शीतलहरले तराईको जनजीवन प्रभावित
पाँच दिनदेखि चिसो स्याँठसँगै शीतलहरले तराई-मधेसको जनजीवन प्रभावित भएको छ।
केही दिनदेखि तराईमा चिसो वायु चलिरहेको छ। जसले गर्दा चिसो अत्यधिक बढेको छ। चिसो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण कठिनाइ भएको जलेश्वर-७ का वीरेन्द्र शर्मा बताउँछन्।
चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ। बाक्लो कुहिरोका कारण यातयात आवतजावतमा कमि आएको छ।
चिसोकै कारण महोत्तरीका विभिन्न स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा बिरामीको संख्या बढेको छ। जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित भएका छन्। उनीहरूमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएका छन्।
जाडोबाट बच्न ठाउँठाउँमा स्थानीय बासिन्दा आगो बालेर घुर तापिरहेका छन्। जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई समेत समस्या भएको जलेश्वर–१० का सहदेव मण्डलले बताए।