भद्रपुर उडेको बुद्ध एअरको जहाजको इन्जिनमा ‘फ्लेम आउट’ पछि काठमाडौंमा अवतरण
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाजको इन्जिनमा ‘फ्लेम आउट’ भएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।
बुद्ध एअरको उडान नं. ९५३ को कल साइन ‘९एन-एजेएस’ जहाज सोमबार बिहान १०:३७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुरका लागि उडेको थियो। जहाजमा ७२ यात्रु र चालक दलका चार सदस्य थिए।
काठमाडौंबाट उडेको केही समयपछि बायाँ इन्जिनमा ‘फ्लेम आउट’ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जनाएका छन्। त्यसपछि सिंगल इन्जिन भई काठमाडौंतर्फ फर्किएको थियो।
एरोनटिकल इन्जिनीयर प्रभावकरचन्द्र मल्लिकका अनुसार उडिरहेको जहाजको इन्जिन एकाएक बन्द हुनुलाई प्राविधिक भाषामा ‘फ्लेम आउट’ भनिन्छ। बुद्ध एअरको जहाजको बायाँ इन्जिन बन्द भएपछि अर्को इन्जिनको भरमा काठमाडौं फर्काइएको हो।
महानिर्देशक निरौलाका अनुसार त्यसपछि बुद्ध एअरको जहाजले गुराँस बिन्दुबाट भीओआर एप्रोच गरी बिहान ११:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो।
बुद्ध एअरले पनि सार्वजनिक सञ्जाल मार्फत जहाजमा समस्या देखिएको जनाएको छ। इन्जिनमा प्राविधिक समस्या देखिएकाले काठमाडौं फर्काएर सुरक्षित अवतरण गरिएको बुद्ध एअरले जनाएको छ। बुद्ध एअरले भनेको छ, ‘जहाजलाई हाम्रा प्राविधिक टोलीले जाँच गरिरहेको छ।’