प्रश्न हराएको शहर
बौद्धिक र क्रान्तिकारीको शहर भनेर चिनिने धरान पछिल्लो समय भने प्रश्न गर्दा गालीगलौज सुन्नुपर्ने मात्रै होइन, पक्राउ गरिने शहरका रूपमा परिणत हुँदै गएको छ।
झन्डै ५०० वर्ष लामो इतिहास जोडिएको धरानले हरेक वर्ष पुस २० मा ‘धरान दिवस’ मनाउँछ। आधुनिक धरानको विकासलाई आधार मानेर यस पटक १२४औं धरान दिवस मनाइएको छ।
स्थानीय सरकारले नाचगान सहितको रमाइलो मेला आयोजना गरेर धरान दिवस मनाइरहँदा मानव अधिकारका दृष्टिले धरान भने अग्रगमनतिर होइन, पश्चगमनतिर गइरहेको देखिन्छ। किनभने, स्थानीय सरकारलाई प्रश्न गरेकै आधारमा सर्वसाधारणदेखि कर्मचारी समेत पक्राउ परेका छन्। देश छाड्न लगाउनेदेखि ज्यान मार्नेसम्मका धम्की खेपेका छन्।
यस्ता क्रियाकलापमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) नै अगाडि छन्। कतिपय नगरवासीलाई त मेयर साम्पाङले नै पक्राउ गर्न लगाएका छन्।
प्रश्न गर्दा धरपकड
स्थानीय तह निर्वाचन जितेपछि साम्पाङले २०७९ जेठ १० मा मेयरको पदभार ग्रहण गरे। लगत्तै सरसफाइ र विभिन्न गतिविधिमा सक्रियता देखाएका उनले २०७९ जेठ १४ मा शनिबारका दिन समेत कार्यालय गएर बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्तासँग छलफल गरे। सहकारीमा डुबेको रकम फिर्ता गर्न सघाउने वचन दिए।
त्यसबीचमा मेयर साम्पाङले बराह सहकारीका सञ्चालकसँग पनि एक चरण छलफल गरे। छलफलपछि सहकारीपीडितलाई बचत फिर्ता हुने आश्वासन दिए। सहकारी संस्था स्थानीय सरकार मातहत पर्छन्।
उनले आश्वासन दिएको दुई महीनासम्म पनि बचत फिर्ता नभएपछि पीडितहरू साउन १५ मा उपमहानगरको कार्यालय पुगे। चुनावअघि पनि सहकारीको समस्या समाधान गर्ने वचन दिएका साम्पाङ त्यस दिन भने पीडितमाथि नै खनिए। उनले उल्टै प्रश्न गरे, ‘मलाई सोधेर बचत गरेको हो र?’
न्यायको आशा बोकेर मेयरसामु पुगेका पीडित उनको यस्तो अभिव्यक्तिपछि आक्रोशित बने। भनाभन बढ्दै जाँदा साम्पाङ विरुद्ध नाराबाजी भयो। भीडले मेयरको कार्यकक्षको झ्यालको सिसा समेत फुटायो।
त्यसपछि साम्पाङले सहकारीपीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता प्रदीप बास्तोलालाई प्रहरी लगाएर पक्राउ गराए। त्यो घटनापछि आन्दोलन नै सुस्ताएको सहकारीपीडित बताउँछन्। बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा फरार छन्। उक्त सहकारीमा सर्वसाधारणको १४ अर्ब रुपैयाँभन्दा बढी रकम डुबेको छ।
त्यस्तै, २०७९ चैत ३ मा साम्पाङले सेवाग्राही धरान-११ का सन्तोष लिम्बूलाई सामान्य विवादमा कार्यकक्षबाटै पक्राउ गराए। कोशी भू-आर्जन कार्यालयका पूर्व भू-आर्जन अधिकृत समेत रहेका लिम्बू सिफारिशका लागि उपमहानगरको कार्यालय पुगेका थिए।
धरान-११ स्थित गैरीगाउँमा खोलाले कटान गरेको थियो। तटबन्धका लागि जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय, इनरुवामा बजेट माग गर्न भनेर सिफारिशपत्र लिन उपमहानगर गएका थिए। तीन दिनअघि नै साम्पाङको टेबलमा सिफारिशपत्र पुगे पनि हस्ताक्षर नहुँदा काम रोकिएको थियो।
उनी मेयर साम्पाङलाई भेट्न चैत २ मा पनि उपमहानगर कार्यालय पुगेका थिए। दिनभर मेयरको कार्यकक्ष बाहिर पर्खिरहे पनि भेट्न नपाएको उनले सुनाएका थिए। अघिल्लो दिन भेट्न नपाएका लिम्बूले चैत ३ मा प्रतिनिधि पठाए। तर साम्पाङले ‘सम्बन्धित मान्छे खोइ?’ भनेर सिफारिश रोकेर राखे।
त्यसपछि उनी आफैं मेयरको कार्यकक्ष पुगे। उनले साम्पाङलाई प्रश्न गरे, “मेयरसाब, तपाईं त आफूलाई चुस्तदुरुस्त काम गर्ने मान्छे भन्नुहुन्छ। हामी सेवाग्राहीलाई किन दुःख दिनुभएको?”
तीन दिनदेखि सिफारिश रोक्नुको कारण सोधेपछि साम्पाङले आक्रोशित हुँदै भने, “बुझेर मात्र दिउँला, अहिले हुँदैन।”
साम्पाङले सिफारिश नदिएपछि लिम्बूले फेरि प्रश्न गरे, “राणाशासनको जस्तै व्यवहार गर्नुहुन्छ त, श्री ३ हो?”
त्यसपछि मेयर साम्पाङले नगर प्रहरी लगाएर लिम्बूलाई कार्यकक्ष बाहिर निकाले। त्यस लगत्तै प्रहरी बोलाएर पक्राउ गर्न लगाए। सिफारिश लिन आएका लिम्बूलाई प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय पुर्यायो। पछि धरानका उपमेयर आईन्द्रविक्रम बेघा र वडाध्यक्षहरूको टोली गएर लिम्बूलाई छुटायो।
त्यसको तीन महीनापछि फेरि मेयरको कार्यकक्षमा अर्को घटना भयो। २०८० असार ५ मा धरान-८ को हाम्रो टोल र सुनौलो घुम्ती टोलका आमाहरू धारामा पानी नआएको गुनासो लिएर मेयर साम्पाङलाई भेट्न गएका थिए। त्यसअघि उनीहरूले तीन पटक खानेपानी व्यवस्थापन बोर्डमा निवेदन दिएका थिए। बोर्डले समस्या समाधान नगरेपछि गुनासो सुनाउन मेयर साम्पाङकहाँ पुगेका थिए। तर साम्पाङले उनीहरूलाई कार्यकक्षबाटै बाहिर निकालिदिए।
साम्पाङले चुनावअघि नै धरानवासीलाई पानी खुवाउने नारा लगाएका थिए। चुनावपछि पनि पानीकै लागि चन्दा उठाइरहेका, पाइप तानिरहेका र पानी ल्याएको तस्वीर सामाजिक सञ्जालमा राख्दै आएका थिए। त्यही आसले मेयरको कार्यकक्ष पुगेका उनीहरूले समस्या सुनाउनै नपाएको बताउँछन्।
एक वर्षदेखि टोलमा पानी नआएको बताएपछि मेयर रिसाएको धरान-८, सुनौलो घुम्ती मार्गकी नम्रता गुरुङले त्यति वेलै सुनाएकी थिइन्। गुरुङले उपमहानगरमै सञ्चारकर्मीसँग भनेकी थिइन्, “मेयरले केही कुरा नसुनी कारबाही गर्छु भन्दै हामीलाई कार्यकक्षबाट बाहिर निकाले।”
मेयर साम्पाङलाई प्रश्न गरेकै आधारमा २०८० भदौ २२ मा धरान-१५ का अशोक लिम्बूलाई पक्राउ गरियो। त्यस दिन मेयर साम्पाङ र उनका समर्थक लामखुट्टेको लार्भा नष्ट गर्न धरान-१५, शिवगंगा बस्तीमा पुगेका थिए। विदेशमा हुँदा साम्पाङकै समर्थनमा सामाजिक सञ्जालमा लेख्ने गरेका लिम्बू दुई महीनाअघि मात्र घर आएका थिए। उनी बिरामी आमाको हेरचाह गरिरहेका थिए।
उनको छिमेकमा अपांगता भएका र बिरामी मान्छे सहयोग जुटाएर उपचार गरिरहेका थिए। उनीहरूको घरमा पुगेका साम्पाङ र उनका समर्थकले ‘किन सरसफाइ नगरेको?’ भन्दै हप्कीदप्की गरे।
अपांगता भएका र बिरामीसँग सरसफाइ नगरेको भनेर कड्किएको सुनेपछि लिम्बूलाई रिस उठ्यो। उनले मेयर साम्पाङलाई प्रश्न गरेका थिए, “बिरामी अपाङ्गको घरमा आएर क्यामेरा अगाडि काम गरे जस्तो देखाउनुहुन्छ। भित्र छटपटाइरहेको बिरामीलाई देख्नुभयो?”
त्यसपछि त मेयर साम्पाङले प्रहरी बोलाएर लिम्बूलाई पक्राउ गराए। केही बेरमै साम्पाङले सामाजिक सञ्जालमा लेखे, ‘बदमासलाई प्रहरी जिम्मा लगाइयो। स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई छाडिनेछैन। जय देश।’
अनाहकमा लिम्बू एक रात इलाका प्रहरी कार्यालयको थुनामा बसे। भोलिपल्ट साँझ धरान-१५ का वडाध्यक्ष नरेश इवारामले छुटाएका थिए। त्यस वेला लिम्बूले सञ्चारकर्मीसँग भनेका थिए, “अपांगता र बिरामी माथि मेयरको व्यवहार देखेर प्रश्न गरेको थिएँ। त्यति कारणले मलाई गालीगलौजको मुद्दा लगाएर जेल चलान गर्न खोजिएको थियो। मेयरको यस्तो व्यवहारले दुःख लाग्यो।”
त्यस्तै, २०८० माघ २५ मा नेपाल टेलिकमका कर्मचारी शिव धमला मेयर साम्पाङको निशानामा परे। धमलाले केही दिनअघि फेसबूकमा लेखेका थिए, ‘हामी कति मूर्ख, कहिले माओवादीले भाटा हानेर दिमाग खुस्केकालाई जिताउँछौं, कहिले विदेशी भएकालाई। अनि चुनाव पछि पछुताउँछौं।’
कसैको नाम उल्लेख नगरी लेखिएको भए पनि यो पोस्टबाट मेयर साम्पाङ आक्रोशित भए। धमलालाई आफ्नो कार्यकक्षमा बोलाएर साम्पाङले हकार्दै भने, “धरान छाडेर जा!”
साम्पाङ र उनका समर्थकले धमलालाई फेसबूकमा लेखेको विषयमा केरकार गरेका थिए। त्यसपछि नगर प्रहरी लगाएर लछारपछार गरिएको धमला बताउँछन्। “त्यति मात्र होइन, पक्राउ गर्न प्रहरी बोलाइएको थियो,” उनी सुनाउँछन्।
प्रहरी बोलाउन थालेपछि धमलाले धरान-१७ का वडाध्यक्ष एवं प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज)लाई सुटुक्क मेसेज गरे। तत्कालै मेयरको कार्यकक्ष पुगेका भट्टराईले प्रहरीबाट धमलालाई छुटाए।
यसैगरी, २०८१ असार १९ मा जिल्ला प्रहरी कार्यालयले नागरिक सुनुवाइ कार्यक्रम राखेको थियो। त्यस कार्यक्रममा प्रश्न गरेको विषयलाई लिएर मेयर साम्पाङले धरान-१४ की सञ्जिता धमलालाई असार २१ गते आफ्नो कार्यकक्षमा बोलाए। उनलाई हप्कीदप्की गरे। उनले प्रतिवाद गरेपछि कार्यकक्षबाट बाहिर निकाले।
प्रहरी बोलाएर धमलालाई पनि पक्राउ गर्न खोजिएको थियो। अन्य सञ्चारकर्मी आएर उनलाई जोगाए। धमला पनि सञ्चारकर्मी हुन्। त्यसको एक सातापछि साम्पाङका समर्थकले धमलालाई अस्पतालको लाइनमा बसेका वेला हातपात गरे।
यसरी प्रश्न सोधेका कारण स्थानीय सरकारका प्रमुखले नै पक्राउ गर्ने, गालीगलौज गर्ने घटना पटक पटक भइरहेका छन्। तर राज्यका निकायले उनलाई कानूनी दायरामा ल्याउन सकेका छैनन्।
मेयर भएपछि साम्पाङले आफूलाई जिम्मेवार बनाउन नसकेको नागरिक दबाब सञ्जाल, धरानका संयोजक डा. राजेन्द्र शर्मा बताउँछन्। सामाजिक अभियन्ताका रूपमा जस्तो व्यवहार गर्ने गरेका थिए, मेयर भएपछि पनि त्यही व्यवहार यथावत् राखेको शर्माको भनाइ छ। “मेयर साम्पाङका काममा टिप्पणी गर्दा उनका समर्थकले सामाजिक सञ्जालमा जेजस्ता गालीगलौज गर्छन्, ती शब्द हामी उच्चारण गर्न पनि सक्दैनौं। त्यही गाली र धम्कीको डरले मान्छेहरू डराउँछन्,” डा. शर्मा भन्छन्, “अभद्रताको पराकाष्ठा छ। कानून भए पनि उनीहरूलाई केही गर्न सकेको छैन।”
निरीह प्रशासन
मेयर साम्पाङ र उनका समर्थकका गतिविधि रोक्न स्थानीय प्रशासनले पनि सकेको छैन। साम्पाङमाथि प्रश्न गरेकै आधारमा नागरिकलाई पक्राउ गरेर थुन्न शुरूआतमा प्रहरीले नै सहयोग गरेको थियो। मेयरले फोन गरेको भरमा प्रहरीले नागरिकलाई थुन्न थालेपछि हौसिएका साम्पाङले पछि त आफ्नो अधिकार क्षेत्र नाघेर प्रहरीलाई नै निर्देशन दिन थाले। नटेरे सरुवा गर्ने धम्की समेत दिए।
आफ्नो निर्देशन नमानेपछि धरानका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्ललाई कारबाही गर्न भन्दै गृह मन्त्रालयलाई पत्र नै पठाए। २०८० भदौ २७ मा गृहलाई पठाएको पत्र फेसबूकमा राखे। पत्रमा ‘डीएसपी मल्लले स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाई केही गर्न नमान्ने’ गरेकाले सरुवा गर्न माग गरिएको थियो।
त्यसपछि आएका डीएसपी मानबहादुर राईले उनलाई सघाए। मेयर साम्पाङले भने अनुसार काम गर्न थालेपछि गृह मन्त्रालयले नै डीएसपी राईको सरुवा गर्यो।
साम्पाङले फोन गरेपछि डीएसपी राईले धरानकी सञ्जीता धमलालाई पक्राउ गर्न प्रहरी पठाए। प्रहरीले लछारपछार गरेर मेयरको कार्यकक्षबाट बाहिर निकाल्दा धमलालाई चोट लागेको थियो। त्यस विषयमा उजुरी दिंदा डीएसपी राईले दर्ता गर्न मानेनन्। त्यसपछि जिल्ला प्रहरी कार्यालय, सुनसरीले डीएसपी नवीनराज भण्डारीको नेतृत्वमा छानबिन समिति नै गठन गर्यो।
त्यस्तै, साम्पाङका समर्थकले इलाका प्रहरी कार्यालयको गेट तोडफोडको प्रयास गरे। उनीहरूलाई डीएसपी राईले कारबाही नगरेपछि जिल्ला प्रहरी कार्यालयको टोलीले घटनामा संलग्नलाई पक्राउ गरेर इनरुवा लगेको थियो। उनीहरूसँगको बयानमा पक्राउ गर्न लागिएका व्यक्तिहरूबारे प्रहरीबाटै साम्पाङलाई सूचना पुग्ने गरेको खुलेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयले २०८१ साउन १५ मा प्रहरी हवल्दारद्वय जीवन राई र हेमराज सुवेदीलाई कारबाहीस्वरूप सरुवा गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार हवल्दार राईले सामाजिक सञ्जालमा छद्मनाम प्रयोग गरेर साम्पाङको समर्थनमा लेख्ने र अरूलाई गाली गर्ने गरेको पाइएको थियो। त्यस्तै, धमलालाई हातपात गर्ने प्रहरी सहायक हवल्दार ममता कापट र प्रहरी जवान निशा खड्का पनि आन्तरिक कारबाहीमा परेको स्थानीय सञ्चारमाध्यमले लेखेका थिए।
यसरी विवादमा परेका डीएसपी राई धरान आएको चार महीना नबित्दै इलाम सरुवा भए। उनको ठाउँमा इलामका डीएसपी प्रकाश जवेगुलाई सरुवा गरिएको थियो।
साम्पाङले सामाजिक सञ्जाल मार्फत डीएसपी, एसएसपी, प्रमुख जिल्ला अधिकारीदेखि गृहमन्त्री, प्रधानमन्त्रीलाई समेत गालीगलौज गर्ने गरेका छन्। जे गर्दा पनि कसैले केही नगर्ने भएपछि प्रश्न उठाउनेहरूलाई धम्क्याउन, पक्राउ गराउन साहस आएको छ।
मेयर साम्पाङका क्रियाकलापप्रति उपमेयर आईन्द्रविक्रम बेघा समेत सन्तुष्ट छैनन्। पुस १६ मा धरानमा आयोजित नेपाल पत्रकार महासंघ, सुनसरीको पदस्थापन कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग उपमेयर बेघाले असन्तुष्टि पोखे। “धरानका नागरिक, पत्रकारदेखि म उपमेयरलाई समेत गालीगलौज, धम्कीदेखि श्रद्धाञ्जली अर्पण गरिएको छ। तस्वीर बिगारेर बदनाम गरिएको छ, तर प्रहरी प्रशासनमा उजुरी गर्यो, कारबाही हुँदैन,” उपमेयर बेघाको प्रश्न थियो, “यो अवस्था कहिलेसम्म रहने? हामी कहिलेसम्म पीडित भइरहने?”
धरानको धरोहर
देशमा राणाशासन रहेकै वेला २००४ सालमा धरानमा सार्वजनिक पुस्तकालय स्थापना भएका थिए। त्यसअघि २००३ सालदेखि नै विद्यालय खुलेका थिए। साहित्यिक, सांस्कृतिक तथा वैचारिक जमघटले धरानलाई ‘बौद्धिकको शहर’ का रूपमा चिनाएको थियो। पछिल्लो समयमा भने धरानमा बौद्धिक विमर्श हुन छाडेको छ।
त्यस्तै, २००४ सालमै राणा विरोधी जुलूस निस्किएको थियो, धरानमा। त्यसपछि पनि देशका हरेक ठूला राजनीतिक परिवर्तनमा धरान आन्दोलित हुँदै आएको थियो। २००७ सालदेखि २०१७, २०३६ र २०४६ सालमा धरानवासीले पनि परिवर्तनका लागि आवाज उठाएका थिए।
अझ राजा ज्ञानेन्द्रको शाही ‘कू’ विरुद्ध धरान सडकमा उत्रिएको थियो। नागरिक समाजले सडकमा आन्दोलन तताएको थियो। २०६२/६३ सालको जनआन्दोलनमा पनि अभिव्यक्ति स्वतन्त्रता तथा मौलिक हकका लागि आन्दोलित भएको थियो, धरान।
कुनै समय राजालाई कालो झन्डा देखाएको र लोकतन्त्रका लागि लडेको धरानमा अहिले भने चूपचाप छ। राजनीतिक दलका नेता र नागरिक समाजका अगुवा पनि खुलेर बोल्न सकिराखेका छैनन्। मेयरका गलत कामबारे बोल्दा आफूमाथि नै गालीगलौज र आक्रमणसम्म हुने डरले अधिकांश चूपचाप छन्।
गालीगलौजको डरले सबै चूप लागेको नागरिक दबाब समूहका संयोजक शर्मा बताउँछन्। “नागरिक, पत्रकार लगायतलाई तथानाम गाली गर्दा, पक्राउ गराउँदा राजनीति दलहरूले शुरू शुरूमा दबाब पनि दिए। बैठक बहिष्कार गर्ने जस्ता काम गरिरहेका थिए। तर त्यसबाट पनि थाकेर उनीहरू सानातिना कुरा भन्दै पन्छाउन थाले,” शर्मा भन्छन्।
मेयर साम्पाङ र उनका प्रतिनिधिहरूसँग यसबारे कुराकानी गर्न र प्रतिक्रिया लिन पटक पटक कोसिस गरेका थियौं। उनीहरूले बोल्नै मानेनन्। त्यसपछि धरान उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज)लाई सम्पर्क गरेका थियौं। प्रवक्ता भट्टराई पनि मेयर साम्पाङलाई सुझाव दिए पनि नमान्ने गरेको बताउँछन्। “उहाँलाई व्यक्तिगत र संस्थागत रूपमा पनि पटक पटक नागरिकलाई गाली नगर्न, विना कसूर पक्राउ नगर्न सुझाव दिएका छौं, तर उहाँ सुझाव लिनुहुन्न,” भट्टराई भन्छन्।
उपहानगरको कार्यपालिका बैठकमा पनि पटक पटक यस विषयमा कुरा उठेको उनी बताउँछन्। “नेतृत्व गर्ने मान्छेले प्रशंसा मात्र होइन, आलोचना पनि सहनुपर्छ। तर उहाँ आलोचना पचाउन सक्नुहुन्न,” प्रवक्ता भट्टराई भन्छन्, “आफ्नो आलोचना गर्ने विरुद्ध समर्थकलाई गाली गर्न लगाउनुहुन्छ। यो गैरराजनीतिक क्रियाकलाप हो।”