भारतबाट दुई लाख टन गहुँ आयात गर्न अनुमति
भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि फुकुवा गरेको छ।
भारतले नेपाललाई दुई लाख टन गहुँ निर्यातका लागि अनुमति दिएको हो। भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतले राष्ट्रिय सहकारी निर्यात लिमिटेड मार्फत नेपाललाई गहुँ दिन मन्जुरी जनाएको सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका छन्।
‘भारतले गहुँ निर्यातमा प्रतिबन्ध गरेको छ। तर हाम्रो (नेपाल सरकार)को अनुरोधमा भारतले दुई लाख टन गहुँ निर्यातको अनुमति दिएको हो,’ शर्माले उल्लेख गरेका छन्। भारतले सन् २०२२ देखि नै गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ।
भारतमा गहुँ र आटाको मूल्यवृद्धि नियन्त्रण तथा खाद्य सुरक्षालाई ध्यानमा दिएर गहुँ निर्यातमा प्रतिबन्ध लगाइएको थियो। संसारका ठूला गहुँ निर्यात गर्ने मुलुकहरू रूस र युक्रेन आपसी द्वन्द्वमा फसेपछि संसारभरि गहुँको मूल्य बढेको थियो।
यसअघि पनि भारतले नेपाललाई कोटा तोकेर गहुँ आयातको अनुमति दिएको थियो। सन् २०२३ मार्चसम्म ५० हजार टन गहुँ आयातका लागि अनुमति दिइएको थियो।
नेपालमा गहुँको उत्पादनले आन्तरिक माग थेग्दैन। वार्षिक करीब २१ लाख टन गहुँ उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ।