पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नै पर्छ : ओली
नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने बताएका छन्।
केन्द्रीय कार्यालय च्यासलमा शुरू भएको एमालेको आठौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्ति एकजुट भएकाले प्रतिक्रियावादीहरू आतंकित भएको टिप्पणी गरे। एमाले विरुद्ध प्रतिक्रियावादीहरू झूटा प्रचारमा लागेको उनको भनाइ थियो।
उनले एकताबद्ध भई झूटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न नेतालाई निर्देशन दिए। “हामी विरोधीका आरोपमाथि चूप लागेर बस्नु हुँदैन। चूप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो। विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ,” ओलीले भने।
नेता तथा कार्यकर्तालाई घर घरमा पुग्न उनले आग्रह गरे। “हाम्रा सबै संगठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ। वैचारिक कामलाई उत्तिकै महत्त्व दिनुपर्छ,” उनले भने।
अध्यक्ष ओलीले पार्टीको एउटै नीतिमा अडिग भएर लाग्नुपर्नेमा जोड दिए। “पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नै पर्छ। लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन,” ओलीले थपे, “बहकाउमा लागेर होइन, एउटै नीतिमा अडिग भएर पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्नुपर्छ।”
पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई आग्रह गरे। एमालेलाई विभाजन गरेर वा सिध्याइयो भनेर खुशी मनाउ गर्नेहरू पश्चात्ताप गरिरहेको उनको भनाइ थियो।
एमाले बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा नयाँ राजनीतिक मार्गचित्र, एमाले र नेपाली कांग्रेससँगको गठबन्धनको आवश्यकता, औचित्य र अवसर, वर्तमान गठनबन्धनपछिका ६ महीना, बदलिंदो विश्व परिवेश र मुलुकको पराराष्ट्र नीति, स्थानीय तह उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माणलाई समेटिएको छ।
नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता र संकल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको प्रतिवेदनमा रहेको उनले बताए।
त्यस्तै, अर्थतन्त्रमा सुधार आएको, संक्रमणकालीन न्याय सम्बन्धी कानून पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथिति अन्त्य गरी बचतकर्तालाई न्याय दिइएको तथा अनियमिततामा संलग्नलाई सजाय गरिएको र विकास निर्माणले गति लिएको उनले बताए।
बैठकमा राजनीतिक प्रतिवेदनका साथै सांगठनिक कामको संक्षिप्त जानकारी, गत वैशाखमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछिका केन्द्रीय सचिवालय र पोलिटब्यूरो बैठकका निर्णय, केन्द्रीय आयोगका अध्यक्षहरूको सम्बोधन र समसामयिक विषयमा महासचिव शंकर पोखरेलले बैठकमा जानकारी गराएका थिए।
बैठकले पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू निरज आचार्य र विष्णु रिजाल रहेको ‘बहस नोट कमिटी’ तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरेको छ।