लिखित इतिहासले ढाँट्छ, प्राज्ञ इतिहासले ढाँट्दैन : सुरेश ढकाल
मानवशास्त्री सुरेश ढकाल आधुनिक राज्यको अवधारणासँगै आएको पूँजीवादले जातिवादलाई झन् बढी संस्थागत गर्दै विभेदलाई झन् संस्थागत गर्दै लगेको बताउँछन्।
मानव जातिको आदिम पुर्खा करीब २० लाख वर्ष पहिले आफ्नो मूलथलो अफ्रिकी घाँसे मैदान छोडेर बाहिर निस्किएका थिए। आधुनिक मानव वा वर्तमान मानव प्रजातिका पुर्खाहरू भने दुई लाख ७० हजारदेखि दुई लाख १५ हजार वर्षअघि अफ्रिकाबाट अन्यत्र फैलिएको देखिन्छ।
जनसंख्या वृद्धि हुँदै गएपछि अफ्रिकाबाट हिंडेको मान्छेले बिस्तारै पृथ्वीलाई उपनिवेश बनाउने उपक्रम प्रारम्भ गर्यो। मानवशास्त्रीहरूले पुरातात्त्विक, भाषिक र जीनोम अध्ययनबाट प्राप्त गरेका तथ्य केलाउँदै मान्छेको प्रागैतिहासिक कालखण्डलाई विभिन्न तहमा विभाजन गरेर हेर्ने गरेका छन्। सम्पूर्ण चराचर जगत्का प्राणी र वनस्पतिलाई पछाडि छाड्दै पृथ्वीलोकमा शासन गर्दै आएको मान्छेले अहिलेको कालखण्डसम्म आइपुग्दा अन्य ग्रहमा समेत हैकम जमाउने हैसियत बनाइसकेको छ।
मान्छेले यो अद्भुत क्षमता कहाँबाट र कसरी आर्जन गर्यो? अध्येताहरूले यसमा मनग्गे माथापच्ची गरिसकेका छन्। मानवशास्त्रीहरूको भनाइमा मान्छेले जुन दिनदेखि अस्त्र बनाउन र कल्पनाशीलता प्रयोग गर्न जान्यो, त्यही दिनदेखि उसले अन्य प्राणीलाई पछाडि छाड्दै गयो। त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्राध्यापक सुरेश ढकालले मान्छेमा यो चेत पलाएको समयकाल आजभन्दा करीब २० देखि २५ लाख वर्ष पुरानो भएको हालसालै बजारमा ल्याएको पुस्तक इतिहासअघिको इतिहासमा उल्लेख गरेका छन्। मानवशास्त्री ढकाल भन्छन्, “तैपनि मान्छे शासक मात्र होइन, विनाशक पनि हो।”
मान्छे जति जति फैलंदै गयो, त्यति त्यति उसले स्थानीय वातावरण अनुरूप आफ्नो स्वरूप परिवर्तन गर्दै लग्यो। त्यो अनुरूप मान्छेको संरचनागत विविधता पनि बढ्दै जान थाल्यो। १० देखि १२ हजार वर्षअघि गरेको कृषि क्रान्तिले मान्छेको जीवनशैलीमा कायापलट नै आयो। उत्पादन प्रणाली विकास गर्न थालेपछि घुमन्ते मान्छेले बस्ती बसाउन थाल्यो। सम्पत्तिको जोहो गर्न सिक्यो। परिवार संगठित गर्न थाल्यो। निजी सम्पत्तिको प्रचलन प्रारम्भ भयो।
श्रम विभाजन शुरू भयो। सगोल मान्छेको एउटा भौगोलिक सीमांकन सहितको थातथलो निर्माण हुन थाल्यो। मान्छे झन् झन् बढी शक्तिशाली हुँदै गयो र उसले सबैतिर एकाधिकार कायम गर्दै गयो। बिस्तारै मान्छे स्वार्थी बन्दै गयो।
पाँच हजार वर्षअघि लेख्य परम्परा प्रारम्भ भएपछि मान्छेमा सत्ता र शक्तिको भोक झन् झन् बढ्दै गएको देखिन्छ। त्यसपछि शक्तिशाली मान्छेले निर्धामाथि शोषण र दमन बढाउँदै लग्न थाल्छ। त्यसका निम्ति आफ्ना गौरवगान गर्ने इतिहास रच्न थाल्छ। शासकले इतिहास लेखाउन थाल्छन्। टाठाबाठाद्वारा लेखाइएका यस्ता इतिहासका माध्यमबाट विभेद र शोषण बढ्दै जान्छ। शासकले यसलाई धर्मग्रन्थका रूपमा प्रचारित गर्छ।
यस्तो चेतले आधुनिक विश्वलाई रक्तरञ्जित बनाउने काम गर्छ। यूरोपभरि जातीय उन्मादबाट फैलिएको हिंसाले लाखौं मान्छेको ज्यान लिन्छ। भारतीय उपमहाद्वीपमा पनि त्यही सिको गर्दै फैलिएको जात व्यवस्थाले मानव समाजलाई त्राहि त्राहि बनाउँदै लगिरहेको छ। ४०० वर्षअघिदेखि फैलिएको यो रोग अहिलेसम्म निरन्तर चलिरहेको छ। किताबमा मानवशास्त्री ढकाल लेख्छन्, ‘लिखित इतिहासले ढाँट्छ, प्राज्ञ इतिहासले ढाँट्दैन।’
ढकाल आधुनिक राज्यको अवधारणासँगै आएको पूँजीवादले जातिवादलाई झन् बढी संस्थागत गर्दै विभेदलाई झन् संस्थागत गर्दै लगेको बताउँछन्। यसमा प्राज्ञिकहरू पनि दुरुपयोग हुँदै आएको ठान्ने ढकालले किताबमा लेखेका छन्, ‘इतिहासलाई भ्रमित पार्ने, आफ्नो स्वार्थ अनुरूप नहुँदा विस्थापित गर्ने र आफू अनुकूलको विगत निर्माण गर्ने चरित्र राजनीतिक र प्राज्ञिक दुवै दृष्टिकोणबाट खतरनाक विचलन हो। तर, यथार्थमा त्यस्तो भइरहेको छ।’
चराचर जगत्को शासक जाति मान्छेले जति बढी ज्ञानमाथि पहुँच प्राप्त गर्दै गएको छ, त्यति नै बढी निर्मम बन्दै गएको देखिन्छ। के त्यसो भए २० लाख वर्षको यत्रो लामो सभ्यता छिचोल्दै आएको मान्छे झन् झन् संकीर्ण र स्वार्थी हुँदै गएको हो त? हिमालखबरले मानवशास्त्री ढकालसँग यी र यस्तै प्रश्नको सेरोफेरोमा रही कुराकानी गरेको छ।
ढकालको पुस्तकले प्रागैतिहासिक कालखण्डको कथा बुनेको भए पनि हामीले आधुनिक इतिहासले अहिले पारिरहेको प्रभावमाथि पनि कुराकानी गरेका छौं। चार महीनामै ‘सोल्डआउट’ भइसकेको यो पुस्तकमा केही अध्याय थपथाप गरी दोस्रो संस्करणको तयारी भइसकेको सन्दर्भ पारी हिमालखबरको प्रस्तुति किताबका कुरामा मानवशास्त्री ढकालसँग गरिएको कुराकानी :
अन्तर्वार्ता : जेबी पुन मगर
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव