काठमाडौंमा स्वास्थ्य एआई सम्बन्धी ‘हाइकन’ सम्मेलन शुरू
हेल्थ एआई फर अल कन्फ्रेन्स (हाइकन) २०२५ काठमाडौंमा मंगलबार शुरू भएको छ। नेपाल सहितका विकासशील देशमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्न स्थापना भएको हेल्थ एआई फर अल नेटवर्क (हाइनेट)ले पहिलो कन्फ्रेन्सको आयोजना गरेको हो।
कन्फ्रेन्समा स्वास्थ्य एआईबारे छलफल तथा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। कन्फ्रेन्समा स्वास्थ्य एआईलाई विश्वव्यापी सार्वजनिक पूँजीका रूपमा कसरी विकास गर्न सकिन्छ भनेर पहिलो सत्रमा छलफल हुनेछ।
त्यसैगरी, स्वास्थ्य एआईको वर्तमान अवस्था कस्तो छ र नेपाल जस्ता देशहरूको स्वास्थ्य सेवामा यसले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा दोस्रो सत्र आयोजना हुनेछ।
तेस्रो सत्रमा भने स्वास्थ्य एआईको प्रयोग र फाइदाबाट कोही पनि वञ्चित नहोऊन् भन्ने विषयमा खुला छलफल हुनेछ।
सम्मेलनमा विभिन्न देशका विज्ञले स्वास्थ्य एआईलाई स्वास्थ्य प्रणालीमा कसरी संलग्न गर्न सकिन्छ, कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ र यसका सम्भावना तथा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड एन्फोम्याट्रिक्स (नामी)को सहआयोजना रहेको कन्फ्रेन्स २ दिन चल्नेछ।
स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सीमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसमाझ पनि पुगोस् भन्ने अभिप्रायले नेपालको अग्रसरतामा हाइनेटको स्थापना भएको नेटवर्कका सञ्चालक समितिका संस्थापक सदस्य डा. किरणराज पाण्डे बताउँछन्।
हाइनेटका अर्का संस्थापक सदस्य डा. विशेष खनाल हाइनेटले विकासोन्मुख देशहरू स्वास्थ्य एआई प्रविधिकाे उपभाेक्ता मात्र नभई उत्पादक पनि हुने सम्भावनाकाे प्रवर्द्धन गर्न काम गर्ने बताउँछन्। “याे कन्फ्रेन्समा स्वास्थ्य एआईमा नेपालबाटै भइरहेका विश्वस्तरीय अध्ययन-अन्वेषणहरूकाे पनि प्रस्तुति हुनेछ।”