रातो बलमा ललितको जादू
जय ट्रफीको पहिलो दिन नेपाल प्रहरी क्लबका ललित राजवंशीले जादूमयी प्रदर्शन गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको नामबाट जय ट्रफी दुई दिवसीय क्रिकेट प्रतियोगिता आइतबारदेखि शुरू भएको हो। पाँच वर्षपछि नेपाल क्रिकेट खेलाडी सेता पोशाकमा रातो बल खेल्न पुगेका हुन्। यसअघि सन् २०१९ मा नेपाली राष्ट्रिय टोलीले इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)मा तीन दिवसीय क्रिकेट खेलेको थियो।
वीरगन्ज र जनकपुरमा प्रारम्भ भएको जय ट्रफीको पहिलो दिन बलर हावी भए। वीरगन्जमा त्रिभुवन आर्मी विरुद्धको खेलमा नेपाल प्रहरीका क्लबका राजवंशीले कीर्तिमानी प्रदर्शन गरेका हुन्।
उनले १४.४ ओभरमा चार मेडन राख्दै ४७ रन खर्चेर सात विकेट लिए। यो उनको सबैभन्दा राम्रो प्रदर्शन हो। यसअघि एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँच विकेट लिएका थिए। उनी रातो बलमा पाँच विकेट लिने पहिलो खेलाडी बने।
उनले आफ्नो पहिलो ओभरमै आर्मी क्लबका सन्तोष कार्कीको विकेट लिए। त्यसपछि तीर्थराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शहाब आलम र आकाश चन्दलाई आउट गरे।
राजवंशीको जादू चलेको पहिलो इनिङमा आर्मी दबाबमा रह्यो। आर्मी क्लबले ३४.४ ओभरमा सबै विकेट गुमाएर १२१ रन मात्रै बनाउन सक्यो। आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, पवन कार्कीले १५, बसिर अहमदले १२ र शहाब आलमले ११ रन बनाए। प्रहरी क्लबका लागि कुशल भुर्तेल, रसिद खान र श्रवण यादवले एक-एक विकेट लिए।
प्रहरी क्लबका ब्याटर पनि टिक्न सकेनन्। पहिलो दिनको खेल सकिंदा प्रहरी क्लबले सात विकेट गुमाएर १०३ रन बनाएको छ। गुल्सन झा ३६ बलमा ३४ रन बनाएर खेलिरहेका छन्। त्यस्तै, प्रहरीका लागि अमित श्रेष्ठले १८, रसिद खानले १६, शंकर रानाले १३ र विपिन नाथले १० रन बनाए।
आर्मीका लागि शहाब आलमले पाँच विकेट लिएका छन्। उनले ११ ओभरमा एक मेडन राख्दै ५५ रन खर्चिए। त्यस्तै, सोमपाल कामी र पवन कार्कीले एक-एक विकेट लिए।
जनकपुरमा भएको खेलमा पनि बागमती प्रदेशका बलर हावी भए। पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३५.३ ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्रै बनाउन सक्यो। मधेशका लागि मयन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमांशु दत्तले १० रन बनाए।
त्यस्तै, बागमतीका लागि सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले १४ ओभरमा दुई मेडन राख्दै ५५ रन खर्चिए। यसैगरी, सूर्य तामाङले तीन, नन्दन यादव र प्रतिश जीसीले एक-एक विकेट लिए।
पहिलो दिनको खेल सकिंदा बागमतीले दुई विकेट गुमाएर ३४ रन बनाएको छ। बागमतीका लागि शुभ कंसाकार २२ र इशान पाण्डे नौ रन बनाएर खेलिरहेका छन्। जनकपुरका लागि रूपेश सिंह र विशाल पटेलले एक-एक विकेट लिए।
दोस्रो दिनको खेल सोमबार बिहान ९ बजेदेखि हुनेछ। प्रतियोगितामा चार टोली प्रतिस्पर्धारत छन्।
यस प्रतियोगितामा हरेक दिन १०१ ओभरको खेल हुन्छ। हरेक दिनको खेल पौने सात घन्टाको हुन्छ। बिहान ९ देखि साढे ११ बजेसम्म खेल हुन्छ भने त्यसपछि १२:१० बजेसम्म भोजनका लागि ‘ब्रेक’ हुन्छ।
त्यसपछि २:२५ बजेसम्म खेल हुन्छ। त्यसपछि चियाका लागि ‘ब्रेक’ गरिन्छ। दिउँसो २:४५ बजेटबाट शुरू हुने खेल ४:४५ बजेसम्म चल्ने गरेको छ।