एफ-वान सफ्टको सिस्टम ह्याक गरेर साढे तीन करोड चोरी
ब्यांक तथा वित्तीय संस्थाहरूलाई सफ्टवेयर तथा प्रविधि बनाएर बेच्ने गरेको एफ-वान सफ्ट इन्टरन्याशनल प्रालिकै ब्यांक खातामा भएको साढे तीन करोड रुपैयाँ चोरी भएको छ।
ह्याकरले ब्यांकिङ प्रणालीमा अनधिकृत पहुँच बनाएर एफ-वान सफ्टको खाताबाट रकम चोरेको हो। दरबारमार्गस्थित सिटिजन ब्यांकमा खोलिएको एफ-वान सफ्टको खातामा रहेको रकम ब्यांकको ‘डिजिटल सिस्टम’ सम्म अनधिकृत पहुँच बनाएर चोरी भएको पाइएको छ। स्मरणीय रहोस्, सिटिजन ब्यांकको ‘सफ्टवेयर’ एफ-वान सफ्ट कम्पनीले नै बनाएको हो।
गत असोज १५ देखि १८ गतेबीचमा यो रकम चोरिएको भन्दै एफ-वान सफ्टले नेपाल प्रहरीको साइबर ब्यूरोमा असोज २० गते जाहेरी दिएको थियो। प्रहरीले घटनामा संलग्न नौ जनालाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। १५ जना अझै फरार छन्।
पक्राउ परेका र फरार सबै जना ह्याकरले चोरेको रकम लैजान प्रयोग गरिएका ब्यांक खातावाला मात्रै छन्। ह्याकरसम्म पुग्न भने सकिएको छैन। “दोस्रो तहमा ५०० वटा ब्यांक खाता एवं डिजिटल वालेट प्रयोग भएको अनुसन्धानबाट खुलेको छ,” साइबर ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) दीपकप्रसाद अवस्थी भन्छन्, “तर ती खाताबाट रकम कहाँ गयो भनेर हामीले अझै केलाउन सकेका छैनौं।” यसलाई ब्यूरोले डरलाग्दो ह्याकिङ मानेको पनि एसपी अवस्थी बताउँछन्।
चोरिएको रकम दोस्रो तहमा प्रयोग भएका ब्यांक खाता एवं वालेटमा रकमान्तर भएको खुले पनि उक्त पैसा ती खातामै रहेको वा अन्यत्र पुगिसक्यो भन्ने प्रहरीले खुलाउन सकेको छैन। यद्यपि त्यसरी प्रयोग भएका खाता रोक्का भने गरिएको अदालतमा दायर अभियोगपत्रमा छ।
पक्राउ परेका र फरारमध्ये अधिकांश १९ देखि २४ वर्ष उमेरका छन्। दुई जना मात्रै त्यसभन्दा बढी उमेरका छन्। पक्राउ परेकामध्ये अधिकांशले आफ्नो टेलिग्राम अकाउन्टमा ‘घरमै बसीबसी पैसा कमाऔं’ भन्ने आशयको सन्देश आएपछि त्यहाँ जोडिएको र त्यसपछि ब्यांक खाता मागेर त्यसमा रकम आएको बताएका छन्।
यसरी आएको रकम ह्याकरले भनेको खाता, वालेटमा पठाएको पनि उनीहरूले बताएका छन्। यस बापत ह्याकरले केही रकम भने खातावालाकै खातामा पारिश्रमिकका रूपमा छोडिदिएको भेटिएको अभियोगपत्रमा छ। प्रहरी अनुसन्धान ह्याकरसम्म पुग्न सकेको देखिंदैन।
एफ-वान सफ्ट ब्यांकहरूमा डिजिटल वित्तीय सेवा दिने प्रमुख कम्पनी हो। कम्पनीको वेबसाइटमा लेखिए अनुसार अहिलेसम्म ६९ भन्दा धेरै ब्यांक तथा वित्तीय संस्थामा एफ-वान सफ्टको प्रविधि एवं सफ्टवेयर प्रयोग भइरहेको छ। यो कम्पनी आफूलाई नेपालकै पहिलो ‘अनलाइन पेमेन्ट गेटवे’ मान्दछ र डिजिटल वालेट विकास गरेको दाबी गर्छ। ईसेवा, फोनपे जस्ता स्थापित डिजिटल पेमेन्ट सफ्टवेयर एफ-वान सफ्टकै हुन्।
यति धेरै ब्यांक तथा वित्तीय संस्थामा प्रविधि एवं सफ्टवेयर राख्ने कम्पनीकै ब्यांकिङ प्रणाली ह्याक हुँदा नेपालको ब्यांक एवं वित्तीय संस्थामा राखिएको रकम कति सुरक्षित छ भन्ने प्रश्न उब्जिएको छ। अनलाइनबाट मात्रै ५० करोड रुपैयाँ ठगी भएको भन्दै ब्यूरोमा विभिन्न उजुरी परेको एसपी अवस्थी बताउँछन्।
यसमध्ये ब्यांकिङ प्रणालीमा अनधिकृत पहुँच बनाएका अरू उजुरी पनि रहेको उनी बताउँछन्। “हाम्रो डिजिटल कारोबार एकदमै जोखिममा रहेको हामीले नजीकबाट देखिरहेका छौं,” उनी भन्छन्, “तर जनशक्ति नभएकाले गहिरोसँग अनुसन्धान गर्न सकिएको छैन।”