विपिन जोशीको अत्तोपत्तो छैन, फेरि इजरायल पठाइँदै हजार युवा
सुरक्षा जोखिमलाई ध्यानमा राखेर अमेरिका, चीन, अस्ट्रेलिया लगायत देशले आफ्ना नागरिकलाई इजरायल भ्रमण समेत नगर्न भनिरहेका वेला नेपाल भने कामदारका रूपमा एक हजार युवालाई पठाउँदै छ।
फलिस्तनीको विद्रोही हमासले सार्वजनिक गरेको रिहा हुनसक्ने ३४ जना बन्धकको सूचीमा विपिन जोशीको नाम परेको छैन। जाेशीकाे रिहाइकाे पहल गर्नु त कता हाे कता उल्टै नेपाल सरकारले युद्धरत इजरायलमा नेपाली युवा पठाउने तयारी गरिरहेको छ। वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर)का रूपमा पहिलो चरणमा एक हजार नेपाली पठाउन लागेको हो।
गत असोजमा इजरायलले गोलाप्रथा मार्फत श्रमिकको छनोट गरेको थियो। तर इजरायल र लेबनानी लडाकू समूह हेजबुल्लाहबीच लडाइँ भएपछि केयरगिभर पठाउने प्रक्रिया स्थगन गरिएको थियो। अहिले युद्धविराम भएपछि परराष्ट्र मन्त्रालयको सहमतिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केयरगिभर पठाउने प्रक्रिया फेरि अघि बढाएको हो।
इजरायलका लागि योग्य ठहरिएका तीन हजार ४६१ जनामध्ये गोलाप्रथाबाट दुई हजार ११२ जना छानिएका छन्। उनीहरूमध्ये पहिलो चरणमा एक हजार जनालाई पठाउन लागिएको हो, जसमा ६०० महिला र ४०० पुरुष छन्।
पहिलो चरणमा छनोट भएका युवालाई पुस २३ गतेसम्म स्वास्थ्य परीक्षण गर्न भनिएको छ। यसका लागि चार वटा स्वास्थ्य संस्था तोकिएका छन्।
अधिकारकर्मी र अभियन्ताले भने युद्धरत इजरायलमा नेपाली कामदार पठाउन नहुने बताएका छन्। एकातिर, इजरायलले गाजामा नरसंहार मच्चाइरहेकाले कामदार पठाउँदा नेपालले सघाएको ठहरिने र अर्कातिर, सुरक्षा जोखिम हुने भएकाले केयरगिभरका रूपमा पठाउन नहुने उनीहरूको भनाइ छ।
अमेरिका, अस्ट्रेलिया, क्यानडा, चीन र फिलिपिन्स लगायत देशले आफ्ना नागरिकलाई असुरक्षाको कारण देखाउँदै सकभर इजरायल नजानू भनेका छन्। “आफ्ना नागरिकलाई नजानू भन्नुको सट्टा हाम्रो सरकारले मजदूरलाई पठाइरहेको छ,” कूटनीतिज्ञ डा. महेश मास्के भन्छन्, “अलिकति पनि मानवताको भावना छ भने नेपाल सरकारले नेपाली मजदूरलाई इजरायल पठाउनु हुँदैन।”
नागरिकको सुरक्षाभन्दा ठूलो अरू केही नहुने अभियन्ताको भनाइ छ। झन् गाजा क्षेत्रमा नरसंहार मच्चाइरहेकाले इजरायललाई सहयोग पुग्ने गरी कामदार पठाउन नहुने उनीहरू तर्क छ। “हाम्रो सरकारले आमनागरिकको हित र सुरक्षालाई मध्यनजर गर्दै इजरायललाई जनसंहार गर्न सघाउ पुर्याउने होइन, बरु त्यो मुलुकसँग सम्बन्ध तोड्नुपर्छ,” मास्के भन्छन्।
गाजा क्षेत्रमा इजरायलले मच्चाइरहेको नरसंहार विरुद्ध आवाज उठाइरहेका अभियन्ताले पनि मानवीयताका हिसाबले पनि नेपालले केयरगिभर पठाउन नहुने बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गाजामा ५०० भन्दा बढी स्वास्थ्यकर्मी मारिएका छन् भने १३० भन्दा बढी एम्बुलेन्स ध्वस्त पारिएका छन्। इजरायलले त्यहाँ आधारभूत संरचना तहसनहस पारेको छ भने स्वास्थ्य सेवा पूर्वाधार पनि नष्ट गरेको छ।
१० लाखभन्दा बढी फलस्तीनीको विस्थापन, घर, विद्यालय र अस्पतालको विनाशले गाजामा इजरायलले जातीय सफाया गरिरहेकोे प्रस्ट देखिने अभियन्ताको तर्क छ। त्यसैले इजरायललाई सहयोग पुग्ने गरी नेपाली युवालाई केयरगिभरमा पठाउन नहुने उनीहरूको भनाइ छ।
नेपाल र इजरायलबीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्र मार्फत केयरगिभरलाई स्याहार केन्द्रमा पठाउन लागिएको हो। हाल इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा एक हजार ३४५ नेपाली कार्यरत छन्।
हेजबुल्लाहले इजरायलमा आक्रमण गर्न थालेपछि नेपालबाट केयरगिभर पठाउने प्रक्रिया रोकिएको थियो। तर इजरायलले नेपाल सरकारलाई दबाब दिएपछि फेरि यो प्रक्रिया शुरू गरिएको जनाइएको छ।
गत वर्ष इजरायलमै १० नेपाली मारिएका थिए। हमासको आक्रमणमा परी पढाइका लागि इजरायल पुगेका नेपाली विद्यार्थीको ज्यान गएको थियो। त्यति वेलै हमासले नियन्त्रणमा लिएका नेपाली विद्यार्थी विपिन जोशीको अहिलेसम्म अत्तोपत्तो छैन। उनको रिहाइको पहल गर्न नसकेको नेपाल सरकारले फेरि एक हजार युवालाई इजरायल पठाउन लागेको हो।
इजरायलसँग सम्बन्ध तोड्न आग्रह
एक वर्षभन्दा बढी समयदेखि इजरायलले गाजा क्षेत्रमा निरन्तर बमबारी, विस्थापन, ड्रोन र क्षेप्यास्त्र हमला तथा गोली प्रहार गरिरहेको छ। गाजावासीका घर, स्कूल, चर्च-मस्जिद र अस्पताल ध्वस्त पारिएका छन्। राहत बोकेका गाडीलाई रोकेपछि गाजा क्षेत्रका बासिन्दा भोकले मर्ने स्थिति आएको छ। चिकित्सक र पत्रकारलाई निशाना बनाइएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म ४५ हजार ७१७ जनाको मृत्यु दर्ता भएको छ। स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययन अनुसार पाँच महीनाअघिसम्म ज्यान गुमाउनेको संख्या एक लाख ८६ हजार पुगिसकेको अनुमान छ।
नरसंहार बढ्दै गएपछि फलस्तीनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि फ्रान्सेस्का अल्बानीजले इजरायलसँगको सम्बन्ध तोड्न आग्रह गरेकी छन्। सामाजिक सञ्जाल एक्स मार्फत अल्बानीजले भनेकी छन्, “म विश्वभरका स्वास्थ्यकर्मीलाई इजरायलसँगका सबै सम्बन्ध तोड्न आग्रह गर्छु।”
यसलाई उनले गाजामा फलस्तीनी स्वास्थ्य सेवा प्रणालीको विनाश गर्ने इजरायलको कार्यको निन्दा गर्ने उपयुक्त तरीकाका रूपमा व्याख्या गरेकी छन्। यससँगै उनले पनि इजरायलको हिरासतमा रहेका फलस्तीनी चिकित्सक हुसान अबु सफियाको रिहाइका लागि पनि आग्रह गरेकी छन्।