लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव पक्राउ
संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले बिहीबार बिहान विराटनगरबाट पक्राउ गरेको हो। पोखरेललाई ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमोरियाले बताए।
सप्तरीका बौआलाल चौधरीलाई ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको एसपी चिमोरियाले बताए। छोरीलाई एमबीबीएसमा भर्ना गराइदिने भन्दै चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएको पाइएको छ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका चौधरीले पटकपटक गरी पोखरेलको खातामा ३८ लाख ८० हजार रुपैयाँ जम्मा गरिदिएको बताएका छन्। २०७१ सालमा सापटीमा पैसा दिएको र पछि त्यो पैसा माग्न जाँदा छोरीलाई एमबीबीएसमा भर्ना गराइदिने वाचा गरेको उनको भनाइ छ।
चौधरीले ५० लाख रुपैयाँ लिएको भन्दै पोखरेलले उल्टै कागज बनाएका थिए। त्यही कागजका आधारमा चौधरीसँग पैसा माग्ने गरेका थिए।
यसअघि पुस १८ गते पोखरेल विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि लेखा समितिका सभापतिले उनलाई स्वकीय सचिवबाट हटाएका थिए।