इज्तेमामा लगाएको बन्देज हटाउन माग
रौतहटको परोहा नगरपालिका-८, नरकटियास्थित मुस्लिम धर्मावलम्बीले आयोजना गर्न लागेको इज्तेमा (सामूहिक प्रवचन)मा लगाएको बन्देज हटाउन माग गरिएको छ।
स्थानीय बासिन्दाले माघ २६, २७ र २८ गते इज्तेमा आयोजना गर्न लागेका थिए। त्यसका लागि स्थानीय प्रशासनबाट अनुमति पनि लिएका थिए। तर जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ।
राजनीतिक दलका नेताहरूले बुधबार गृहमन्त्री रमेश लेखकलाई भेटेर बन्दज हटाउन माग गरेका हुन्। नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो। सबै मापदण्ड पालना गरेर सामाजिक हितका लागि वर्षौंदेखि हुँदै आएको धार्मिक प्रवचनमाथि रोक लगाएर विवादित बनाउन नहुने उनीहरूको भनाइ थियो।
नेपाल संघीय समाजवादी पार्टीका महासचिव रमेशकुमार राईले इज्तेमा गर्न दिनुपर्ने बताए। मधेश प्रदेश सभा सदस्य विमला अन्सारी तरन्नुमले इज्तेमामाथि रोक लगाएर सरकारले मुस्लिम समुदायलाई संवैधानिक हक-अधिकारबाट वञ्चित पार्ने प्रयास गरिरहेको बताइन्।
त्यस्तै, इज्तेमाबारे भ्रम सिर्जना गरेर सरकारलाई झुक्याउने प्रयास भएको स्थानीय धर्मगुरु मोहम्मद सनाउल्लाहले बताए। इज्तेमा गर्न अनुमति दिनुपर्ने उनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको तीन दिनपछि कार्यक्रममाथि रोक लगाएपछि तयारी रोकिएको इज्तेमा इन्चार्ज हफिज हातिमले बताए। परोहा नगरपालिकाका मेयर शेष वकीलले सरकारलाई सत्यतथ्य जानकारी गराएर प्रशासनको परामर्शमा इज्तेमा गराउने प्रयास भइरहेको बताए।
रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सीमावर्ती क्षेत्रमा कार्यक्रम हुन लागेकाले सुरक्षास्थितिको पर्याप्त विश्लेषण नगरेसम्म अनुमति दिन नसकिने बताए। ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले सुरक्षा प्रमुखसँग छलफल गरेर आवश्यक निर्णय लिने बताएका छन्।