लुम्बिनी परिसरभित्र फोहोर फाल्दै स्थानीय
स्थानीय सरकारले फोहोर संकलन गर्न छोडेपछि स्थानीय बासिन्दा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रभित्र फोहोर फालिरहेका छन्।
विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनी अवलोकन गर्न संसारभरका मानिस आउँछन्। लुम्बिनी क्षेत्रभित्र विभिन्न देशले आआफ्नो कला, संस्कृति झल्कने गुम्बा पनि बनाएका छन्। मायादेवी मन्दिर लगायतको अवलोकन गर्न दैनिक सयौं पर्यटक लुम्बिनी क्षेत्रको भ्रमण गर्छन्।
तर लुम्बिनी परिसरभित्र प्रवेश गर्ने मुख्य द्वारमै फोहोरको डंगुर लागेको छ। प्रवेश द्वार नं. ५ को दायाँबायाँ फोहोरैफोहोर छ। जसले गर्दा पर्यटकहरू नाकमुख थुनेर लुम्बिनी परिसरभित्र प्रवेश गर्छन्। प्रवेशद्वारको वरिपरि फूटपाथमा पनि फोहोर थुप्रिएको छ।
पाँच महीनादेखि सरसफाइ नहुँदा लुम्बिनी क्षेत्रमा फोहोर थुप्रिएको स्थानीय बासिन्दा बताउँछन्। स्थानीय सरकारले फोहोर संकलन गरेको छैन। जसले गर्दा स्थानीय बासिन्दा पनि लुम्बिनी क्षेत्रभित्रै फोहोर फाल्दै आएका छन्।
स्थानीय सरकार र लुम्बिनी विकास कोषको बेवास्ताले फोहोर थुप्रिएको स्थानीय होटल व्यवसायी प्रदीप भट्टराई बताउँछन्। फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको भए पनि वास्ता नगरेको भट्टराईको गुनासो छ।
“पहिला पहिला नगरपालिकाले फोहोर उठाउँथ्यो। अहिले त फोहोर नउठाएको धेरै भयो,” उनी भन्छन्, “बजार क्षेत्रको फोहोर व्यवस्थापन गर्न नगरपालिकालाई धेरै पटक भनेका पनि हौं, तर सुनुवाइ भएको छैन।”
स्थानीय सरकारले फोहोर व्यवस्थापन नगरेपछि स्थानीय बासिन्दाले पनि जथाभावी फोहोर फाल्न थालेको उनको भनाइ छ। स्थानीय सरकारपछि लुम्बिनी क्षेत्र सफा राख्ने लुम्बिनी विकास कोषको जिम्मेवारी हो। तर कोषले पनि वास्ता नगरेको उनको भनाइ छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दीन मुसलमान फोहोर व्यवस्थापनको प्रयास भइरहेको प्रतिक्रिया दिन्छन्। अहिले केही समस्या भएर फोहोर देखिएको भए पनि व्यवस्थापको प्रयास भइरहेको उनको भनाइ छ। “अबको एक महीनाभित्र फोहोर व्यवस्थापन हुन्छ,” मेयर मुसलमान भन्छन्, “फोहोर संकलनका लागि ठाउँ ठाउँमा कन्टेनर वा ड्रम राख्ने तयारी गर्दै छौं।”