दुई सय युवालाई हिन्दू स्वयंसेवक संघको प्रशिक्षण
हिन्दू स्वयंसेवक संघले चार वटा प्रदेशका युवालाई विराटनगरमा हिन्दू धर्म सम्बन्धी प्रशिक्षण दिएको छ।
एक साताको प्रशिक्षणमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका १५७ जना प्रतिनिधि सहित २०० जनाले प्रशिक्षण लिएका छन्। शनिबार प्रशिक्षण समापन गर्दै पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले धर्म संरक्षणमा लाग्न सहभागीलाई आग्रह गरे। धर्म परिवर्तन गरिनुका सबल र दुर्बल पक्षलाई हेर्न सक्नुपर्ने पराजुलीको भनाइ थियो।
प्रशिक्षणमा सहभागी कोशी प्रदेशका पूर्व सांसद जयराम यादवले प्रशिक्षणबाट व्यक्तिगत चरित्र निर्माणमा ठूलो सहयोग पुगेको बताए। “नेपालमा हिन्दूलाई क्रिश्चियनमा परिवर्तन गर्न लागिएको छ, यसलाई रोक्न दलित र उत्पीडितलाई भेदभाव रोक्नुपर्छ,” प्रशिक्षणमा सिकेको ज्ञान यादवले सुनाए।
आयोजक हिन्दू स्वयंसेवक संघका राष्ट्रिय सहसचिव महेन्द्र साहका अनुसार संघको पद्धति, संगठन विस्तार, खेलकूद, नियमित व्यायाम, प्रार्थना, शिक्षा लगायत विषयमा प्रशिक्षण दिइएको छ। प्रशिक्षणले इमानदार, सक्षम र कर्मठ नागरिक निर्माणमा सहयोग गर्ने साहको भनाइ छ।
यसअघि संघले गत साउनमा सुनसरीको देवानगन्ज गाउँपालिकामा हिन्दू धर्म छाडेर गएका एक हजार ५०० जनालाई पुनः धर्ममा फर्काएर ‘गाउँ सुद्धयाइँ’ कार्यक्रम गरेको थियो। ठूलो संख्यामा हिन्दू धर्ममा फर्किएकाले ‘गाउँ सुद्धयाइँ’का लागि हवन गरिएको संघले जनाएको छ।
यसरी हिन्दू धर्ममा फर्कनेमा सबैभन्दा बढी मुसहर समुदाय थिए। थोरैको संख्यामा बातर र थारू पनि रहेको संघले जनाएको छ।
विश्व हिन्दू परिषद्ले ‘गाउँ सुध्याई’ का लागि गरेको धार्मिक सभामा पाँच ठाउँमा हवन कुण्ड बनाइएको थियो। हिन्दू धर्ममा फर्कनेहरूले हवनको नजीकै बसेर प्रायश्चित्त गरेका थिए।
हिन्दू धर्ममा ईश्वर, परमेश्वर सुनिरहेका सोझा मानिसलाई पिता परमेश्वरको आराधना गर्ने बताएर क्रिश्चियन बनाइएको संघका केन्द्रीय सहसचिव साहको आरोप छ। झुक्किएर धर्म परिवर्तन नगरून् भनेर बालबालिकालाई छात्रावासमा राखेर हिन्दू स्वयंसेवक संघले शिक्षा दिंदै आएको उनको भनाइ छ।
उनका अनुसार देशभर ११ वटा छात्रावास छन्। उनीहरूलाई पढाउन पशुपति शिक्षा मन्दिरहरू स्थापना गरिएका छन्। देशका २७ ठाउँमा यस्ता विद्यालय सञ्चालित छन्। विश्वका ६५ देशमा रहेको हिन्दू स्वयंसेवक संघ २०४८ सालदेखि नेपालमा सक्रिय छ।
केन्द्रीय सहसचिव साहका अनुसार धर्म परिवर्तन गराइन सक्ने भएकाले विद्यालय नभएका बस्तीमा संघले एक शिक्षक राखेर विद्यालय सञ्चालन गर्दै आएको छ। कोरोनाकालअघिसम्म देशभर यस्ता विद्यालय दुई हजार ४०० रहेकामा हाल आधा बन्द भइसकेका छन्।