‘कलाप्रेमी’ माथि यौन दुर्व्यवहारको आरोप
पूर्व विद्यार्थीहरूले आफ्ना शिक्षक तथा चर्चित कलाकार विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएका छन्।
माघ २०७५ को एक धमिलो हिउँदे बिहान मूर्तिकलाको कक्षाकोठाभित्र एकता ‘बेक्कार आएछु!’ सोच्दै थिइन्। महीनावारीको पहिलो दिनको दुखाइले १९ वर्षीय एकतालाई घरको न्यानो ओछ्यान र ‘हट वाटर ब्याग’ को याद दिलाउँदै थियो।
महाराजगन्जस्थित कलाप्रेमी सेरामिक स्टुडियोको उनको कक्षाकोठा एउटा अँधेरो भुइँतले कोठा थियो र उनका शिक्षक चर्चित मूर्तिकार/कलाकार गोपालदास श्रेष्ठ ‘कलाप्रेमी’ थिए।
एकताभन्दा अगाडि नै पुगेका दुई विद्यार्थी बल लगाएर माटो मुछ्दै थिए। हाल २४ वर्षकी एकता कलाप्रेमीले त्यो वेला ठीक छ्यौ भनेर सोधेको सम्झन्छिन्। महीनावारी भइरहेको सबैलाई थाहा नहोस् भन्ने सोच्दै उनले कलाप्रेमीलाई बेवास्ता गरिन्।
तर पनि कलाप्रेमीले बारम्बार सोध्न छोडेनन्। आजित भएर एकताले सानो स्वरमा महीनावारी भएको बताइन्। कलाप्रेमीले त्यसपछि उनको हात समातेर स्टुडियोमा छेकिएको कुनातिर लगेर कुर्सीमा बसाए। एकताले रोक्नुअघि नै कलाप्रेमीले आफ्नो हात उनको लुगाभित्र छिराएर पेट मसाज गर्न थाले।
“म तर्सिएँ,” एकता सम्झिन्छिन्, “मैले उनलाई त्यसो नगर्न भनें, तर उनले मेरो कुरा सुनेनन्। उल्टो मेरो महीनावारीको दुखाइ कम पार्ने तरीका थाहा भएको भन्दै नलजाउन भने। मैले बेसरी कराउँदै विरोध गरेपछि मात्र उनले हात हटाए।
“तिमी त मेरी छोरी जस्तो! त्यही भएर पो तिमीलाई सन्चो होस् भनेर माया गरेको तर तिमी त कस्तो ढिठ रहिछ्यौ,” कलाप्रेमीले उनलाई भने।
“सरी भनेर माफ माग्नु सट्टा उल्टै मैले उनको नियतलाई गलत रूपमा लिएको जस्तो पारे,” उनी बताउँछिन्। १६ वर्षकी छँदादेखि (२०७२ चैतदेखि २०७७ भदौसम्म) कलाप्रेमीले पटक पटक यौन दुर्व्यवहार गरेको एकता सम्झिन्छिन्।
अहिले बल्लतल्ल एकता लगायत कलाप्रेमीका केही पूर्व विद्यार्थीले आफ्नो यस्ता अनुभव बताइरहेका छन्। अरूले पनि यस्तो समस्या भोग्न नपरोस् भन्ने सोच्दै उनीहरूमध्ये केही पूर्व विद्यार्थी कानूनी रूपमा मुद्दा पनि दर्ता गर्दै छन्।
विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित कलाकार तथा शिक्षक गोपालदास श्रेष्ठ ‘कलाप्रेमी’ सेरामिक कला, मूर्ति र माटाबाट बनाउने समसामायिक सामानका लागि चिनिन्छन्। तीन वर्षअघि सिद्धार्थ आर्ट ग्यालरीमा उनको ‘ह्वेर द वाइल्ड थिङ्स आर’ नामक सहकार्यात्मक कला प्रदर्शनी पनि गरिएको थियो।
‘गाली’ शीर्षकको उनको काममा महिलाको शरीरमा कुकुर, भेडा र गधाका टाउको बनाएर अपमानजनक तवरले विम्बित गरिएको थियो। केही समीक्षकले यस संग्रहलाई महिलावादीप्रतिको व्यंग्य मानेका थिए।
कलाप्रेमीले आफ्नो कलात्मक शिक्षण पेशा सन् १९८३ मा शुरू गरेका हुन् र भानुभक्त स्कूल, काठमाडौं विश्वविद्यालयको स्कूल अफ आर्टस्, ललितकला क्याम्पस लगायत निजी कलाप्रेमी सेरामिक स्टुडियोमा वर्षौं पढाएका छन्। दक्षिण कोरियाको जोन्जु विश्वविद्यालय र हालसालै अमेरिकाको टाबोर एकेडेमीमा पनि उनले लेक्चरहरू दिएका छन्।
यस कथाका लागि कलाप्रेमीका सात पूर्व विद्यार्थीसँग अन्तर्वार्ता लिइएको थियो। कलाप्रेमीले स्टुडियो वा काठमाडौं विश्वविद्यालयमा गालामा चुम्ने, पछाडिबाट अँगालो मार्ने, हात हेर्ने भन्दै हात समात्ने र अन्य अनुचित रूपमा छोएको पाँच छात्राले बताए। दुई छात्रले कलाप्रेमीले छात्राहरूलाई दुर्व्यवहार र उत्पीडन गरेको प्रत्यक्ष देखेको बताए। यी सबै घटनामा विद्यार्थीलाई आफूप्रति दुर्व्यवहार हुँदै गर्दा यो दुर्व्यवहार भइरहेको छ भनेर पहिचान गर्नुका साथै स्विकार्न गाह्रो भइरहेको थियो। उजुरी गर्ने प्रणाली नभएकाले गर्दा पनि वर्षौंसम्म यस परिस्थितिसँग उनीहरू मात्र लडिरहेका थिए।
यस वर्षको शुरूआतमा विद्यार्थीले कलाप्रेमीले पटक पटक दुर्व्यवहार गरेको संकेत सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि अन्य विद्यार्थी पनि उस्तै अनुभव सुनाउन अघि सरे। तीमध्ये केहीले २० वर्षअघि आफूले यस्तो दुर्व्यवहार भोगेका थिए।
६० वर्षे कलाप्रेमीले भने यी आरोपहरू नकारेका छन्। उनी भन्छन्, “केही वर्षअघि अँगालो मार्ने र चुम्बन गर्न प्रोत्साहित गर्ने अभियान चलेको थियो। म पनि मित्रता र प्रेमको भावनाले त्यसो गर्ने गर्दथें। गत वर्ष सामाजिक सञ्जालमा मेरो व्यवहारप्रति आपत्ति जनाउँदै पोस्ट आएपछि यस्ता कार्यले केहीलाई चित्त दुखेको हुन सक्ने बुझें। मैले अझै सचेत हुनुपर्ने कुरा बुझें।”
उनी थप्छन्, “म अहेब पनि हुँ। त्यसैले मलाई महीनावारी भएको वेला कता मिच्यो भने सन्चो हन्छ भनेर थाहा छ। महीनावारी मात्र होइन, जोसुकै बिरामी परे पनि अस्पताल मैले नै लिएर जाने हो।”
यौन दुर्व्यवहार अदालतमा प्रमाणित गर्न कठिन भएका कारण तथ्यांकले देखाएको भन्दा समाजमा यौन दुर्व्यवहार धेरै गुणा व्यापक भएको मान्न सकिन्छ। कसैले कसैको निजी अंग छोयो भने, छुन बाध्य पार्यो भने, अश्लील भाषा प्रयोग गर्यो भने, अपमानजनक तस्वीर देखायो भने वा स्वीकृति विना अश्लील व्यवहार गर्यो भने कानूनले त्यसलाई यौन दुर्व्यवहार मान्दछ।
एकता र अन्य विद्यार्थी अधिवक्ता सुनीता रेग्मी पोख्रेलसँग परामर्श लिंदै छन्। विद्यार्थीले दुर्व्यवहारको खुलासा गरेपछि अदालतले आफ्नो पक्षमा निर्णय गरे पनि बाहिर गुजारा गर्न गाह्रो हुने र प्रभावशाली पुरुषले आफूलाई फसाइएको भन्दै बचाउ गर्छन् भन्ने ज्ञात भएको अधिवक्ता पोख्रेल बताउँछिन्।
“छात्राहरू धेरै पीडामा छन्। कलाप्रेमीले गरेको दुर्व्यवहार सम्झेर उनीहरू रुन्छन्,” पोख्रेल भन्छिन्, “उनीहरूले मुद्दा दर्ता गरेका छन्। उनीहरू रिसाएका छन्, उत्तिकै डराएका पनि छन्। कलाप्रेमी शक्तिशाली पुरुष भएको उनीहरूलाई थाहा छ र हाम्रो समाजले आफूप्रति भएको दुर्व्यवहार विरुद्ध बोल्ने महिलाहरूलाई कसरी व्यवहार गर्छ भन्ने पनि उनीहरूले देखेका छन्। तर अब पनि नबोले यी दुर्व्यवहार गर्ने मान्छेको आँट अझै बढ्छ।”
समाजमा हुने शक्तिको असमान वितरण नेपालको कला र शैक्षिक क्षेत्रमा पनि देखिन्छ जब अन्तरसम्बद्ध परिचय भएका व्यक्तिहरूले दुर्व्यवहारको अझै खराब स्वरूपको सामना गर्नुपर्छ। सन् २०१९ मा नेपाली रंगमञ्च क्षेत्रमा #मीटू आन्दोलन चल्दै गर्दा रंगकर्मी राजकुमार पुडासैनी, राजन खतिवडा र सुनील पोखरेललाई यौन दुर्व्यवहारको आरोप लागेको थियो। यस्तो आरोप लागे पनि पोखरेललाई राष्ट्रिय पुरस्कारले सम्मानित गरियो भने अरू दुईले पनि कुनै दुष्परिणाम नभोगी वा जवाफदेह नबनीकनै क्रियाशील रहे।
“दुर्व्यवहार गर्ने विरुद्ध बोल्यो भने बिस्तारै तपाईंलाई काम आउन छोड्छ,” पेशागत रूपमा दण्डित हुने डरले नाम खुलाउन नचाहेका एक रंगकर्मी बताउँछन्। “नेपालको रंगमञ्च समुदाय निकै सानो छ। यहाँ टिक्नका लागि हिंसा गर्ने मान्छेहरूसित पनि मिलेर काम गर्नुपर्ने हुन्छ।”
शैक्षिक क्षेत्रमा पनि शिक्षकले विद्यार्थीलाई यौन हिंसा/दुर्व्यवहार गर्दा कुनै कारबाही नभएको इतिहास छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कृष्ण भट्टचन विरुद्ध महिला विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो। विश्वविद्यालयले नेपालको यौन दुर्व्यवहार ऐन अनुसार उजुरी संयन्त्र स्थापना गर्ने प्रतिबद्धता जनायो। तर अवकाश लिइसकेका प्राध्यापक भट्टचनलाई कुनै कारबाही भएन। सन् २०१९ मा उनले द काठमान्डु पोस्ट मार्फत विद्यार्थीहरूले आधारहीन आरोप लगाएर आफूले नेतृत्व गरेको आदिवासी जनजाति आन्दोलनलाई कमजोर बनाउने प्रयत्न गरेको प्रत्यारोप लगाए। त्रिभुवन विश्वविद्यालय लगायत अरू मञ्चमा वक्ताका रूपमा उनी अझै सहभागी भइरहेको देखिन्छ।
त्रिभुवन विश्वविद्यालयकै जगदीशमूर्ति कोइराला, रत्नराज्य क्याम्पसका विष्णुप्रसाद आचार्य र ललितपुर माध्यमिक विद्यालयका बोधराज त्रिपाठी विरुद्ध पनि यौन दुर्व्यवहारको आरोप लागेको छ। त्रिभुवन विश्वविद्यालयकी एक महिला कर्मचारीले डम्बर चेम्जोङ विरुद्ध यौन दुर्व्यवहारको उजुरी गरेकी थिइन्।
पर्वतारोही निम्स पुर्जा जस्ता चर्चित व्यक्तिलाई पनि यौनहिंसाको आरोप लागेको छ। क्रिकेटर सन्दीप लामिछाने, अभिनेता पल शाह र पूर्व सभामुख कृष्णबहादुर महरा विरुद्ध बलात्कारको आरोप लागेको थियो, तर नेपाली समाजले हिंसापीडितलाई न्याय र पीडकलाई सजायको बहससम्म पुग्दै नपुगी यी कथित अपराधीलाई माफ गरिसकेको छ।
‘गौशाला-२६’ नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान र भर्खरै समापन भएको नेपाल प्रिमियर लिगका विराटनगर किंग्सका कप्तान, सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाएकी १८ वर्षीया महिलाको अदालती नाम हो। समाजले आफ्नो चरित्रबारे उठाएका प्रश्नले मानसिक स्वास्थ्य असर परेपछि उनले देश छाडेकी छिन् जबकि लामिछानेले व्यापक समर्थन पाए। लामिछानेलाई बलात्कारको दोषी घोषणा गरेर आठ वर्ष कैदको पुरानो फैसलालाई गत जेठमा पाटन उच्च अदालतले उल्टायो। २३ महीना लामो कानूनी लडाइँ चल्दै गर्दा गौशाला-२६ ले सामूहिक बलात्कार र एसिड आक्रमणको धम्की सहनुपरेको थियो। यसरी संघर्षले थकित गौशाला-२६ ले आफ्नो पहिचान लुकाउन नपर्ने नयाँ संसारतर्फ लाग्ने निधो गरिन्।
हाल हटाइसकिएको एउटा इन्स्टाग्राम भिडिओमा अभिनेत्री साम्रागीराज्यलक्ष्मी शाहले एउटा चलचित्रको निर्माण क्रममा फिल्म निर्देशकले आफूप्रति गरेको दुर्व्यवहारलाई वर्णन गरेकी थिइन्। उनले कसैको नाम लिएकी थिइनन्, तर अभिनेता भुवन केसीले शाह विरुद्ध मानहानिको मुद्दा दायर गरे। अदालतले आरोपमा पर्याप्त प्रमाण नभएको निष्कर्ष निकाल्यो।
काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितले मीटू आन्दोलनको उपहास गर्दै पत्रकार रश्मिला प्रजापति र उज्वला महर्जनले लगाएको दुर्व्यवहारको आरोपलाई ‘पुरुषको अधिकारको बलात्कार’ भनी उपहास गरेका थिए।
क्रमिक दुर्व्यवहार
आफ्ना महिला सहपाठीलाई भइरहेको दुर्व्यवहार देखेपछि कलाप्रेमी सेरामिक स्टुडियोका पूर्व विद्यार्थी २४ वर्षीय राजीवले बोल्न आवश्यक भएको महसूस गरे।
“कलाप्रेमीले बारम्बार उनीहरूलाई गालामा चुम्ने गर्थे,” उनी भन्छन्, “उनीहरू स्टुडियो छिर्दा कलाप्रेमी बच्चाले जस्तो हात हल्लाउदै अँगालो मार्न संकेत गर्थे। अप्ठेरो मान्दै उनीहरू कलाप्रेमीलाई छेउतिरबाट अँगालो मार्थे, तर कलाप्रेमी उनीहरूलाई झन् नजीक तानेर, चिउँड़ो समातेर गालामा चुम्बन गर्थे।”
कलाप्रेमीले छात्राको ब्राको स्ट्राइप तानिदिने, स्तन छुने र नितम्बमा हत्केलाले थपथपाउने गरेको आफूले देखेको राजीव बताउँछन्। छात्राहरू अकमक्क परेर केही गर्न सक्दैनथे। कसैले प्रतिरोध गरे उनी भन्थे, “कलामा यो सामान्य कुरा हो।” त्यतिखेर उनलाई र सहपाठीलाई यी ‘सम्मानित’ कलाकारले भनेका कुरा ठीकै होला भन्ने लागेको रहेछ।
सन् २०२० देखि २०२२ सम्म कलाप्रेमी स्टुडियोमा कक्षा लिएकी लुनाले कलाप्रेमीले अश्लील प्रस्ताव राखेपछि प्रतिकार गरेकी थिइन्। उनी सम्झिन्छिन्, “एकदिन अरू विद्यार्थी निस्किसकेकाले स्टुडियोमा हामी दुई जना मात्र थियौं, कलाप्रेमीले भने कि भगवान्ले उनलाई विशेष कलात्मक प्रतिभा दिएका छन् र त्यो प्रतिभा उनी मलाई दिन सक्छन्। तर त्यसका लागि हामी दुवै अँध्यारो कोठामा नांगिनुपर्छ र यौनसम्बन्ध राख्नुपर्छ।”
त्यति खेर १८ वर्षकी लुनाले रिसाउँदै कलाप्रेमीको कुनै पनि शक्ति आफूलाई नचाहिने बताइन्। तर कलाप्रेमी मजाक मात्र गरे जस्तो देखाउँदै हाँसे। उनले यस घटनाबारे परिवारका कसैलाई पनि सुनाइनन्। किनभने उनलाई यो कुराबारे खुलासा गर्दा कसैले पनि पत्याउँदैन भन्ने लागेको थियो।
“उहाँहरूलाई कलाप्रेमी वरिष्ठ कलाकार हुन् र मैले उनीसँग सिक्न पाउनु नै ठुलो कुरा हो जस्तो लाग्थ्यो,” उनी भन्छिन्, “मलाई कलाप्रेमीसँग फेरि एक्लै परिएला र उनले फेरि यौनका कुरा गर्लान् भन्ने डर भइराख्थ्यो। उनी नजीक नआऊन् भनेर म रूखो व्यवहार गर्थें र झर्केर बोल्थें।”
सहपाठीले कलाप्रेमीको प्रतिकार गरेको देखेर एकता पनि उनको अनुचित व्यवहारको विरोध गर्न खोज्थिन्। तर कलाप्रेमी उनलाई बाध्य पार्न अनेक तरीका अपनाउँथे। एकता, राजीव र लुना कलाप्रेमीको मासिक शुल्क रु. ३० हजार तिर्न सक्दैनथे। त्यसैले उनले तिनै जनालाई स्टुडियोमा सहयोग गरे बापत सहुलियत दिने व्यवस्था गरेका थिए।
“उनलाई स्पोन्डिलोसिस थियो र मलाई थेरापीमा सँगै लग्ने गर्थे। त्यहाँ मसाज गर्ने विधि सिकेर उनलाई मसाज गरिदिनुपर्थ्यो,” एकता भन्छिन्। मसाज गरिदिन नमान्दा कलाप्रेमीले दुखेको नाटक गर्दै बाध्य पार्थे। “कलाप्रेमीले मसाज राम्ररी होस् भन्दै जबर्जस्ती मलाई उनको लुगाभित्रबाट मसाज गर्न लगाउँथे,” उनी भन्छिन्।
कलाप्रेमी एकताले सहानुभूति देखाऊन् भन्दै आफूलाई सानोमा माया नपाएको र पछि वयस्क भएपछि पनि यौनका कुरामा अतृप्त भएको बताउँथे।
“साँझ ७ बजेपछि उनले आफ्ना लागि सिग्नेचर ह्वीस्की निकाल्थे र तुरुन्तै आफू यौनबाट वञ्चित भएको कुरा सुनाउन थाल्थे। रक्सी खानु यौनबारे कुरा गर्ने निहुँ थियो भन्ने बुझ्न मलाई समय लाग्यो,” एकता बताउँछिन्।
मुलुकी अपराध संहिता, २०७४ को धारा २२४ अनुसार दोषी ठहरिए कलाप्रेमीलाई आर्थिक दण्ड वा तीन वर्षको जेल सजाय वा दुवै सजाय हुन सक्छ।
तथ्यांकले देखाउँछ कि बाल यौन दुर्व्यवहार पीडितले आफूलाई परेको आघातबारे अरू कसैलाई सुनाउन औसतमा २४ वर्ष लगाउँछन्। केही पीडितले कहिल्यै खुलासा गर्न सक्दैनन्।
मानसिक स्वास्थ्यकर्मी सीता लामा भन्छिन्, “हाम्रो संस्कृतिमा बच्चाहरूलाई आफ्नो व्यक्तिगत सीमा तोक्न सिकाइँदैन। ठूला मान्छेहरूले गाला चिमोट्दा उनीहरूले रिसाएर प्रतिक्रिया दिन्छन्, तर ठूला मान्छेहरूले माया गरेर हो नि भन्दै बच्चाहरूलाई जबर्जस्ती यस्ता व्यवहार स्वीकार गर्न बाध्य पारिदिन्छन्। त्यसैले कसैले अनुचित रूपमा छोए पनि उनीहरूलाई यो बुझ्न र भन्न गाह्रो हुन्छ।”
मनका कुरामा आबद्ध लामाका अनुसार दोषीले ‘माया गरेर गरेको’ भन्दा पीडितले दुर्व्यवहार हो भनेर नबुझी कुनै सुरक्षित व्यवहार बुझ्ने सम्भावना बढी छ।
“उनीहरूलाई आफूलाई दुर्व्यवहार भएको बुझ्न पनि वर्षौं लाग्न सक्छ,” लामा भन्छिन्, “सचेत भइसकेपछि पनि पीडकसँगको शक्तिको तुलनात्मक असन्तुलन र सामाजिक रूपमा यस्ता कुरालाई लिएर सिकाइएको लाजले पीडितलाई बोल्न गाह्रो बनाउँछ।”
काठमाडौं विश्वविद्यालयको स्कूल अफ आर्टस्का अन्य पूर्व विद्यार्थी पनि वर्षौं पछि कलाप्रेमीले आफूलाई दुर्व्यवहार गरेको खुलाउँदै छन्। भर्खरै किशोरावस्था पार गरेको उमेरमा कलाप्रेमीको व्यवहारले असहज बनाए पनि गैरकानूनी हो कि भन्ने थाहा नभएको वा कसरी सम्बोधन गर्ने थाहा नपाएर उनीहरू चूप बसे। दुर्व्यवहार हो भनेर निश्चित रूपमा बुझिसकेपछि अरूका लागि पनि बोलिरहेको उनीहरूले बताउँछन्।
काठमाडौं विश्वविद्यालयमा अतिथि प्राध्यापक अमिना सिंहका अनुसार शिक्षकहरूको कार्यगत सम्झौतामा यौन दुर्व्यवहार विरुद्ध कुनै प्रावधान छैन र विद्यार्थीका लागि कुनै पनि औपचारिक उजुरी संयन्त्र पनि निर्धारण गरिएको छैन।
उनी भन्छिन्, “विद्यार्थीले आफूले विश्वास गरेको कसैलाई सम्पर्क गर्ने बाहेक यौन दुर्व्यवहारसँग जुझ्ने उपाय छैन।”
त्रिभुवन विश्वविद्यालयका ललितकला क्याम्पस र सिर्जना कलेज अफ फाइन आर्टस् र काठमाडौंका अन्य निजी कला-स्टुडियोका आठ भूतपूर्व विद्यार्थीले आफूलाई शिक्षकले यौन दुर्व्यवहार गरेको बताएका छन्। यी संस्थाबाट अन्तर्वार्ता लिइएका तीन शिक्षकले दुर्व्यवहार देखेर पनि पीडकहरू शक्तिशाली भएका कारण उजुरी गर्नु व्यर्थ रहेको महसूस गरेको सुनाए।
औपचारिक उजुरी संयन्त्र नभएको अवस्थामा महिला कलाकारले एकअर्कालाई समस्याग्रस्त कलाकारबारे सचेत गर्थे। त्यस्ता कलाकारसँग सहकार्य गर्नुपरे सतर्क रहन चेतावनी दिन्थे र दिनको काम गर्ने समय बाहेक अरू वेला उनीहरूको कल र मेसेजलाई बेवास्ता गरिदिन्थे।
कलाका संस्थाहरू सबैका लागि सुरक्षित पार्ने हो भने ग्यालरी, संग्रहालय, कला स्टुडियो र ससाना कला स्थलहरूले यौन दुर्व्यवहार सम्बन्धी नीति बनाउनु जरूरी छ। नीतिमा नेतृत्वलाई जवाफदेह बनाउने आचारसंहिता वा स्टुडियोको नीति सहित पेशागत नैतिकताका सिद्धान्तहरू समावेश गरिनुपर्छ।
अधिवक्ताहरूका अनुसार विद्यार्थी र कर्मचारीले औपचारिक र अनौपचारिक रूपमा गुनासो-सरोकार राख्ने र जवाफदेही कायम गर्ने संयन्त्रहरू हुनुपर्ने कुरामा जोड दिंदै प्रश्न उठाउनुपर्छ।
एकताले सेरामिक स्टुडियो छोडेको तीन वर्षपछि कलाप्रेमीले अन्य महिलालाई पनि दुर्व्यवहार गरेको कुरा थाहा पाइन्। कलाको संसारमा आफ्नो ठाउँ खोज्दै गरेकी उनी काठमाडौंमा महिला कलाकारहरू भेला भएको एउटा कार्यशालामा पुगिन्, जहाँ उनीहरू कला क्षेत्रमा कसरी सुरक्षित रहने विषयमा छलफल गर्दै थिए।
सानो, विश्वासिलो समूह भएका कारण एकताले कलाप्रेमीको दुर्व्यवहारले आफ्नो सम्मान र सीमा उल्लंघन भएको महसूस भएको सुनाउँदा कलाप्रेमीले वर्षौंदेखि सामाजिक पूँजी नभएको वा कम भएका विद्यार्थीलाई दुर्व्यवहार गर्दै आएको र नेपालका कलाकारमाझ यो नौलो विषय नभएको थाहा पाइन्।
एकताले स्टुडियो छाडिसकेपछि पनि कलाप्रेमीले उनलाई ‘तिम्रो बारे सोच्दै छु’, ‘किन बोल्न छोडेको’, ‘तिम्रो कल पर्खिंदै छु’ जस्ता मेसेज गर्न छाडेनन्।
कलाप्रेमीले आफ्नी बहिनीलाई पनि त्यस्तै मेसेज पठाइरहेको थाहा पाएपछि एकता कदम चाल्न बाध्य भएको बताउँछिन्।
“अब अति भयो,” उनी भन्छिन्, “मैले उसको दुर्व्यवहार यतिका वर्ष सहें, तर मेरो बहिनीलाई दुर्व्यवहार गर्न दिनेछैन।
(एकता, राजीव र लुना विद्यार्थीहरूका परिवर्तित नाम हुन्। नेपाली टाइम्सबाट गरिएकाे अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)