धानको उत्पादन बढ्यो
समयमै मनसुन भित्रिंदा रोपाइँ गर्न सजिलो भएकाले यस वर्ष धानको उत्पादन बढेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान बालीको उत्पादन अनुमान गरेभन्दा बढी भएको जनाएको छ। धानको उत्पादन ४.०४ प्रतिशतले बढेको मन्त्रालयकी प्रवक्ता डा. मतिना जोशी वैद्यले बताइन्।
मन्त्रालयले यस वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान फलेको जनाएको छ। यो गत वर्षको तुलनामा ४.०४ प्रतिशतले बढी हो।
यस वर्ष धान बाली लगाएको क्षेत्रफल गत वर्षको तुलनामा कम भए पनि उत्पादकत्व वृद्धि भएको प्रवक्ता वैद्यले जनाएकी छन्। १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा वर्षे र चैते दुवै धान लगाइएको मन्त्रालयको अनुमान छ। यो गत वर्षको तुलनामा १.२८ प्रतिशत कम हो।
त्यस्तै, औसत उत्पादकत्व पनि बढेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘औसत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रतिहेक्टर पुगी हालसम्मको उच्च बिन्दु कायम हुन पुगेको छ।’ चैते र वर्षे दुवै धानको उत्पादकत्व र उत्पादन बढेको जनाइएको छ।
त्यस्तै, यस वर्ष चार वटा प्रदेशमा धान उत्पादन बढेको छ भने तीन प्रदेशमा घटेको छ। मन्त्रालयका अनुसार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धानको उत्पादन बढेको छ। गण्डकी, बागमती र कर्णाली प्रदेशमा उत्पादन घटेको छ। रुकुम पश्चिममा गत वर्षभन्दा कम क्षेत्रफलमा धान बाली लगाइएकाले कर्णालीमा धानको उत्पादन घटेको मन्त्रालयको विश्लेषण छ।
यसैगरी, नवलपरासी (पूर्व)को केही भागमा वर्षे धानमा बाला नलाग्ने समस्या देखिंदा उत्पादन कम भएको र लमजुङमा धान बाली लगाएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा गण्डकीमा उत्पादन कम भएको मन्त्रालयको ठहर छ।
मनसुन चाँडै भित्रिएको र पर्याप्त पानी परेकाले धान उत्पादन बढेको मन्त्रालयको विश्लेषण छ। यससँगै रासायनिक मल र उन्नत जातको धानको आयात बढेकाले पनि उत्पादन बढ्न सहयोग पुगेको जनाइएको छ।
प्रदेश अनुसार धानको उत्पादन विवरण