटन व्यवसाय आदिमा नकारात्मक असर गरेको र चोरी शिकार समेत भएको गुनासो स्थानीयवासीले गर्दै आएका छन्। यही चासो र चिन्तालाई सम्बोधन गर्दै निकुञ्ज, स्थानीय तह सहितका सबै पक्ष हेलिकोप्टर उडान व्यवस्थित गर्न उद्धार र ढुवानी बाहेकका उडान नियन्त्रित गर्नुपर्ने निष्कर्षमा पुगेका थिए। निकुञ्जले सबै ११ वटा हेलिकोप्टर कम्पनीलाई व्यावसायिक उडान नगर्न पत्राचार गरेको थियो।
तर निकुञ्जको अग्रसरतामा आएको निर्णयपछि नेपाल उड्डयन प्राधिकरणसँग टकराव बढ्यो। यस्तो निर्णय आएको दुई दिनपछि नै मंसीर २८ गते प्राधिकरणले विज्ञप्ति जारी गरी आकाशमा उड्डयन प्राधिकरण बाहेक कसैको अधिकार नहुने भन्दै निकुञ्जको पत्रका आधारमा उडान नरोक्न हेलिकोप्टर कम्पनीहरूलाई आग्रह गर्यो।
तर यो आग्रहले काम गरेन। वायुसेवा सञ्चालक संघ, नेपालले यस विषयमा पटक पटक वार्ता गर्दा पनि कुनै निर्क्योलमा पुग्न नसकेको र खुम्बु क्षेत्रका हेलिप्याडमा झण्डा गाडेर अवरोध सिर्जना गरिएको भन्दै सुरक्षाको प्रत्याभूति नहुँदासम्म आपतकालीन उद्धार समेत कुनै पनि उडान नगर्ने पुस २१ गते विज्ञप्ति मार्फत सार्वजनिक गर्यो।
यसैबीच, पुस २२ गते जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले सूचना जारी गर्दै हेलिकोप्टर उडान र अवतरणमा अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दियो। खुम्बु क्षेत्रका हेलिप्याडमा अनधिकृत व्यक्तिहरूले हेलिकोप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन र अन्यथा कारबाही गरिने सूचनामा उल्लेख थियो।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनुजप्रसाद घिमिरेले सूचना जारी गरेकै दिन निकुञ्ज प्रशासनले हेलिकोप्टर उडान रोक्ने निर्णय फिर्ता लियो। निकुञ्ज कार्यालयले सबै ११ वटै हेलिकोप्टर कम्पनीलाई पत्र लेखेर तोकिएको नियम पालना गरी सगरमाथा क्षेत्रमा उडान र अवतरण गर्न आग्रह गर्यो। निकुञ्जले निकालेको सूचनामा यस क्रममा निकुञ्जको वन, वन्यजन्तु र जैविक विविधतामा कुनै किसिमको बाधा, असर नपुर्याउन आग्रह गरिएको छ।
उडान रोक्ने पूर्वसहमतिबाट निकुञ्ज एकाएक पछि हटेकोमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आपत्ति प्रकट गरेको छ। पुस २५ गते बिहीबार गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा हेलिकोप्टरको व्यावसायिक उडान गर्न नदिने अडान राखिएको छ। अनियन्त्रित उडानलाई व्यवस्थित गर्न लिइएको पहलकदमीबाट जनतामा छाएको उत्साहमा तुषारापात हुने गरी उड्डयन प्राधिकरण र निकुञ्ज कार्यालयबाट आएका सूचनाले गाउँपालिका, स्थानीय संघसंस्था र आम नागरिकलाई आश्चर्यमा पारेको भन्दै निकुञ्जको कदमप्रति गाउँपालिकाले घोर आपत्ति प्रकट गरेको छ।
गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले आपतकालीन उडान समेत रोक्ने वायुसेवा सञ्चालक संघको निर्णयलाई असंवेदनशीलताको संज्ञा दिँदै विज्ञप्तिमा भनेका छन्, “आपतकालीन उद्धार, मालसामानको ढुवानीका लागि हवाई उड्डयनलाई सहज तुल्याउन गाउँपालिकाले पहल लिँदालिँदैको अवस्थामा विभिन्न बहाना देखाई हेलिकोप्टर उडान स्थगन गर्नु सामाजिक उत्तरदायित्वबाट विमुख हुने र नाफा केन्द्रित हुने प्रवृत्तिको द्योतक हो भन्ने आमनागरिकलाई बुझाइ बन्न गएको छ।” कुनै पनि समस्या वार्ता र संवादबाट समाधान गर्न सकिन्छ भन्ने मान्यतामा गाउँपालिका दृढ रहेको विज्ञप्तिमा भनिएको छ।
निकुञ्जले पहिले स्थानीय तह र सरोकारवालासँगको बैठकबाट एउटा सहमति गरेर पछि आफूखुशी उडान प्रतिबन्ध हटाउने निर्णय गरेको भन्दै खुम्बुवासीले पनि विरोध गरेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष छेपाल शेर्पा भन्छन्, “निकुञ्जले स्थानीयसँग छलफल नै नगरी प्रतिबन्ध फुकुवाको निर्णय लियो। पहिला जसरी नै हेलिकोप्टर उडान गर्न दिइनु हुँदैन, स्थानीय सरकारसँगै हामी नागरिक यसको विरोधमा छौं।”
शेर्पाका अनुसार, छिनछिनमा हेलिकोप्टर ओहोरदोहोर गर्दा यस क्षेत्रका विद्यालयको पठनपाठनमा पनि असर पुगेको छ। “यो क्षेत्र वरपर आठ वटा विद्यालय छन्। हेलिकप्टर उडेको आवाजले सरले पढाएको विद्यार्थीले बुझ्दैनन्,” उनी भन्छन्। विद्यालयले निकुञ्ज र हेलिकप्टर कम्पनीलाई पटक पटक गुनासो गरे पनि बेवास्ता गरेको उनको आरोप छ।
निकुञ्जकी वरिष्ठ संरक्षण अधिकृत सुस्मा रानाले हेलिकोप्टर कम्पनीहरूले निकुञ्जको अनुमति लिएर उडान गर्ने सहमति भएपछि प्रतिबन्ध फुकुवा गरेको बताइन्। उनले विज्ञप्तीमा भनेकी छन्, ‘...सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलीकप्टर कम्पनीहरूलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको वाधा तथा असर नपुग्ने गरी निकुञ्जको अनुमति लिएर तथा नियमानुसार तोकिएको राजश्व बुझाई प्रचलित कानून अनुसार सुरक्षित तवरले हेलीकप्टरको उडान/अवतरण/होभरिङ गर्न/गराउन हुन सबै हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गरिन्छ।’
यो पनि पढ्नुहोस्- सगरमाथा क्षेत्रमा नियन्त्रित गर्नै पर्ने हेलि-उडान