‘मय लब म्हि’ लाई सिक्लेसी रेगा
मन पर्ने मान्छेका लागि के बनाउनुहुन्छ? सिक्लेसका आमाहरू भने वर्षौंदेखि ‘मय लब म्हि’ का लागि सिक्लेसी रेगा बुन्दै आएका छन्।
अन्नपूर्णको काखैमा रहेको सिक्लेस गाउँस्थित सभाथर टोलकी ४१ वर्षीया जितकुमारी गुरुङ आँगनमा अल्लोबाट निस्किएको धागोले रेगा बुन्दै छिन्। दैनिकीबाट फुर्सद मिल्ने बित्तिकै जितकुमारी कम्मरी लिएर रेगा बुन्न आँगनमा बसिहाल्छिन्।
हिमाल हेर्दै उनले अहिलेसम्म कति रेगा बुनिन्, हिसाबै छैन। कहिलेदेखि रेगा बुन्न थालिन्, त्यो पनि याद छैन। घरमा रहेका पुरुषका लागि महिलाले रेगा बुन्ने चलन पहिलेदेखिकै हो। रेगालाई नेपालीमा भाङ्दा भनिन्छ। अगाडिबाट दुई हात छिराएर पहिरिने रेगा छड्के पारेर पिठ्युँमा बस्छ।
जितकुमारीले सानै छँदा आमाले रेगा बुनेको देखिन्। आमाबाटै बुन्न सिकिन् पनि। केही बेर गम्दै उनी भन्छिन्, “आमाहरूलाई सानैबाट हेर्दाहेर्दै सिकें।”
यस वर्ष उनले काटेको १७ मुठा अल्लोबाट राम्रो धागो निस्किएको छ। त्यो धागोबाट ६ वटा राम्रो रेगा बन्ने आश गरेकी छन्।
पर्यटकीय नगरी पोखराबाट ४१ किलोमिटर परको गुरुङ समुदायको बसोबास रहेको गाउँ सिक्लेसमा पुसको महीना शुरू भएसँगै स्थानीय बासिन्दा न्हीयि पिबामा व्यस्त छन्। गुरुङ भाषामा अल्लो काट्न जानुलाई न्हीयि पिबा भनिन्छ।
उहिल्यैदेखि बसेको गाउँको थिति अनुसार आआफ्नै टोलले तोकिएको समय र ठाउँमा अल्लो टिपेर ल्याउँछन्। अल्लो सिस्नुकै एक प्रकार हो। अल्लोलाई पखालेर, सुकाएर, पकाएर, लामो प्रक्रिया पार गरेपछि निस्कने रेसाबाट धागो बनाइन्छ। त्यही धागोबाट रेगा बुनिन्छ। घरको दैनिक कामकाजबाट निकालेको फुर्सदमा सिक्लेसका आमाहरू रेगा बुन्न शुरू गर्छन्।
रेसादार वनस्पति अल्लोका बोक्राबाट रेसा निकालेर धागो बनाइन्छ। त्यही धागोबाट कपडा बुन्ने गरिन्छ। आदिवासी जनजाति समुदायले परम्परागत रूपमै अल्लोबाट रेगा, झोला, टोपी लगायत सामग्री बनाउँदै आएको छ।
उहिलेका दुःख
सिक्लेसको धप्राङथर टोलकी ६६ वर्षीया बुद्धिमाया गुरुङको घरमा अहिले पुवा (स्थानीय बासिन्दाले अल्लोलाई पुवा पनि भन्छन्) सुकाइएको छ। यो पुवा भने असोजमा काटिएको हो।
घुँडा दुख्ने समस्याले सताएपछि यस वर्षको पुसमा बुद्धिमाया अल्लो काट्न जान सकिनन्। “चिसो छ, माथि जाँदा यो घुँडाले झन् बेस्सरी सताउँछ। त्यही भएर गइनँ,” पिंढीमा बसेर घुँडा समाउँदै उनी भन्छिन्।
पहिले दुई-तीन दिनको वास बसेर माथि लेकबाट अल्लोका मुठा बोकेर ल्याउनुपर्थ्यो। लगातारको हिंडाइले हातखुट्टा लगायत पूरै शरीर दुख्थ्यो। अल्लोले बिझाएर बोक्न अप्ठ्यारो हुने गरेको बुद्धिमाया सम्झिन्छिन्। दुःख गरेर लेकबाट अल्लो ल्याएको उनलाई हिजै जस्तो लाग्छ।
अहिले भने गाउँ नजीकैका वनमा अल्लो पाइन्छ। “धेरै भइसक्यो, माथि नगएको। अहिले त सजिलोसँग पुवा काट्न सक्छ। पहिले त लेकमै जानुपर्थ्यो,” उनी भन्छिन्।
बुद्धिमायाका अनुसार असार-साउनमा अल्लो कलिलो हुन्छ। मंसीर महीनामा काट्न हुन्न भन्ने मान्यता छ। त्यसैले पुसमा काट्ने गरिन्छ। सिक्लेस गाउँकै हर्पुथर टोलकी ६५ वर्षीया शिरसुब्बा गुरुङ पुराना दिन सम्झिंदै भन्छिन्, “कस्तो आत्थु आत्थु गर्दै पुवा टिप्नुपर्थ्यो। वनमा गाह्रो हुन्थ्यो।”
पुसको चिसो। झन् लेकमा हिउँ पर्थ्यो। हिउँ पर्दा अल्लो टिप्न सकस हुने गरेको स्थानीय नन्दकुमारी गुरुङको अनुभव छ। उनी घरबाट बाहिर जाँदा अहिले पनि रेगा लगाउँछिन्। आफैंले बुनेको रेगामा भेटिएकी गुरुङ भन्छिन्, “उहिले त दुःख हुन्थ्यो, अहिले पुवा नजीकै पाउन थालेपछि सजिलो छ।”
अल्लोबाट दुई थरी रेसा निस्किन्छन्। नरम र राम्रो रेसा निस्किएमा त्यसबाट बुनेको रेगा पुरुषलाई हुन्थ्यो। खस्रो धागो निस्किएमा त्यसबाट बुनेको रेगा महिला आफैंले प्रयोग गर्थे। अहिले पनि त्यस्तै प्रचलन छ। विशेषतः वनपाखा जाँदा सामान बोक्न सजिलो हुने भएकाले महिला रेगा लगाएर हिंड्छन्।
अल्लोबाट रेगासम्मको यात्रा
अल्लोबाट रेगा बनाउने प्रक्रिया लामो र झन्झटिलो पनि छ। असोज-कात्तिकपछि बीउ पाकेर झरेको अल्लो काटेर ल्याइन्छ। त्यसलाई खरानी हालेर पकाइन्छ।
अल्लो पाकेपछि खरानीलाई पानीले पखालेर ठटाइन्छ। बोक्रा फाल्दै गएपछि राम्रो बन्दै जान्छ। धोएर सफा गरिएको अल्लोलाई भुस मिसाएर घाममा सुकाइन्छ। त्यसले धागोलाई नरम र सेतो बनाउँछ।
अल्लो सुकेपछि कुटेर भुस फालिन्छ। फेरि सुकाएपछि रेसा छुट्याउँदै लगिन्छ। ती रेसालाई चर्खामा बेरेर धागो कात्ने गरिन्छ। कातेको धागोलाई पीठोमा पकाएर फेरि घाममा सुकाइन्छ। त्यसपछि मात्रै तान हालेर आवश्यकता अनुसार बुन्न शुरू गरिन्छ।
व्यावसायिक प्रवर्द्धनको तयारी
उहिले पोशाकका रूपमा रेगा लगाउनै पर्ने बाध्यता थियो। त्यसैले प्रायः हरेक घरमा अनिवार्य रेगा बुनिन्थ्यो र लगाइन्थ्यो। अहिले भने यसकोे प्रयोग विशेष चाडपर्वमा गरिन्छ। त्यसकारण सिक्लेसका आमाहरू घरका सदस्यलाई पुगेपछि बचेको रेगा बिक्री पनि गर्छन्।
अहिले एउटा रेगा पाँच हजार ५०० रुपैयाँसम्म बिक्री हुने गरेको छ। सिक्लेसका प्रायः घरमा रेगा बुन्ने गरिन्छ। व्यावसायिक रूपमा भने फाट्टफुट्ट बिक्री गरेर आर्थिक उपार्जन पनि हुने गरेको छ।
अब रेगाको व्यावसायिक उत्पादन र बिक्री गर्ने योजना बनाएको सिक्लेस रहेको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङ बताउँछन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँगको समन्वयमा हस्तकलाको सामग्रीलाई ब्रान्डिङ गरेर व्यावसायिकतातर्फ ढाल्ने प्रयास भइरहेको गुरुङ बताउँछन्।
रेगाको व्यावसायिक उत्पादनका लागि दातृ निकायसँग पनि छलफल भइरहेको छ। केही साताअघि नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसन सिक्लेस पुगेका थिए। उनको भ्रमणका दौरान रेगाको व्यावसायिक उत्पादन गर्ने विषयमा छलफल भएको वडाध्यक्ष गुरुङ सुनाउँछन्।
भविष्यको चिन्ता
सिक्लेसमा हिजो र आजको पुस्तालाई रेगा बुन्ने प्रक्रियाबारे थाहा छ। तर भावी पुस्तालाई रेगा बुन्न नआउने पो हो कि भन्ने चिन्ता पनि कायमै छ। सभाथरकी जितकुमारी भन्छिन्, “मेरो उमेरसम्मका मान्छेले त बुन्ने गरेका छन्। तर अब हाम्रा सन्तानले त गर्दैनन् होला।”
आदिवासी जनजाति समुदायको परम्परागत ज्ञान रेगा बुन्ने सीप हराउँदै जाने हो कि भन्ने चिन्ता सिक्लेसी आमाहरूलाई छ। नयाँ पुस्ताले रेगा लगाउनै छोडेको उनीहरू सुनाउँछन्। हर्पुथरकी शिरसुब्बा भन्छिन्, “अहिलेका मान्छेले त कहाँ गर्नु यस्तो दुःख! अब पुवा त चिन्दैनन्।”
सिक्लेसी आमाहरूले आफ्ना श्रीमान्, छोरा र नातिका लागि मायाले रेगा बुनिदिन्छन्। आफूले बनाएको रेगालाई ‘मय लब म्हि’ ले लगाएको देख्दा खुशी लाग्ने गरेको बुद्धिमाया सुनाउँछिन्। माया गर्ने मान्छेलाई गुरुङ भाषामा ‘मय लब म्हि’ भन्ने गरिन्छ।
बुद्धिमायाले बुनिदिएको नयाँ रेगा लगाएर उनका पति इच्छाबहादुर गुरुङ आँगनमा बसिरहेका छन्। उनी भने अर्को रेगा बुन्दै छिन्। “मैले बुनेकै रेगा हो। फ (श्रीमान्)ले रेगा लगाएको देख्दा आफूले गरेको दुःख सबै बिर्सन्छ नि! खुशी लाग्छ,” श्रीमान्तिर हेर्दै बुद्धिमाया भन्छिन्, “आफूले सकुन्जेल रेगा किनेर लगाइदिन नपरोस्।”