छाडा चौपायाबाट बाली जोगाउन रातभर पहरा
छाडा चौपायाबाट अन्नबाली जोगाउन कैलारीका बासिन्दा आलोपालो गरेर रातभर पहरा दिन थालेका छन्।
किसानलाई प्रायः जंगली जनावरबाट खेतिपाती जोगाउन सकस पर्छ। तर, कैलालीका किसानलाई भने घरेलु छाडा चौपायाले समस्या निम्त्याएको छ। खेतिपाती जोगाउन राति पहरा दिनु परिरहेको छ।
खेतको अन्नबाली जोगाउन पालैपालो राति पहरा बस्नु परिरहेको कैलारी गाउँपालिका-२, बसौटीकी बचौनीदेवी चौधरी सुनाउँछिन्। बसौटीका बासिन्दाले पहरा दिन पालो नै लगाएका छन्।
राति पहरा दिनलाई जंगल छेउको बाटोमा टहरा बनाएका छन्। “गाउँभरिकै मानिसको पालो आउँछ। समूह बनाएर प्रत्येक रात पहरा दिनुपर्छ,” बचौनी भन्छिन्, “राति पहरा दिइएन भने खेतबारीमा लगाएको बाली नै जोगिन्न।”
बसौटी गाउँका भलमन्सा बासु चौधरीका अनुसार गाउँमा स्थानीय करमदेव सामुदायिक वनबाट छाडा चौपाया आउने गरेका छन्। पहिले जंगली जनावर आउने गरेको र अहिले छाडा चौपायाले सताइरहेको बासु बताउँछन्। “छाडा चौपायाले बाली सखाप पार्न थालेपछि दिनरात खेत कुर्नु परेको छ,” उनी भन्छन्।
स्थानीय बासिन्दाले सामुदायिक वनको दुई वटा प्रवेशद्वारमा पहराघर बताएको भल्मन्सा बासु बताउँछन्। उनका अनुसार स्थानीय बासिन्दाले पहरा दिन आठ समूह बनाएका छन्। हरेक समूहले तीन-तीन वटा उपसमूह बनाएका छन्। उपसमूहले आलोपालो राति पहरा दिने गरेका छन्। बसौटीमा २०६ घरपरिवार छन्।
त्यस्तै, कैलारी-६, सुर्मी गाउँका बासिन्दा पनि छाडा गाईगोरुले समस्या भएको बताउँछन्। उनीहरूले त छाडा चौपालाई थुन्न टहरा नै बनाएका छन्। स्थानीय बासिन्दा वसन्त चौधरी सामुदायिक वनको छेउमा सय जति गाईगोरु राख्न मिल्ने टहरा बनाएको बताउँछन्।
जंगलबाट आएका पशुचौपाया थुन्न र छोड्नका लागि २० जना खटिँदै आएका छन्। गाउँले ६ वटा समूह बनाएर गाईगोरु व्यवस्थापनमा खटिँदै आएका छन्। सुर्मी गाउँमा ११६ घरपरिवार छन्।
उनीहरू पनि राति भने आलोपालो पहरा दिने गरेका छन्। राति पहरा नदिने परिवारले जरिवाना तिर्नुपर्छ। “जो राति खटिँदैन, उसले वर्षको एक हजार रुपैयाँ गाउँ समाजलाई बुझाउनुपर्ने नियम बनाएका छौं,” वसन्त भन्छन्।
अन्यत्रबाट आएका छाडा चौपायाले बालीनाली खाइदिँदा समस्या भएको छ। दिउँसोमा आ-आफ्नो खेतबारी हेरविचार गर्ने भए पनि राति समस्या हुने गरेको उनी बताउँछन्। “छाडा चौपायाले गाउँलेलाई अतिरिक्त कामको भार थपिएको छ,” वसन्त भन्छन्, “नगरौं भने बाली जोगिन्न। गरौं रातिभरि जागाराम बस्नुपर्छ।”
छाडा चौपायाले हिउँदे बाली नोक्सान गर्न थालेपछि कतिपय गाउँका किसानले वनजंगल क्षेत्रमा तारबार पनि लगाएका छन्। तर, सबैतिर तारबार लगाउन सकिने अवस्था छैन। खेतबारी जोगाउन जंगल क्षेत्रमा तारबार लगाइएको कैलारी-७, छटकपुर वसन्ताका जियाराम चौधरी सुनाउँछन्। “छाडा चौपायाले खेतिपाती नोक्सान गरेपछि आफ्नै खर्चमा तारबार गरेका छौं,” उनी भन्छन्।
पछिल्लो समय छाडा चौपायाले तराईका कैलाली र कञ्चनपुरमा समस्या उत्पन्न भएको छ। स्थानीय सरकारहरूले व्यवस्थापन गर्ने कार्यक्रम ल्याइरहेका भए पनि प्रभावकारी भएका छैनन्। नयाँ सरकार आएको केही समय त स्थानीय नेतृत्वले छाडा चौपाया व्यवस्थान गर्न टहरा बनाउने, गौशाला बनाउने लगायतका काम पनि गरेका थिए। तर, त्यसले निरन्तरता नपाउँदा समस्या जस्ताको तस्तै छ। छाडा चौपाया व्यवस्थापन चुनौती बने पनि स्थानीय सरकारले वास्ता नगरेको जियाराम गुनासो गर्छन्।
कैलारी गाउँपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गर्न बजेट नभएको र प्रदेश सरकारसँग माग गरिएको अध्यक्ष रामसमझ चौधरी बताउँछन्। “सुदूरपश्चिम प्रदेश सरकारले २० लाख रुपैयाँ दिने भनेको थियो, तर अहिलेसम्म दिएको छैन,” अध्यक्ष रामसमझ भन्छन्, “गत आर्थिक वर्षमा पनि २० लाख दिने भनेको थियो, एक रुपैयाँ दिएन।”
गाउँघरमा छाडा चौपायाले दुःख दिएको भनेर किसानले गुनासो गरिरहेको उनी बताउँछन्। स्थानीय सरकारसँग बजेट नभएको र प्रदेश तथा संघीय सरकारले बजेट नदिने गरेकाले छाडा चौपाया व्यवस्था गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि छाडा चौपाया व्यवस्थापनका गौशाला निर्माण कार्यक्रम ल्याएको छ। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले छाडा चौथापा व्यवस्थापन कार्य भइरहेको बताउँछन्। स्थानीय तहसँगको साझेदारीमा व्यवस्थापनको कार्य गर्न प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको बताउँदै यो समस्या समाधान गर्न प्रयासरत रहेकाे उनको भनाइ छ।