पूर्व डीआईजी जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा पूर्व डीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले बिहीबार जोशीलाई धरौटीमा छाड्न आदेश दिएको हो। इजलासले ८८ लाख धरौटीमा छाड्न दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले हिमालखबरलाई बताए।
पूर्व डीआईजी जोशीलाई गत असोज ६ गते काठमाडौंबाट पक्राउ गरिएको थियो। उनलाई त्यही दिन पोखरा ल्याइएको थियो। त्यसयता उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए।
उनी सहित ४४ जना विरुद्ध पुस ७ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता गरिएको थियो।
सूर्यदर्शन सहकारीको बचत अपचलनमा अहिलेसम्म ६३ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो भराउन माग दाबी गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि धरौटीमा छाड्न आदेश दिएको छ। लामिछानेसँग ६५ लाख धरौटी मागिएको छ। यस मुद्दामा पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश भएको अधिकारीले बताए।
यसैगरी, लीला पछाइलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख रुपैयाँ धरौटी छाड्न आदेश भएको छ।