हेलिकोप्टर उडानमा अवरोध गर्नेलाई कारबाही गर्छौं : सोलुखुम्बु प्रशासन
जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले हेलिकोप्टर उडानमा बाधा-अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
प्रमुख जिल्ला अधिकारी अनुजप्रसाद घिमिरेले सोमबार सूचना प्रकाशित गरी कारबाहीको चेतावनी दिएका हुन्। ‘नियम अनुसार सञ्चालित हेलिकोप्टर उडानमा अवरोध गर्नाले विपद्, बिरामी उद्धार, पर्यटन प्रवर्द्धन लगायतका समस्या भएको भनी जनगुनासो प्राप्त भएकाले हेलिकोप्टर उडानमा बाधा-अवरोध गर्ने/गराउनेलाई प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ,’ सूचनामा भनिएको छ।
सोलुखुम्बुका विभिन्न स्थानमा रहेका हेलिप्याडमा अनधिकृत व्यक्तिहरूले हेलिकोप्टर उडानमा अवरोध पुर्याएको भनी विभिन्न सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले कारबाही गर्ने चेतावनी दिएका हुन्।
सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको वासस्थानमा असर परेपछि व्यावसायिक हेलिकोप्टर उडानमा रोक लगाइएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र सरोकारवाला संस्थाले व्यावसायिक हेलिकोप्टर उडानलाई पुस १७ गतेदेखि रोक लगाउने निर्णय गरेका थिए।
वायुसेवा सञ्चालक संघ, नेपालले सुरक्षामा प्रश्न उब्जिएको भन्दै सगरमाथा क्षेत्रमा पुस २१ गतेदेखि हेलिकोप्टरको उडान रोक्ने निर्णय गरेको छ।
यो पनि पढ्नुहोस् : सगरमाथा क्षेत्रमा नियन्त्रित गर्नै पर्ने हेलि-उडान