चीनमा देखिएको भाइरस कति खतरनाक?
चीनमा देखिएको श्वासप्रश्वास सम्बन्धी भाइरस नेपालका लागि नयाँ नभएकाले आत्तिन नपर्ने चिकित्सकले बताएका छन्।
हालै चीनमा एचएमपीभी (ह्युमन मेटाप्न्युमोभाइरस) देखिएको छ। यसले श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याइरहेको छ।
यसअघि चीनमा देखिएको कोरोनाभाइरसले जस्तै एचएमपीभीले पनि असर पार्ने हो कि भन्ने किसिमले समाचार आएका छन्। त्यस्तै, केही सञ्चारमाध्यमले कोरानाजस्तै यसमा पनि बन्दाबन्दी गर्नुपर्ने जस्तो समाचार प्रकाशित गरेका छन्।
यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि खण्डन गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पुस २४ मा प्रेस विज्ञप्ति जारी गरी त्यस्ता समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्। मन्त्रालयले भनेको छ, ‘यो साधारण रुघाखोकी उत्पन्न गराउने नेपालमा विगतमा पनि देखिएको भाइरसका हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ।’
एचएमपीभीबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको मन्त्रालयले जनाएको छ। यससँगै कमजोर प्रतिरक्षा भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिलाई असर पर्ने भएकाले सुरक्षाका उपाय अपनाउन पनि सचेत गराएको छ।
एचएमपीभी के हो?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। शेरबहादुर पुन एचएमपीभी सामान्य प्रकारको भाइरस भएको बताउँछन्। यसले श्वासप्रश्वास प्रणालीलाई असर पार्छ। “एचएमपीभी श्वासप्रश्वास सम्बन्धी समस्या गराउने मौसमी फ्लुजस्तै सामान्य भाइरस हो,” डा. पुन भन्छन्।
उनका अनुसार, नेपालमा सन् २०११ देखि २०१४ सम्म गरिएको नमुना संकलनमा झन्डै ५ प्रतिशतको हाराहारीमा नवजात शिशुमा यो भाइरस देखिएको थियो। त्यसपछि पनि जाडो महीनामा बालबालिकामा देखिँदै आएको हो। “यो नेपालमा नयाँ भाइरस होइन, रुघाखोकी गराउने सामान्य भाइरस हो,” उनी भन्छन्।
यो कति कडा भाइरस हो भन्ने यकीन भएको छैन। विश्व स्वास्थ्य संगठन र चिनियाँ सरकारी निकायबाट आधिकारिक धारणा आउन बाँकी नै रहेकाले एचएमपीभी कडा खालको भेरियन्ट हो या हैन भन्ने यकीन नभएको पुन बताउँछन्। “यदि एचएमपीभीकै कारण धेरै समस्या भइरहेको हो भने या म्युटेशन देखिएको रहेछ भने चाहिँ विश्वको लागि केहि हदसम्म चिन्ताको विषय हुनसक्छ,” उनी भन्छन्।
डा. पुनका अनुसार, नेपाल र भारतमा लामो समयदेखि एचएमपीभी थियो। जाडो याममा बालबालिकालाई रुघाखोकी गराउनेमध्ये यो पनि एक भाइरस हो। यसको संक्रमण भएमा ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, नाक बन्द हुने र सास फेर्न गाह्रो हुने जस्तो समस्या आउँछन्। साधारणतया यो भाइरस शरीरमा तीनदेखि सात दिनसम्म रहन्छ।
यसको संक्रमणले गम्भीर स्वास्थ्य समस्याहरू जस्तै ब्रोङ्काइटिस, निमोनिया र दम रोग निम्त्याउन सक्ने डा. पुन बताउँछन्। “रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू, १४ वर्ष मुनिका बालबालिका र वृद्धवृद्धालाई उच्च जोखिम हुन्छ,” उनी भन्छन्।
त्यसैले, खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्ने, भीडभाडमा नजाने वा जानै परेमा मास्कको प्रयोग गर्ने र नियमित रूपमा साबुन पानीले हात धुने जस्ता व्यक्तिगत सुरक्षाका उपाय अपनाउनु पर्ने उनको सुझाव छ। डा. पुन भन्छन्, “यो भाइरस नयाँ नभएकाले अत्यधिक भयभित हुनुपर्दैन, आवश्यक सावधानी भने अपनाउनुपर्छ।”