लिपुलेकबारे भारत र चीनले गरेको सहमतिको विरोधमा उत्रिन मोर्चाको अपील
भारत र चीनले लिपुलेकका विषयमा गरेको सहमतिको विरोधमा उत्रिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले अपील गरेको छ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी चीन र भारतले अन्यायपूर्ण तरीकाले सहमति गरेको जनाएका छन्। दुवै देशले नेपालको सार्मभौमसत्ताको उपेक्षा गरेको मोर्चाको ठहर छ।
मोर्चाले भनेको छ, ‘कैलास मानसरोवर यात्रा खुला गर्ने सहमतिले चीन र इन्डिया दुवै मुलुकले नेपालको सार्वभौमसत्ताको चरम उपेक्षा गरेको स्पष्ट भएको छ। उक्त सहमतिमा लिपुलेकको नाम नलिएको भए पनि कैलास मानसरोवर यात्रा लिपुलेकबाटै हुने स्पष्ट छ।’
यसबारे नेपाल सरकारले विरोध नगरेकामा पनि मोर्चाले असन्तुष्टि जनाएको छ। आफ्नो देशको भूभाग अरू देशले अतिक्रमण गर्दा नेपाल सरकारले तत्काल विरोध गर्नुपर्ने मोर्चाको भनाइ छ।
तर सरकारले विरोध नजनाएकाले नागरिक तहबाट दबाब दिनुपर्ने मोर्चाले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यति संवेदनशील विषयमा सरकार जिम्मेवार नदेखिएपछि नागरिक तहबाट चीन र इन्डियाले गरेको सहमति विरुद्ध आवाज उठाउन जरूरी देखिएको छ।’
भारत र चीनले नेपालको लिपुलेक भएर मानसरोवर यात्रा खुलाउने सहमति गरेका थिए। तर यस विषयमा नेपाललाई जानकारी दिइएको थिएन।
यसको विरोध गर्दै मोर्चाले भनेको छ, ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा सबै नेपालीमा चीन र इन्डियाले नेपालको लिपुलेकमाथि गरेको अन्यायपूर्ण र अवैध सहमतिका विरुद्ध सडकमा निस्किएर विरोध जनाउन हार्दिक अपील गर्दछ।’
यो पनि पढ्नुहोस् : नेपाललाई नसोधी लिपुलेक प्रयोगमा भारत र चीनबीच सहमति