रिहा भए रवि लामिछाने
अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन्।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत, कास्कीले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। लामिछानेले धरौटी बुझाएको जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले बताए। अदालतमा धरौटी रकम बुझाएसँगै लामिछाने रिहा भएका हुन्।
लामिछानेले धरौटी बुझाएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरास्थित गण्डकी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराएको थियो। त्यसपछि लामिछानेलाई बिहीबार राति परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लामिछाने विरुद्ध काठमाडौंमा पनि सहकारी ठगीको मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। उनले काठमाडौं अदालतमा शुक्राबार आफै उपस्थित हुने बताएपछि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
त्यस्तै, सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्व प्रहरी नायव महानिरीक्षक छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएको जिल्ला अदालतका श्रेस्तेदार खनालले जानकारी दिए।
न्यायाधीश नीतिज राईको इजलासले सभापति लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। लीला पछाईं भने आज धरौटी रकम बुझाउन नसकेपछि प्रहरी हिरासतमै रहने प्रहरीले जनाएको छ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जना विरुद्ध मुद्दा दायर गरेको थियो। सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।