विवादित कम्पनीको चाँजोपाँजोमा विश्वप्रकाश शर्माको हिमाल आरोहण
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विवादित कम्पनीको चाँजोपाँजोमा लोबुचे हिमाल आरोहण गरेको खुलेको छ।
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले मंसीर २९ मा सामाजिक सञ्जाल एक्समा एउटा तस्वीर पोस्ट गरेर लेखे, ‘मंसीर २७ को राति ११ः३० मा बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर २८ मंसीर बिहान ६ः४५ मा लोबुचे हिमालको सफल आरोहण!’
शर्मा सहित पाँच जनाको टोलीले खुम्बु हिमशृंखलामा पर्ने ६ हजार १३५ मिटर अग्लो ‘लोबुचे पश्चिम’ को आरोहण गरेको हो। कांग्रेसभित्र र बाहिर सुशासन र पारदर्शिताको आवाज उठाउँदै आएका महामन्त्री शर्मा पर्वतारोहण क्षेत्रमा बदनामी कमाएको कम्पनी मार्फत लोबुचेको शिखरमा पुगेका हुन्।
उनको टोलीलाई काठमाडौंको कपनमा रहेको कम्पनी सेभेन समिट ट्रेक्सले चुचुरोमा पुर्याएको हो। शर्मासँगै सेभेन समिटका सञ्चालक मिङ्मा शेर्पा र टासी लाक्पा शेर्पा पनि लोबुचेको चुचुरोमा पुगेका थिए।
नक्कली कागजात बनाएर आरोहीलाई हिमाल चढाएकोमा सेभेन समिट बारम्बार विवादमा परेको कम्पनी हो। यस कम्पनीले कीर्ते कागजात बनाएर दुई जना आरोहीलाई सगरमाथा चढाएको आरोपमा २०७५ असोजमा प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो। अनुसन्धानमा चिनियाँ नागरिक झुहोङ झौवा र अस्ट्रेलियन नागरिक इयान जेम्स हिबर्टलाई सगरमाथा आरोहणको नक्कली अनुमतिपत्र बनाएर चढाएको खुलेको थियो।
त्यति वेला सेभेन समिटले ‘फोर्टिन पिक एक्सपेरियन्स एभरेस्ट एक्सपिडिशन–२०१८’ नामको आरोहण दल बनाएको थियो। उक्त आरोहण दलमा १४ जना आरोही सामेल थिए। तर, पर्यटन विभागबाट १२ जनाको मात्रै आरोहण अनुमति लिइएको थियो। दुई जनालाई भने अनुमति नै नलिई कम्पनीले आरोहणमा लगेको पाइएको थियो।
सीआईबीले कम्पनी सम्बद्ध तीन जनालाई सरकारी कागजात कीर्ते गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरेको थियो। पक्राउ पर्नेमा सेभेन समिटको कानून विभागका कर्मचारी निभेष कार्की, लेखा शाखाका विजयश्वर अर्याल र इमेल आदानप्रदान गर्ने फुर्तेन्जी शेर्पा थिए। उनीहरू विरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको थियो। जसमा रु.२३ लाख तीन हजार ८४० बिगो र जेल सजायको माग दाबी गरिएको थियो।
जिल्ला अदालतले २०७७ सालमा कार्कीलाई बिगो र जरिवाना हुने फैसला गरेको थियो भने अर्याल र शेर्पालाई सफाइ दिएको थियो। अनुमति विना आरोहण गराएको पाइएपछि पर्यटन विभागले सेभेन समिटलाई रु.५० हजार जरिवाना तिराएको थियो।
अदालतबाट दोषी ठहर भएका कार्कीले सञ्चालकहरूले भने अनुसार आफूले काम गरेको बयान अदालतमा दिएका थिए। उनले एक सञ्चालकले आरोहण दलका दुई जनाको नाम रद्द भएको भनेपछि १२ जनाको मात्रै आरोहण अनुमति लिएको बताएका थिए। तर, सञ्चालकको नाम खुलाएका थिएनन्, बिर्सिएको बयान दिएका थिए।
सेभेन समिटका सञ्चालकमध्ये एक छाङदावा शेर्पा र कार्कीबीच आर्थिक लेनदेन भएको प्रमाण समेत प्रहरीले भेटेको थियो। कार्कीले छाङदावालाई रु.१३ लाख ४० हजार दिएको पाइएको थियो। तर, छाङदावाले प्रहरीमा गरेको कागजमा कार्कीको नाममा रहेको ‘फोर्टिन पिक अल्पाइन’ नामको कम्पनी आफूले किनेको र सोही कारोबारमा रकम दिएको जिकिर गरेका छन्।
यसअघि २०७३ सालमा पनि सेभेन समिटबाटै सगरमाथा आरोहण गरेका भनिएका भारतीय नागरिक नरेन्द्रदेव राव र सीमारानी गोश्वामाको आरोहण नक्कली भएको पाइएको थियो। पर्यटन विभागले राव र गोश्वामीलाई हिमाल आरोहणमा ६ वर्ष प्रतिबन्ध लगाएको थियो भने सेभेन समिटलाई रु.५० हजार जरिवाना तिराएको थियो।
त्यस्तै, सन् २०१६ मा सेभेन समिटबाट मनास्लु आरोहण गरेकी चिनियाँ नागरिक गाओ लीको समेत अनुमति लिइएको थिएन। यो तथ्य पर्यटन विभागले हरेक वर्ष निकाल्ने पुस्तक छापिएपछि खुलेको थियो। मनास्लु हिमाल आरोहीको सूचीमा गाओ लीको नाम छापिए पनि आरोहणका लागि अनुमति लिनेहरूको सूचीमा उनको नाम थिएन। यसबारे पर्यटन मन्त्रालयले छानबिन गर्दा अनुमति नलिई मनास्लु हिमाल चढाइएको पाइएको थियो। यस वापत पनि सेभेन समिटलाई जरिवाना तिराइएको थियो।
सेभेन समिट हिमाल आरोहणको क्षेत्रमा चल्तीको नाम भए पनि यस्तै विवादले घेरिएको छ। विवादित कम्पनीकै सहयोग लिएर कांग्रेस महामन्त्री शर्मा लोबुचे हिमाल चढेर फर्किएका हुन्।
शर्माको टोलीको आरोहणको व्यवस्थापन पनि सेभेन समिटले नै गरेको पाइएको छ। सबै व्यवस्थापन सेभेन समिटले गरिदिएको भनेर आरोहण अनुमति लिएको नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्साल बताउँछन्। लोबुचे पश्चिम आरोहणका लागि पर्वतारोहण संघले अनुमति दिन्छ।
आरोही टोलीका एक सदस्य प्रकाश लामिछानेको आरोहण यात्राबारे कान्तिपुरमा पुस ६ गते प्रकाशित संस्मरणात्मक लेखमा पनि शिखर चढाउने सम्पूर्ण जिम्मा सेभेन समिटका सञ्चालक मिङ्माको रहेको संकेत गरिएको छ। लामिछानेले लेखेका छन्, ‘हामीलाई काठमाडौंबाट हेलिकोप्टर मार्फत लुक्ला पठाएका मिङ्मा पनि दिङ्बोचे आइपुगेका थिए।’
महामन्त्री शर्माले पनि आरोहणको खर्च सेभेन समिटकै भएको पुष्टि हुने गरी पुस ७ गते अनलाइनखबरमा लेखेका छन्, “हिमाल चढ्ने तयारी गर्दा पहिलो त आकांक्षा हुनपर्यो। आकांक्षा हुनु र आँट हुनु फरक हो। आकांक्षासँगै आँट भएर मात्रै भएन, अनुभवी साथीहरू पनि चाहियो। दुई/चार पैसा खर्च गर्ने क्षमता भएका साथीहरू पनि चाहियो।”
सेभेन समिटका सञ्चालक मिङ्मा शेर्पा पनि कांग्रेस महामन्त्री शर्माको सगरमाथा चढ्ने रहर भएकाले त्यसैको तयारी स्वरूप लोबुचे चढेको बताउँछन्। हिमालखबरसँगको फोन संवादमा शेर्पाले लोबुचे आरोहणको खर्च आफूले नबेहोरेको प्रतिक्रिया दिए।
उनका अनुसार, लोबुचे आरोहण गर्दा एक जनाको खर्च एक लाख रूपैयाँ लागेको छ। बरू आफूले ‘गाइड’ गरेको पारिश्रमिक लिएको उनको भनाइ छ। उनले हाँस्दै भने, “हाम्रो त पेशा नै यही हो, पैसा त लिनुपरिहाल्यो नि!”
सेभेन समिटका लगानीकर्ता एवं कम्पनीका अध्यक्ष शेर्पा आफैं चर्चित हिमाल आरोही हुन्। उनी कांग्रेसको राजनीतिमा पनि संलग्न छन्।
विवादास्पद कम्पनीको व्यवस्थापनमा हिमाल आरोहण गरेकोबारे प्रतिक्रिया लिन हिमालखबरले पटक पटक प्रयास गरे पनि महामन्त्री शर्माले फोन उठाएनन्। मेसेजको पनि जवाफ दिएनन्।