मधेशकेन्द्रित दलको मोर्चाबन्दीका लागि जनमतले बनायो कार्यदल
मधेशकेन्द्रित दलहरूसँग मोर्चाबन्दी गर्न जनमत पार्टीले कार्यदल गठन गरेको छ।
सीके राउत नेतृत्वको जनमतको केन्द्रीय सचिवालयले दुई सदस्यीय कार्यदल गठन गरेको हो। केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा. शरदसिंह यादव रहेको समिति गठन गरिएको जनमतको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जनाएका छन्।
मधेशकेन्द्रित दलहरूसँग संवाद र सहकार्य गरिने जनमतले जनाएको छ। विचार मिल्ने दलहरूसँग सहकार्यका लागि मोर्चा बनाइने भएको छ।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान संशोधनको विषय उठाएपछि मधेशकेन्द्रित दल पनि एकजुट हुन लागेका हुन्। संविधान संशोधन गर्दा मधेशका माग पनि सम्बोधन गराउन दबाब दिन मधेशकेन्द्रित दलहरूबीच मोर्चाबन्दीको तयारी थालिएको जनमतले जनाएको छ।