चिसोमा हृदयाघातको जोखिम उच्च, कसरी जोगिने?
चिसो याममा हृदयाघातको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनुपर्ने मुटुरोग विशेषज्ञहरू बताउँछन्।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्ती केही समययता नयाँ किताब लेखनमा व्यस्त थिए। गत पुस १२ गते दिनभर पनि किताबकै काममा लागिरहेका थिए। साँझपख छातीमा असहज महसूस गरेपछि केही बेर आराम गर्न ओछ्यानमा पल्टिएका थिए।
झन् गाह्रो भएपछि परिवारजनले साँझ ६ बजेतिर काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुर्याए। उपचारका क्रममै वस्तीको निधन भयो। चिकित्सकका अनुसार उनलाई हृदयाघात भएको थियो। काम गर्दागर्दै ७१ वर्षीय वस्तीको हृदयाघातका कारण ज्यान गएको खबर क्षणभरमै संसारभर फैलियो।
त्यसको एक सातापछि अर्को दुःखद खबर आयो, पत्रकार श्यामसुन्दर पुडासैनीको निधनको। ३३ वर्षीय पुडासैनीले पुस २० गते दिनभर नेपालभ्यूज डटकममा काम गरेका थिए।
राति ११ बजेतिर काठमाडौंको सरस्वतीनगरस्थित निवासमा एक्कासि ढले। उनलाई तत्कालै हेल्पिङ ह्यान्ड अस्पताल पुर्याइयो। अस्पताल नपुग्दै उनको निधन भइसकेको रहेछ, चिकित्सकले मृत घोषणा गरे। आफन्तजनका अनुसार प्रारम्भिक रिपोर्टमा हृदयाघात भएको चिकित्सकले बताएका छन्।
त्यस्तै, पुस २१ गते बिहान अर्को खबर आयो, कालीकोटमा ३७ वर्षीय सरकारी कर्मचारीको निधनको। महावै गाउँपालिका-४ का केशरबहादुर सिंह महावै-३ को वडा कार्यालयमा प्रशासन सहायक थिए।
सदा झैं पुस २१ गते बिहान पनि कार्यालय जाने तयारीमा थिए। खाना खाएर कार्यालय जानै लाग्दा एक्कासि मुटु दुख्यो भनेर पल्टिएका थिए। “पल्टिएको पल्टियै हुनुभयो,” वडाध्यक्ष हरिबहादुर शाही भन्छन्, “हृदयाघात भएछ, पल्टिएको केही बेरमै ज्यान गयो।”
यी सार्वजनिक भएका केही घटना हुन्। काठमाडौंका ७१ वर्षीय वस्तीदेखि कालीकोटका ३७ वर्षीय सिंहलाई यसअघि मुटुको समस्या नदेखिएको भए पनि एकाएक हृदयाघातले ज्यान गयो। के चिसोसँग हृदयाघातको कुनै सम्बन्ध हुन्छ?
मुटुरोग विशेषज्ञ अरू वेलाभन्दा चिसो याममा हृदयाघात हुन सक्ने जोखिम धेरै हुने बताउँछन्। “जाडोको समयमा हृदयाघात हुनेको संख्या दोब्बर हुन्छ,” मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन्, “अरू वेलाभन्दा चिसोमा ५० प्रतिशत बढी मुटुरोगी अस्पतालमा जाँच गर्न आउँछन्।”
यस्ता छन् पाँच कारण
अन्य वेलाभन्दा चिसो याममा कसरी हृदयाघात धेरै हुन्छ? डा. रेग्मी यसका पाँच वटा कारण बताउँछन्। पहिलो, चिसो मौसममा शरीरका रक्तनली खुम्चिन्छन्। रक्तनली खुम्चिएपछि शरीरमा रक्तचाप बढ्न थाल्छ। रक्तचाप बढ्दा मुटुलाई पनि दबाब बढी पर्न जान्छ। त्यसैले चिसोमा रक्तनली साँघुरो हुँदा रक्तचाप बढेर मुटुमा पर्ने दबाबबाट हृदयाघातको जोखिम हुन्छ।
दोस्रो, चिसोको प्रभावले शरीरमा एक प्रकारको रसायन उत्पादन हुन्छ। जसले मुटुको धड्कनलाई बढाउँछ। धड्कन बढ्दा पनि मुटुमा दबाब बढ्न जान्छ। जस्तो- सामान्य अवस्थामा एक मिनेटमा ६०/६२ पटक मुटु चल्छ भने धड्कन बढेको वेला ७०/८० पटक चल्न थाल्छ। जसले गर्दा पनि हृदयाघात हुने सम्भावना बढी हुन्छ।
तेस्रो, चिसोको समयमा रगत बाक्लो हुन्छ। रगत जम्न थाल्छ। रगत जम्दा पनि हृदयाघात हुन्छ।
चौथो, चिसोमा कोलेस्ट्रोल बढ्छ। विभिन्न अनुसन्धानले पनि चिसोमा कोलेस्ट्रोल बढ्ने गरेको देखाएका छन्। कोलेस्ट्रोल बढ्नु भनेको रगत बाक्लो हुनु हो। जसले गर्दा हृदयाघात हुने जोखिम बढी हुन्छ।
पाँचौं, चिसो मौसममा हृदयाघात हुनुको अर्को कारण बोसो पनि हो। मुटुका रक्तनलीमा बोसो जमेको ठाउँमा घाउ पनि भएको हुन सक्छ। सामान्य भाषामा भन्दा कोलेस्ट्रोल जमेर बाक्लो भइराखेको हुन्छ, कोलेस्ट्रोल भएको ठाउँ च्यातिन्छ। त्यो ठाउँमा गएर रगत जम्छ। मुटुका रक्तनलीमा घाउ हुँदा पनि यो समस्या हुन्छ।
कसरी जोगिने?
मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला चिसो मौसममा रक्तचाप बढ्ने सम्भावना औंल्याउँछन्। रक्तचाप बढ्दा मुटुमा भार बढी पर्ने र हृदयाघात हुने सम्भावना हुने बताउँछन्। तर चिसो मौसमकै कारण मान्छे मरेको भन्न नमिल्ने उनको भनाइ छ। “चिसोमा बाहिर जानु हुन्न भन्ने सन्देश आममान्छेमा पर्न सक्छ,” डा. कोइराला भन्छन्, “सामान्य सावधानी भने अपनाउनुपर्छ।”
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा मुटु सम्बन्धी रोगबाट एक करोड ७९ लाख मानिसको मृत्यु भएको थियो। जसमध्ये ८५ प्रतिशत हृदयाघात र ‘स्ट्रोक’ का शिकार भएका थिए।
त्यस्तै, विश्व स्वास्थ्य संगठनले सन् २०२० मा गरेको अध्ययनमा नेपालमा भएका मृत्युमध्ये १२.२६ प्रतिशत मुटुरोगका कारण भएको देखिएको थियो। न्याशनल इन्स्टिच्यूट अफ हेल्थले गरेको सन् १९९० देखि सन् २०१७ सम्मको नेपालमा मुटु रोग सम्बन्धी अध्ययनले युवामा पनि हृदयाघात बढ्दो रहेको उल्लेख गरेको छ। डा. समीक्षा सुवेदी र मुना शर्माको नेप्लिज हर्ट जर्नलमा प्रकाशित अध्ययन अनुसार नेपालमा मृत्युका मुख्य कारणमध्ये हृदयाघात छैटौं नम्बरमा रहेको उल्लेख छ।
नेपालमा भने चिसो र हृदयाघातको सम्बन्धबारे अध्ययन भएको छैन। तथापि चिसो याममा जोगिन आफूलाई न्यानो बनाएर राख्ने, तातो र पोषिलो खाना खाने र अस्वस्थ महसूस हुने बित्तिकै स्वास्थ्य जाँच गराउनुपर्ने मुटुरोग विशेषज्ञ डा. कोइराला सुझाउँछन्।
त्यस्तै, मुटुरोग विशेषज्ञ डा. रेग्मीका अनुसार अत्यधिक धूमपान र सुर्ती सेवन, फेरिएको जीवनशैली, तयारी खानेकुराको प्रयोग, उच्च रक्तचापका रोगी र कोलेस्ट्रोल भएका व्यक्तिलाई हृदयाघात हुने सम्भावना बढी हुन्छ। उनी चिसो मौसम न्यानो लुगा लगाउन र तातो खानेकुरा खान सुझाव दिन्छन्। त्यस्तै, धूमपानको सेवन कम गर्नुपर्ने बताउँछन्।