सुर नहराओस् काठको बाँसुरीको!
नेवारी संस्कृतिमा पुस्तौंदेखि खल:हरूमा बजाइने गरेको काठको बाँसुरीको परम्परा भुलेर बाँस र प्लास्टिकका बाँसुरीलाई बढावा दिइँदा संस्कृति र पहिचान नै लोप हुने दिशामा छ।
गएको मंसीर २९ देखि चार दिनसम्म चलेको भक्तपुर महोत्सवमा स्थानीय कला, संस्कृति र परिकारको प्रवर्द्धन गर्ने विविध प्रदर्शनी राखिएका थिए। भक्तपुर नगरपालिकाले आयोजना गरेको महोत्सवमा ‘खुला बाँसुरी बाजा प्रतियोगिता’ को पनि आयोजना गरिएको थियो।
प्रतियोगितामा धरान, काठमाडौंका फर्पिङ, थानकोट, टोखा, ललितपुरको खोकना, भक्तपुर लगायतका ४६ वटा समूहको सहभागिता थियो। सहभागी टोलीहरूले प्रतियोगिताको उद्घाटनस्थलदेखि बाँसुरी बजाउँदै कार्यक्रमस्थलसम्म पुग्नुपर्ने नियम थियो। भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति र उपप्रमुख रजनी जोशीले वडा नम्बर-१, इनागमा प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रमस्थल बनाइएको थियो, वडा नम्बर १० स्थित क्वाठण्डौंमा।
र्यालीका क्रममा बाँसुरीवादनको आठ जनाले मूल्यांकन गरिरहेका थिए भनेर मञ्च प्रदर्शनमा १० जना निर्णायक थिए। र्यालीमा वादनको ३० अंक र मञ्च प्रदर्शनको ७० अंक दिने व्यवस्था थियो।
महोत्सवको नारा थियो, ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’। तर परम्परागत र रैथाने वैभवको महत्त्व दर्शाउने यो नारालाई बाँसुरी वादकहरूको बाँसुरीले गिज्याइरहेको भान हुन्थ्यो। त्यहाँ प्रयोग गरिएका अधिकांश बाँसुरी बाँस र प्लास्टिकका थिए। हाम्रो पुर्खादेखि चलिआएको काठबाट निर्मित कलात्मक बाँसुरी थोरै मात्र समूहले बजाएको देखिन्थ्यो। तिनै पुर्खाले सिर्जेको कला र संस्कृतिको जगेर्नाका लागि यस्तो महोत्सव गरिने हो, त्यसैभित्र पर्ने यो काठको बाँसुरी लोप हुन लागेको देख्दा म बाँसुरीमा काम गर्दै आएको व्यक्तिका नाताले असामञ्जस्य लाग्यो। मनमा प्रश्न उब्जियो, बाँस र प्लास्टिकको बाँसुरीको प्रवर्द्धन गर्न खोजिएको हो वा यो हाम्रो अज्ञानता हो?
बाँसुरीको संरक्षण, संवर्द्धन र विकासका लागि विभिन्न संघसंस्था र पालिकाले यस्ता प्रतियोगिता र कार्यक्रम गर्दै आएका छन्। तिनमा मौलिकताको ख्याल नगरी जुनसुकै वस्तुबाट निर्मित केवल बाँसुरीको प्रतियोगिता गरिएको देखिन्छ।
बाँसुरी वृत्तान्त
यूरोपका इतिहासकारहरूको मत अनुसार ‘फ्लूट’ संसारको पुरानो बाजा हो। हामीकहाँ ‘फ्लूट’ को नेपाली अनुवादमा ‘बाँसुरी’ शब्द चलाइएको पाइन्छ। तर २६ अक्टोबर २०२२ मा भारतको भोपालबाट प्रकाशित एक समाचारपत्र अनुसार फ्लूट र बाँसुरीमा अन्तर छ।
फ्लूट कुनै पनि वस्तुबाट बनाउन सकिन्छ। हिजोआज त विभिन्न प्रकारका धातुबाट पनि फ्लूट बनाइन्छ। यूरोपेली इतिहासकारले संसारकै पुरानो बाजा भनेको फ्लूट भालुको हड्डीबाट बनेको थियो। तर बाँसुरी केवल बाँसबाट बनाइन्छ। बाँसुरी बाँसको हुनु अनिवार्य शर्त र पहिचान हो (जीवन आले, ‘बाँसुरीको इतिहास र विकासक्रम’, आलेख, अच्युतराम भण्डारी संगीत प्रतिष्ठान)। बाँसबाट निर्माण भएकै कारण बाँसुरी भनिएको हो। तथापि अचेल कुनै पनि वस्तुबाट बनाइएकालाई बाँसुरी भनिन्छ।
काठको बाँसुरीमा पनि बाँसको जस्तै एउटा फुक्ने प्वाल हुन्छ र धुन निकाल्ने ६ वटा प्वाल हुन्छन्। बाँसमा प्वाल पारेर बनाइएको बाजालाई बाँसुरी भनिने भए काठबाट निर्मित त्यस्तै बाजालाई के भन्ने त भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। तर यसका लागि छुट्टै शब्द छैन। बाँस, काठ वा अन्य चिजबाट बनेको यस्तो बाजालाई बाँसुरी नै भनिन्छ। खल:का कलाकारहरूले बाँस र काठ दुवै खालका बाँसुरी बजाइहिंडेको देख्न सकिन्छ। बाँसुरीलाई नेपाल (नेवारी) भाषामा ‘बय’ भनिन्छ। काठको बाँसुरी महँगो पर्ने र बेसुरा पनि भएकाले सम्भवत: २०६५ सालपछि छिटपुट रूपमा बाँस र प्लास्टिकका बाँसुरी समूहमा बजाउन थालियो। पछिल्लो समय यिनको प्रयोग झनै बढेको छ।
खल:मा बजाइने काठको बाँसुरीको ऐतिहासिकता के हो, यो कहिलेदेखि प्रयोगमा आयो भन्ने यकीन इतिहास भेटिंदैन। केही पाका व्यक्तिको कथन अनुसार काठको बाँसुरी मल्लकालदेखि प्रचलनमा आएको हो। तर यसबारे आधिकारिक दस्तावेज छैन।
किनार पर्दै परम्परागत बाजा
पालिका तथा विभिन्न संस्थाले बाँसुरीका प्रतियोगिता वेलाबखत गर्दै आएका छन्। बाबुराजा श्रेष्ठ र सञ्जय शाहीको संयोजकत्वमा दक्षिणकाली फंपि बाँसुरी खल:ले तीन पटक देशव्यापी खुला आमन्त्रण बाँसुरी प्रतियोगिता गरेको थियो, २०६६ वैशाख २५, २०६७ भदौ २३ र २०७२ भदौ २५ गते।
यसैगरी, काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले २०८० मंसीर २७ गते ३२ वटै वडाकै खल:को बाँसुरी प्रतियोगिता आयोजना गरेको थियो। भक्तपुर नगरपालिकाले पनि गत मंसीर २९ र ३० गते खुला बाँसुरी बाजा प्रतियोगिता गरायो। तर आयोजकहरूले काठको बाँसुरी कहिल्यै अनिवार्य गराएनन्। प्राय: सबै ठाउँमा बाँस र प्लास्टिकका बाँसुरीकै बोलवाला देखिन्थ्यो।
खल:का गुरूहरूले काठको बाँसुरी बेसुरा हुन्छ, प्लास्टिकको पाइपबाट निर्मित बाँसुरी बलियो हुन्छ भन्ने तर्क गर्नुहुन्छ। उहाँहरूको तर्क जायज छ, तर काठको बाँसुरी पुर्खाले सिर्जेको कला हो, जसलाई बेसुराको नाममा विस्थापित गर्न मिल्दैन र हुँदैन।
परापूर्वकालदेखि खल:हरूमा सामान्य तरीकाले बनाइएको काठको बाँसुरी नै विवाह, व्रतबन्ध, जंको जस्ता शुभ कार्यमा सामूहिक रूपमा बजाउने गरिएको पाइन्छ। यो परम्पराको महत्त्व तथा पुर्खाको कलाको मर्म बुझेर प्रतियोगितामा पनि काठको बाँसुरी अनिवार्य गराए यो परम्परागत बाजा बचाउन सकिन्छ।
कसरी गर्ने संरक्षण?
काठको बाँसुरीको संरक्षण र संवर्द्धन गर्न सांस्कृतिक संघसंस्था र स्थानीय तहको सक्रियता सराहनीय छ। तर यतिले मात्र यो बाँसुरीको संरक्षण हुन सक्दैन। बाँसुरीवादन सिकाउने गुरुहरू, बाँसुरी बनाउने कालिगड र वादकहरूलाई स्थानीय तहबाटै सचेतनायुक्त तालीमको व्यवस्था गरिनुपर्छ। महँगो र बेसुरा हुने भन्दै पुर्खाको कलाकृति मास्न हुँदैन भनी बाँसुरीका कालिगडलाई प्रशिक्षण दिइनुपर्छ।
आजको प्रविधिको जमानामा असम्भव केही पनि छैन। हालका काठको बाँसुरीको खोक्रो भाग कम हुन्छ। यसलाई बाँसकै जस्तो अलि खुर्केर पातलो बनाउन सकिन्छ। जसले गर्दा पहिलेका बाँसुरीको तुलनामा सुरिलो बनाउन सकियोस्।
बाँसुरी सिकाउने गुरूहरूलाई पनि बाँसको बाँसुरी सरह काठको बाँसुरी कसरी राम्रो र सही ढंगले बजाउन सिकाउन सकिन्छ भनी तालीम दिन सकिए यसलाई लोप हुनबाट बचाउन सकिन्छ। पुराना संस्कृति र कला बचाउन अलि बढी मिहिनेत र खर्च त लाग्छ नै। काठको बाँसुरी महँगो त हुन्छ, तर यसमा एक पटक लगानी गरेपछि कैयौं वर्ष ढुक्क हुन्छ। यो बाँसको बाँसुरी जस्तै चर्किने र चाँडै फुट्ने हुँदैन।
सारमा, काठको बाँसुरीको संरक्षण गर्न संघसंस्था र स्थानीय तहले खल:का सञ्चालक, बाँसुरीवादक, प्रशिक्षक, बाँसुरी बनाउने कालिगडहरूलाई भेला गराई विशेष छलफल गरी गृहकार्य गर्न सके यसको संरक्षण र संवर्द्धन गर्न सकिनेछ। यसबाट महोत्सवहरूमा गरिने बाँसुरीको प्रतियोगितामा काठकै बाँसुरीको प्रयोग र महिमा क्रमशः बढ्नेछ।
(लेखक आले काठमाडौं विश्वविद्यालय संगीत विभागका बाँसुरी प्रशिक्षक हुन्।)