इजरायलले गाजामा मच्चाइरहेको नरसंहारको नेपाली चिकित्सकद्वारा निन्दा
इजरायलले गाजामा मच्चाइरहेको नरसंहारको नेपाली चिकित्सकले विरोध गरेका छन्।
४२ जना नेपाली चिकित्सकले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलले गरिरहेको नागरिकको जानाजान हत्या, स्वास्थ्य पूर्वाधारको विनाश, भोकमरी र विस्थापनको शस्त्रीकरण युद्ध अपराधभन्दा बढी अत्याचार भएको बताएका छन्। इजरायली सेनाले उत्तर गाजाको अन्तिम अस्पताल जलाएर डाक्टर, नर्स र बिरामीको हत्या गरेको विज्ञप्तिमा उल्लेख छ। यसलाई उनीहरूले पूर्व नियोजित युद्ध अपराध भनेका छन्।
‘५०० भन्दा बढी स्वास्थ्यकर्मीको क्रूर हत्या गरिएको छ र १३० भन्दा बढी एम्बुलेन्स नष्ट गरिएका छन्। यो युद्ध होइन, यो नरसंहार हो,’ नेपाली चिकित्सकले भनेका छन्, ‘इजरायलले गाजाको जीवनका मूल तत्त्वहरूको विरुद्ध युद्ध गरिरहेको छ, स्वास्थ्य सुविधाहरू नष्ट गरिएका छन् र चिकित्सकलाई जीवन बचाउने प्रयास गर्दागर्दै मारिएको छ। यी जघन्य कार्यहरू मानवताको विरुद्ध छन्।’
यसमा अन्तर्राष्ट्रिय समुदायको भूमिकाको पनि नेपाली चिकित्सकले निन्दा गरेका छन्। उनीहरूले तत्काल गाजा क्षेत्रमा युद्धविराम गर्न आग्रह गरेका छन्।
यससँगै गाजाको नाकाबन्दी हटाउने, स्वास्थ्यकर्मीलाई भइरहेको आक्रमण रोक्न, डा. हुसाम अबु सफियालाई रिहाइ गर्न माग गरेका छन्। डा. सफियालाई इजरायलले गाजाबाट नियन्त्रणमा लिएर थुनामा राखेको छ। नेपाली चिकित्सकले भनेका छन्, ‘चिकित्सा तटस्थता र न्यायका सिद्धान्तहरू कायम राख्न उनको तत्काल रिहाइ अपरिहार्य छ।’