ग्लोबल आइएमई ब्यांकले १८ हजार बिरुवा रोप्ने
ग्लोबल आइएमई ब्यांकले १८औं वार्षिकोत्सव अवसरमा १८ हजार बिरुवा रोप्ने घोषणा गरेको छ।
ब्यांक पुस १८ गते १९औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा ब्यांकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालू आर्थिक वर्षमा १८ हजार बिरुवा रोप्ने घोषणा गरिएको हो।
ब्यांकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले वार्षिकोत्सव अवसरमा अनामनगरस्थित ब्यांकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपेर अभियानको शुरूआत गरेका छन्। कार्यक्रममा ब्यांकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले वृक्षरोपण कार्यक्रम चालू आर्थिक वर्षभर सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवा रोपिने बताए।
कार्यक्रममा ब्यांकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारी उपस्थित थिए। ब्यांकले देशभरका शाखा तथा अन्य संघसंस्थासँग मिलेर बिरुवा रोप्ने जनाइएको छ।
ब्यांकका देशभर ३५५ शाखा कार्यालय छन्। त्यस्तै, ३८४ एटीएम, २३७ शाखा रहित ब्यांकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय छन्।