बैकिनी रुँदै बयलपाटामा, बैकन रुँदै बम्बईमा
तारानाथ शर्माको संस्मरण ‘बैकिनीका आँसुले डुब्छ बयलपाटा’ छापिएको ५५ वर्ष भयो। अहिले पनि बैकिनीहरूका आँसुुले बयलपाटाहरू डुबेकै छन्। बैकनहरूको बम्बई तन्केर रूस पुग्दा सिंगो देश नै बैकिनीहरूको बयलपाटा हुँदै छ।
निधारमा रातो टीका लगाएका आठ जना युवाको पछिपछि महिला, बालबालिका र वृद्धवृद्धा हस्याङफस्याङ गर्दै दौडिरहेका थिए। धूलो उडाउँदै गुडिरहेको बोलेरोले घचक्क ब्रेक लगायो। त्यसपछि चालकले सहचालकलाई आदेश दिए, ‘फटाफट राख्। नअटेकालाई पछाडि झोलामाथि बसाल्।’
केही युवा बिछोडको पीडा सहन नसकी रहर (रक्सीको नाउँ) किनेर खाँदै थिए, केही युवा रुवाबासीबीच आँसुले भिजेको मुहार छोप्दै थिए। ...परिवारसँग जीवन बिताउन नपाएका युवाहरूले धीत मरुन्जेल आफन्तसँग बिदा हुन समेत पाएनन्। छोराछोरी भुइँमा राखी आमाहरू डाँको छाडेर रुन थाले (मोहन शाही, ‘आफन्तको बिदाइमा बर्सेनि बग्छ आँसुको भेल’, कान्तिपुर, २०८१ पुस १०)।
धूलो उडाउँदै कालापारे बोकेर बोलेरो गुड्यो। काम र माम खोजमा कालापार (भारत) जाने पति कृष्णलाई बिदा गर्न गएकी ३० वर्षीया विमला नेपाली एकातिर भक्कानिन थालिन्, अर्कातिर काखमा डेढ वर्षीय छोरो। विमलाहरू पतिसँग धीत मरुन्जेल रुन नपाउँदै कृष्णहरू लिएर गाडीले नेटो काटिसकेको थियो। पाँच सन्तानकी आमा विमला भक्कानिइरहेको गराजु (बोगटान फुडसिल गाउँपालिका-२)बाट गुडेको गाडी डोटी सदरमुकाम सिलगढी पुग्न नौ घण्टा तय गर्नुपर्थ्यो।
समाचारमा शाहीले स्थानीय शिक्षक लोकबहादुर बिठारीलाई उद्धृत गरेका थिए, ‘एक महीनाभित्र गराजुका ६० घरधुरीबाट १०७ युवा भारत पसे, सम्भवतः आजको यो टोली अन्तिम हो। अब वृद्धवृद्धा, महिला र बालबालिका मात्र बचे।’
पहिलेको मध्य तथा सुदूरपश्चिमाञ्जल (अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश) पहाडी भेगबाट तिहार सकिए लगत्तै घुर्रो (बस्तुभाउलाई हिउँदमा खुवाउने भीरको खरघाँस) काट्थे। घुर्रो काटेर कृष्णहरूको कालापार क्याराभान लाग्थ्यो/लाग्छ।
कृष्णहरूको लर्कोसँग लर्बरिंदै सात वर्षअघि डोटीको छिमेकी जिल्ला बैतडीको पुर्चुडी पुगेको यात्राले सम्झायो। त्यसै वेला त थियो, महाकालीका कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र सेतीका कैलाली, अछाम, बझाङ, बाजुरा र डोटी डुलेको। अछाम बेलखेतबाट कर्णालीका कालीकोट, जुम्ला र मुगु उक्लेको। भेरीका दैलेख, जाजरकोट हुँदै राप्तीका रुकुम, रोल्पा झरेको।
सम्झनाले सम्झायो- कालापारेका घर र मन पढ्न कोशिश गर्दै एउटा डुलुवा डुलेको डुलान्त!
बैतडी सदरमुकामदेखि १०० किलोमिटर उत्तर पुर्चौडी नगरपालिका-४ भटनाकी थिइन्, २२ वर्षीया सुनिता लुहार। कोभिडले लघारेपछि लुहार पंजाबबाट १८ महीनाकी पुत्री र पतिसाथ घर हिंडेकी थिइन्। जेठ १६ (२०७७) गते गौरीफन्टा नाकाबाट छिरेको दुई दिनपछि आफ्नै वडाको मालिका माध्यमिक विद्यालय ‘क्वारेन्टाइन’वासी बनिन्। कोरोना कहर छल्ने क्वारेन्टाइनमा बसेको दुई दिन हुँदा एक वर्षयता नियमित खाने मुटुको औषधि सकिएको १२ दिन भइसकेको थियो। लकडाउन र पैसा अभावमा औषधि किन्नु, कसरी? त्यसपछि के भयो? हुनु हुनामी भयो। आफ्नो आँगन टेक्न हतारिएका लुहारका गोडा र मनले जेठ २० गते क्वारेन्टाइनमै सदाका लागि विश्राम लिए (लुहारको पीसीआर रिपोर्ट कोरोना नेगेटिभ थियो)। सयौं लुहार आँगनछेवै पुगेर पनि आफ्नो आँगन टेक्न नपाई क्वारेन्टाइनबाटै बिदा भए (नवीन विभास, “ती ‘अभागी’ जसले आफ्नो आँगन टेक्न पाएनन्”, नयाँ पत्रिका, २०७७ असार ६)।
लुहारहरूका सम्झना लहरले अछाम सदरमुकाम मंगलसैन बालमन्दिर मल्लो (माथ्लो) टोल लग्यो। गएको चैत अन्तिम हप्ता मल्लो टोलमा उभिएको एउटा एकतले र एक कोठे रैथाने अनुहारको घरको ढोकामा आँखा जुँधेको थियो। ढोका सिरानीमा ताल्चा तुर्लुंग झुन्डिएको थियो।
थाहा भयो, त्यो घर ८० वर्षीया धनसरा विकको थियो। धनसरा कान्छा छोराबुहारीसँग पुसमा ‘बम्बई बाइगए’की थिइन्।
धनसरा गिट्टी कुट्थिन्। गिट्टी कुट्दा छारो उड्थ्यो। छारो उनको आँखामा पनि पस्थ्यो। एकदिन पसेको छारोले आँखाको ज्योति खोस्यो।
एकदिन पति खट्के विक बिते। धनसरा एक्लै भइन्।
नौ दाजुभाइमा धनसरा पति र कान्छा देवर मल्लो टोलमा थिए, बाँकी बैरागेधारा भैसेगौंडामा।
धनसराका जेठा छोरा पनि बिते। बँचेका बाँकी छोराबुहारी बम्बईमा थिए।
मंगलसैनकी विक धनसरा बम्बई बाइगएकी थिइन्, मंगलसैनकै रेग्मी धनसरा धनगढी। रेग्मी धनसराले कुनै दिन सुसाएको बम्बैया-कर्खा एकदिन डोटीवासी कवि हेमन्त विवशले यसरी सुनाएका थिए-
बम्बैका जहरी लालको हातै कलम स्याइ छ
याँ केछ हाडको झिट्टो सुर्ता परान त्याइ छ।
बम्बईमा धनसरा परिवारका सदस्य कतिले चौकीदारी गर्थे, कतिले होटलमा काम गर्थे त कतिले गाडी धुन्थे। धनसराका छोराहरूको दस सदस्यीय सोसाइटी थियो। सोसाइटी सदस्यले महीना मरेपछि पैसा जम्मा गर्थे, पालैपालो गर्जो टार्थे।
धनसराका कान्छा देवरका माहिला छोरा रमेश विक (४०)ले बम्बई विवशता बिसाएथे, “बम्बई नगई आबा चल्दैन। हेर्नुस् त, कति भयो पानी नपरेको? बारीमा खेती यस्तो छ।”
रमेशका जेठा दाजु र कान्छा भाइ पनि बम्बईमै थिए।
धनसराको मल्लो टोल मुन्तिर बालमन्दिर तल्लो टोल दीपशिखा रेस्टुरेन्ट सञ्चालक दीपक-सीता रावल (४५)का छोराबुहारी पनि बम्बईमा थिए।
मंगलसैन जय नेपाल चोकबाट नजीकै थियो, पानी टोल। राधा आउजी (५०) नातिनीसँग थिइन्। नातिनी जिम्मा लगाएर उनका छोराबुहारी ‘बम्बई बाइगएका’ थिए।
“बैकन (पति) बूढा छन्। उनको खुट्टा सुन्निएको छ। खाए त मकै, नत्र भोकै भन्छन् नि,” आउजीले कलमा लुगा सिलाउने बूढो बैकन समाचार सुनाएकी थिइन्, “कलसँग कल नगरी नहुने!”
यसपालि आउजीका बैकन बम्बई गएका थिएनन्। बैकिनी र बैकन घरमै थिए। रुखोसुखो खाएर भए पनि बैकिनी र बैकन सँगै रुन पाएका थिए, सँगै हाँस्न। होइन भने, बैकन बम्बईमा, बैकिनी बयलपाटामा। बैकन बम्बईमा रुन्थे, बैकिनी बयलपाटामा। एक्लाएक्लै रुन्थे। हाँस्न त सँगै पाएनन् नै, सँगै रुन पनि पाएका थिएनन्। बैकन र बैकिनी आँसु रहमा डुब्थे। बिछोडिएका बैकन र बैकिनीका आँसुले रहमा बम्बई डुब्यो, बयलपाटा डुब्यो। तारानाथ शर्माले तिनै बैकिनीका नाउँमा लेखेको (२०२० काे दशकमा छापिएको) ‘बैकिनीका आँसुले डुब्छ बयलपाटा’ संस्मरण सम्झिएँ। सात वर्षअघि बयलपाटामा बयली खेल्ने बताससँग बयालिएको थिएँ। विक धनसराको मंगलसैन र बयलपाटा नजीकै थिए। ५५ वर्षपछि पनि बयलपाटाहरू बैकिनीका आँसुले डुबेका थिए। भलै बैकिनीका बैकनहरूका बम्बई तन्केर साउदी अरब र मलेशिया पुगेको थियो।
बयलपाटाहरू डुबेको बैकिनीका आँसुले बगाउँदै लग्यो, अर्को बयलपाटा। अर्थात् उत्तरी रोल्पाको जैपा।
तिहारसँगसँगै खेतीपाती पनि सकिन्थ्यो। त्यसपछि जैपा गाउँ नै घुर्रो काट्न भीरमा जान्थ्यो। कति घुर्रो भीरमा उभिएका रूखमा टौवा बनाएर चपचप चाच्थे त कति घुर्रो घरछेउको रूखमा बनाएको टौवा वा कटेरोमा सार्थे।
बाबैले कालापार जाने साइत हेर्थे। साइत नजिकिंदा कालापारेका कालापार पुग्ने खुट्टा खोजमा दौडधूप बढ्थ्यो।
कात्तिक वा मंसीरको कुनै दिन दर्जनभन्दा बढी कालापारेका कुम्लाकुटुरा बोकेर जैपा गाउँ नै भुयाँरथान झर्थ्यो। कुम्लाकुटुरा कालापारेलाई हात पार्थे। ढोगभेट चल्थ्यो। ढोगभेटसँगै सुँक्कसुँक्क चर्केर डाँकोमा परिणत हुन्थ्यो। कालापारे जाँदा शोकमग्न जैपालाई दुइटा कुरा सम्हाल्न सकस हुन्थ्यो।
एक, नवविवाहित जोडीको बिदावारी।
दुई, स्कूले उमेरका भुरा र आमाका बिदावारी।
स्कूले भुरा गद्दे (नेपालीले भारतीयलाई बोलाउने शब्द)को घरमा छोटु बस्थे। छोटु बस्ने भनेको गद्देको घरमा घरेलु कामदार बन्नु थियो। उसो त, भारतको हिमाचलतिर नवयुवालाई पनि छोटु भनेर बोलाउँथे, बाँकीलाई गोर्खा र बहादुर। गद्देले गाली गर्दा गोर्खा र बहादुरको बदला गोर्खे र बाँदर भन्थे। गढवालतिर गाली गर्दा ‘डोट्याल’ भन्थे। कुनै वेलाको शक्तिशाली डोटी राज्यले गढवालीलाई कति कजाएको थियो भन्ने कुरा गालीले सम्झाउँथ्यो।
जैपाबाट कति परिवार नै उत्था हुन्थे। यसरी कालापारिने परिवारले चिनो छाड्थे। ती कति बस्तुभाउ हुन्थे त कति भाँडाकुडा। शेरे ओली काकुको परिवार उत्था हुँदा हामीलाई फलामको खौना चिनो छाडेका थिए।
लर्बरिएका गोडासँगै जैपाका कालापारे बोली पनि लर्बरिएरै झर्थ्यो, ‘गद्देको भात खान गइगिम्। बाँचे आइमास भेटम्ला, मरेले यत्तिकै।’ बिदा गर्न गएका परिवार सदस्यले कालापारेलाई भन्थे, ‘कस्सैगरी बाली लाउन आइगे। दुनियाँले रम्चाउने नबनाए। घरको चिन्ता नमाने। कालापार पुगेको भोलिपल्ट नै डाक गरे।’
नेटोले नछेक्दासम्म कतिले रुमाल त कतिले कपाले हल्लाउँथे। यसरी नै जैपा गाउँले बिदा गरेका भिके दाजुको अन्तिम बिदा भयो। भाउजूले ससाना माया र लालवीरलाई एक्लै हुर्काइन्। कति भिके दाजुहरू कालापारमै बिलाए होलान् हँ?
जैपाबाट निक्लेको हुल ढोमै (अहिले बागमारा बजार) पुगेपछि कालापारे क्याराभानमा मिसिन्थ्यो। थुनी, ताहीबाङ, पाछाबाङ, केवरी, रपा, पाहाबाङ, चुनबाङ, खिसाबाङ, राक्सेबाङबाट झरेका कालापारे क्याराभ्यान। पूर्वी रुकुमका कालापारे पनि ढोमै भएरै कालापार लाग्थे।
कालापारे निधारको बिदा टीका कति आँसु त कति पसिनाले बगाउँथ्यो। बचेका कतिका टीका नाकको डाडीमा मुश्किलले अडिइकन हल्लिरहेका हुन्थे।
जैपामुनि ढोमैमा गाडी गुड्यो। गराजुमा कृष्ण नेपालीहरूलाई सिन्की खाँदे जसरी कालापारे खाँडेका गाडी क्याराभानमा बदलिएको थियो। कालापारे क्याराभान मात्र फेरिएको थिएन, नयाँ पुस्ताले कालापारको बदला इन्डिया भन्न थालेका थिए, भारत भन्न थालेका थिए।
कालापारे जाँदा शोकाकुल जैपा कालापारे फर्केको रात भने खुशीले जाग्राम बस्थ्यो। जीउले काँचुली फेर्न र जिब्रोले गुलियो चाख्न जैपा कालापारे पर्खन्थ्यो। कारण थियो, मैले थाहा पाउँदाखेरि अर्थात् चालीसको मध्यतिर कारखाने लुगाले रैथाने लुगा लखेटिसकेको थियो। जेईहरूले बुनेको बोल्ला (गाँजा वा सिस्नो रेसाको लुगा) बाजी (बाजे), प्हार्ला ठूल्बाइ र तल्ती ठूल्बाइको जीउमा मात्र थियो।
कालापारिंदै मेरी कान्छी सान्जी देहरादूनवासी भएकी थिइन्। मेरी जेई र बाबै मात्र होइन, कान्छा मामामाइजू पनि कालापारिएका थिए।
एकदिन म पनि कालापारे भएँ।
पचासको दशकको थालनीतिरको कुरा थियो। आईए प्रथम वर्ष (अहिले ११ कक्षा)का रूममेट कमल पुन र म कालापार (भारत, हिमाचल, शिमला, कोटखाई, थानागाउँ) पुग्यौं।
कमलका जेठा दाजु वीरबहादुर पुन नेपालगन्जमा थिए। उनी उपरसेट थिए। गाउँघरमा उपरसेट भनेको ओभरसीयर। उनै दाजुले रुपैडिहामा हरिद्वार जाने बस चढाएका थिए। हरिद्वारबाट शिमला, कोटखाई अनि थानागाउँ। जहाँ थिए, जैपाका हलहले कान्छा दाइ (जो ‘कान्चे ठेक्दार’ भनेर चिनिन्थे)।
माथि थाना। तल बारीमा एउटा घर थियो। त्यो घर आत्माराम चौहानको थियो। त्यही घरमा ठेकेदार बस्थे। चौहान लाला थिए। लाला भनेको साहुजी हो। हामी चौहानकै पसलबाट रासन (चामल, दाल) खान्थ्यौं।
ठेकेदार बस्ने घरमुन्तिर बारीमा एउटा छाप्रो थियो। टाउको निहुर्याएर भित्र पस्नुपर्ने होचो छाप्रो। मेरो काकु, प्हार्ला काकु, स्हेला ट्याम्के फ्वाजु, बास्कोट राते दाजु, प्हार्ला माल्दाजु लगायत झन्डै एक दर्जन छाप्रावासी थिए। कमल र म पनि थपियौं।
ठेकेदारले दुईथरी काम लगाउँथे। एक, ठेक्का। दुई, दिनगन्ती धेरी। त्यस वेला दिनगन्ती धेरी ४२ भारतीय रुपैयाँ थियो।
काम थिए- चट्टा (ढुंगा निकालेर चाँच्ने र बेच्ने) लगाउने। स्याउको तौले खन्ने (स्याउको बोट वरपर खन्ने)। बदाम तोर्ने (बदाम टिप्ने, गाडी चल्ने बाटोसम्म बोक्नु, आरु जातको फल)। मटर तोर्ने (केराउ टिप्ने र बोक्ने)। जिम्दारका बारीमा गारो लगाउने। इज्यार खन्ने (बन्जर खन्ने)। स्याउको सिजनमा स्याउ टिप्ने र स्याउका पेटी बोक्ने, घाँस काट्ने सिजनमा घाँस काट्ने त भइहाले।
छाप्रामा वेलावेला दुई भुरा पनि थपिन्थे। ती थिए, थानादेखि पाल्लोपट्टि चमेराका जयलाल गद्देको छोटु सुरज पुन र थानाको पुछार रामकृष्ण गद्देको छोटु बालाराम केसी।
छाप्रामा हामी दाउरा चाँचे जसरी सुत्थ्यौं। भित्र पस्ने ढोकानेर चुल्हो थियो, चुल्होछेउ काकु सुत्थे। काकु छक्कालै उठेर रोटी तयार पार्थे। कमल र म तेल सकिएपछि खाली भएको टिनको कन्टरमा पानी लिन जान्थ्यौं।
घाम नझर्दै थानाको वारिपारिबाट गद्देका आवाज झर्थे-
- कान्चे, दो आदमी भेज्देना हाँ, सिलट ढोलने के लिए।
-ठेक्दारा, चार आदमी भेज्दे, तौले खोद्ने के लिए।
कान्चे ठेक्दार भन्थे, ‘हँ बाबा जी।’
त्यस वेला गद्देका डाँको नै फोन थिए।
दिउँसोको अर्नी रोटी, पानी, खाली बोरा र बर्रे बोकेर खायो न खायो गर्दै ठेकेदारले खटाएको काममा लाग्थे, बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म।
हाम्रो छाप्रादेखि अलि पर सिलङ्ङेबोटे काकुको परिवार बस्थ्यो, अलि तल राँकुलचौर लालबहादुर केसी र सर्पलोटे डाङीभेनाको परिवार।
थानागाउँ नजीकै डन्नुनाला, हिम्री, रामनगर लगायत ठाउँमा पाङ्ङरखोला बालाराम खड्काहरूको हुल थियो। उनै खड्काको पछि लागेर कमल र म शिमलाबाट थानागाउँ पुगेका थियौं।
थानागाउँमुनि राउलाक्यार थियो। राउलाक्यार हुँदै बस बागी पुग्थ्यो। बागी जाने बाटो मुन्तिर गद्देको कम्द ठेक्का लिएर हाम्रो गाउँका छेल्लरे बाँठा मामाको परिवारले आलु खेती गरेको थियो। मामाको परिवार जस्तै केही वर्ष होइन, पुस्तौ बसेको पनि भेट्यौं।
जैपातिर पइजामा स्थापित थियो। गाउँमा पुग्दा पइजामा त पाइजामार भएको थियो। पइजामा यति ठूलो हुन्थ्यो कि, दुवै गोडा राखे पनि अट्थ्यो। हिंड्दाखेरि बतासले बतासिंदै पइजामा हल्लन्थ्यो। पइजामा हल्लाउँदै, दिलबहार बिंडीको धूँवा उडाउँदै, बातैपिच्छे ‘अच्छा लेकिन’ बोल्ने कालापारेका नाउँमा कथन कथिएको थियो, ‘कालापारे झल्ला, पाइजामार हल्ला।’ झल्ला भनेको लोफ्फर थियो। कमाइ नगरी फर्कने कालापारेलाई झल्ला भने होलान्। गाउँघरमा अर्को कथन पनि थियो, ‘सुब्बा भएँ, टुप्पा गएँ। दिल्ली गएँ, सिल्ली भएँ। बम्मै गएँ, सम्मै भएँ। कलकत्ता गएँ, बेपत्ता भएँ।’
कालापारे चिठीका अनुहार सम्झिएँ। चिठी हिन्दू धर्म र राजागानसँग गाँसिएका हुन्थे।
स्वस्ती श्री छ आज्ञ तहाराज गरी बस्नुभएका मातापिताकै मालुम हवस् कि, इताम आफूको परदेशी छोराको तरफबाट गंगाजल अस्नानपात गरी टाङछिरी पाउपरी सेवा ढोग छ जी। घरनारीलाई म परदेशीको पतिको तरफबाट सम्झना र माया छ जी।
...पस्पतिनाथको कीर्पाले निकाराम छ जी। त्यहाँ पनि उनै दयालु भग्वानको कीर्पाले निकाराम होस् भनी पार्थाना गर्छु।
...किरायाभारा भयो भने दवारा मान्न आम्ला जी।
पेटबोलीमा कमाइकाजबारे हुन्थ्यो।
बारिस बहुत गिरेर यसपालि आलु कुहियो। बिउ पनि उठेन जी। यसपालि ता बगै लाग्यो। परदेशको माम्ला, गाईले खायो काम्ला भयो जी। ये वरस तो कोइ कमाइकाज भएन। कुछ किरायाभारा भयो भने, आइमासको दवारामा आम्ला जी। समयसाल अच्छा होला भनेर इन्तीजारमा छु जी।
चिठीमा छिमेकी र आफन्त सबैलाई एकेक थान सम्झना सम्बोधन हुन्थे।
गाउँघर, डेराबाराका सबैलाई साइनोअनुसारको सेवाढोग र आशिर्वाद छ जी।
चिठी बिट पनि उसैगरी मारिएका हुन्थे।
जति लेखे पनि मनका कुरा फारिक हुँदैनन्, यतिमै कलम रोक्छु। गल्ती भए मेरो छ, कलमको छैन जी।
उही परदेशी छोरा रामसिंह गोर्खा।
जैपामा बोली र लेखनमा पनि हिन्दी भाषा र संस्कृति प्रभाव परेको थियो। मालुम, कपाललाई बाल, सिनेमालाई स्यानीमाइ, भातलाई चावल, झ्याललाई खिर्की, बाटोलाई रास्ता। एउटा वाक्यमा एउटा हिन्दी शब्द घुस्नु त सामान्य।
कालापारेका चिठीको जवाफ (पहिले पहिले) ठूल्दाजुले लेखिदिन्थे। ठूल्दाजु गाउँका मास्टर थिए।
कालापार पठाउने चिठीको पेटबोलीमा हुन्थे-
रिनले पखेटा लायो। साहु आएर खाएको गाँस जिउमा लाग्न दिएन। साहुले हलो हाल्छु भनेर धम्की दिन्छ। साहुले दाउला फुकायो। काल्या बाबै, यसपालि त आँखा चिम्म गरेर भए पनि साहुको रिन छिन है।
कालापारे हुँदाखेरिको ठेगाना थियो- मार्फत् आत्माराम चौहान, ठेक्दार पिरमलाल गोर्खा। शिमला जिला, तहसील कोटखाई, ग्रामपंचायत रामपुर गाउँ थाना।
कालापारेले मनको नाम राख्थे। अन्तिम नाम अर्थात् सरनेम भने सबैको एउटै हुन्थ्यो- गोर्खा।
***
जैपाहरूको कालापारे क्याराभान कालान्तरमा विभिन्न भँगालामा फाट्यो। एउटा भँगाला इँटा बनाउन र इँटा बोक्न काठमाडौं लाग्यो। अर्को भँगाला मलेशिया र साउदी अरब। सानो संख्या तल्लोबाटोबाट अमेरिका। सानो संख्या यूरोप पुग्यो, सानो रसियन सेना बन्न रूस। तल्लोबाटोबाट अमेरिका जाने ठूलो संख्या भने रुकुममा थियो। कुनै वेला तल्लोबाटोबाट अमेरिका पठाउने धनबहादुर केसी रुकुम (पूर्व)को (ख) बाट सांसद चुनिएका थिए।
रोल्पाली कालापारेलाई विभिन्न भागमा बाँड्न सकिन्छ।
एक, खेतीपातीका लागि जाने कालापारे। हिमाचल र गढवालमा आलु, मटर खेती गर्ने, जो दुई-चार वर्षभन्दा लामो समय बस्थे।
दुई, खेती लगाएर कालापार जाने र खेती लगाउन घर फर्कने।
तीन, सिजन लगाउने। यसमा केदारनाथमा तीर्थयात्री बोक्ने डन्नी र कन्नी बोक्ने, गाँजा खेती गर्न हिमाचलका माथ्लो भेग जाने र कति अत्तर काँर्न जाने। कालापारमा गाँजा खेती गर्न जाने संख्या सानो थियो। स्याउ टिप्न र स्याउका पेटी बोक्नेको त ठूलो संख्या हुन्थ्यो। ती हिमाचलको तल्लो भेगमा भदौ-असोजतिर स्याउ टिप्थे। बोक्थे। तल्लो भेगमा सकेपछि उनीहरू माथ्लो भेग कुल्लु मनाली उक्लन्थे।
चार, भारत-पाकिस्तान सीमाक्षेत्र जस्तो- लेह, लद्दाख, कश्मीरमा भारतीय सेनाको रसदपानी बोक्न जाने।
पाँच, छोटु बस्ने। गद्देका घरमा कामदारका लागि जाने स्कूले भुरा।
छ, भारतका विभिन्न शहरमा चौकीदार, पल्लेदार, होटलमा भाँडा माझ्ने आदि त भइहाले।
भारतमा बस्ने नेपालीबारे जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका केशव बस्यालले तीन भाग लगाएका छन्।
एक, भारतमा बसोबास गरेका। बढीजसो लुम्बिनी र गण्डकीका थिए। सरकारी जागीर, सेना र होटलमा लामो समयसम्म रोजगार थिए। तिनले भोट पनि हाल्थे।
दुई, कारखाना, होटलमा काम गर्ने। ती त भारतको केरल, जम्मु, अलमोडासम्म छरिएका थिए।
तेस्रो, मौसमी। ४-६ महीना काम गर्न जाने नेपाली। त्यस्तो काम गर्ने ९० प्रतिशत नै सुदूरपश्चिम र रोल्पाका अथवा पहिलेको मध्य तथा सुदूरपश्चिमका सबभन्दा बढी थिए।
कर्णाली प्रदेशबाट सबभन्दा बढी भारतमा जाने दैलेख, जाजरकोट र कालीकोटका थिए (कर्णाली योजना आयोगका पूर्व सदस्य दीपेन्द्र रोकायासँगको कुराकानी)। त्यसपछि सल्यान, जुम्ला र सुर्खेत।
***
बैकनहरूको बम्बई, मुग्लानीहरूको मुग्लान, लाहुरेहरूको लाहुर, जैपालीहरूको कालापार कसरी र कहिले शुरू भयो होला? नेपाल भएको हाम्रो भेगबाट कसरी रोजीरोटीका लागि दक्षिणतिर जान थाले होलान्?
नाम सुन्न थालेको मुगलको पालादेखि थियो। जस्तो- मुगलको देश जाने भनेकाले मुग्लान भनियो (आहुतिसँग कुराकानी)। जाने ठाउँ मुग्लान, जाने मानिस मुग्लानी। गोविन्दराज भट्टराईले त मुग्लान उपन्यास नै लेखे। पश्चिम नेपालमा भने मुग्लान, मुग्लानी सुनिंदैन।
त्यसपछि नेपाली लाहोर गए। भनियो, लाहुरे। पश्चिमतिर बन्दूक बोकेको सैनिकलाई मात्र लाहुरे भन्छन्, त्यो चाहे विदेशको होस् वा नेपालको। लाहुरमा भर्ती हुने भनेको सेना हुने बुझ्नुपर्छ। जबकि अन्यत्र सैनिक बाहेकको विदेशमा काम गर्ने पनि लाहुरे र विदेश लाहुर।
नेपालका शासकले आफ्ना नागरिक बेचेर खाने लाहुरे संस्कृति विकास गरे। जो भारत, बेलायत (हङकङ, सिंगापुर, ब्रुनाई), सिंगापुर पुलिस हुँदै फैलिएर अमेरिकी, जर्मन र अहिले रसियन लाहुरेसम्म पुग्यो। आफ्नो साम्राज्य जोगाउन बेलायतले ‘वीर गोर्खाली’ भाष्य स्थापित गर्यो। जुन भाष्यमा भष्म हुने गरी नेपाली भासिए। जुन जारी छ। नेपालमा आदिवासी जनजातिमध्ये मगर, गुरुङ, राई र लिम्बू बन्दूक बोक्ने लाहुरे संस्कृतिको शिकार भए।
“ठूलो समूह आसाम, दार्जीलिङ गए। तिनको काम जंगल फँडानी गर्नु र रूख रोप्नु थियो कोइलाखानीमा काम गर्न पनि गए। भर्ती पनि लुम्बिनीपूर्वका गए। कारण थियो, ठूलो भर्ती केन्द्र गोरखपुर हुनु। सबभन्दा पहिले खुलेको सिद्धार्थ राजमार्ग थियो,” बस्यालले भने।
रोजीरोटीका लागि नेपाली कालापार जानु, भुइँतहका भारतीय नागरिक नेपालका शहरमा काम गर्न आउनु, नेपालको शासनसत्तामा भारतीय प्रभुत्व र उपनिवेशीकरणको शिकार हुनु (भलै नेपाल औपचारिक रूपमा उपनिवेश भएन, त्यो बेग्लै कुरा हो)को पृष्ठभूमिमा के के थिए?
राजनीतिक सीमारेखाले अलग गरे पनि भाषा, सांस्कृतिक, रहनसहनमा केही समानता थिए। जसलाई सहजीकरण गर्ने दुई मुलुकबीच सीमा खुला थियो (सुसन टिम, सोसल नेटवर्क्स एन्ड माइग्रेन्ट्सः फार वेस्ट नेप्लीज लेबर माइग्रेन्ट्स् इन दिल्ली, २००७)। आउजाउका लागि भिसा नलाग्ने भएपछि आउजाउ सहजै जारी रह्यो। आउजाउमा कुन मुलुकलाई नाफाघाटा छ? त्यो बेग्लै बहसको विषय होला, तर त्यसको ऐतिहासिक राजनीतिक आधार थियो, सन् १९५० को सन्धि (केशव बस्याल, अ सर्भे अन नेपाली माइग्रेन्ट्स इन इन्डियाः एन इम्पिरिकल स्टडी, २०२०)। जुन सन्धिलाई नेपालका कम्युनिस्ट पार्टीहरूले आफू सत्तामा जानुअघि ‘असमान सन्धि’ भन्दै खारेज गर्न भने।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पनि रोल्पा, रुकुमका ठूलो संख्यामा कालापार गए/जान्छन्। कालापार भनेको हिमाचल, गढवालहरू थिए। कालान्तरमा भारतका कुनै पनि भेग जानुलाई कालापार भनिन थालियो। कालापार जानेलाई कालापारे। पश्चिमबाट किन यति ठूलो संख्यामा कालापार गए/जान्छन् हँ?
कारण थिए।
एक, पश्चिम धेरै पछि मात्र नेपालमा जोडियो। चिसापानी कर्णालीमा पुल बनेकै पचास दशकको थालनीतिर मात्र थियो। खासमा काठमाडौंसँग सुदूरपश्चिम यातायातले मात्र जोडियो, भावनाले होइन। तन जोडिए पनि मनले जोडिएन। फलस्वरूप काम र मामका लागि सुदूरपश्चिम भारतकै भर पर्यो। सुदूरपश्चिमका सर्वसाधारण नेपालप्रति न नजिक भए न त विश्वस्त। राज्यले नजीकको अनुभूति दिन सकेन। सर्वसाधारणका समस्यासँग राज्य सधैं बेखबर रह्यो। ‘मर्ता क्या नहीं कर्ता’ भने जसरी मर्दापर्दा काम लाग्ने भारत नगई आभा नचल्ने भयो।
भन्नुहोला, सुदूरपश्चिमबाट शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द पटक पटक देशको कार्यकारी प्रमुख नै भए। चन्द र देउवा अपवाद थिए। मैले भन्न खोजेको जनस्तरको सम्बन्ध थियो।
दुई, आफ्नो थलामा रोजगारको व्यवस्था थिएन। रोजगारथला मानिएका काठमाडौं, पोखरा र बुटवलसँग पश्चिमको सम्बन्ध साँचिएन। रोजीरोटीका लागि कालापार बाध्यात्मक गन्तव्य भयो। जाँदाजाँदा आफन्त सञ्जाल नै भारतमा बुनियो। अन्ततः कमसल, सस्तो र जोखिमपूर्ण कामका लागि पनि भारत जाने चलन चल्यो। जो आजको मितिसम्म जारी छ। ठूलो संख्या अनौपचारिक। थोरै तलब पाउने। सामाजिक सुरक्षा छैन।
“बझाङका ब्याङ्लोर, अछामका बम्बईमा बढी भेटिन्छन्। दिल्लीमा सबैतिरका छन्, कलकत्तामा पूर्वतिरका मात्र भेटिन्छन्,” बस्याल सुनाउँदै थिए, “गएको डेढ-दुई दशकयता छोटो समयका लागि जाने संख्या बढ्यो। अहिले घरमा काम गर्ने महिला संख्या बढ्यो। कोलोनीका गेटमा बस्नुपर्छ, गेटमा छिरेका मानिस हुलका हुल नेपाली देखिन्छन्।” बस्यालका अनुसार सबभन्दा ठूलो संख्या (करीब पाँच लाख)का नेपाली दिल्लीमा थिए। भारतमा नियमित काम गर्न जाने नेपालीको संख्या करीब १० लाख थियो।
पश्चिम नेपालमा रोजगार छैन। कृषिमा आधारित उत्पादनले वर्षदिन खान पुग्दैन। त्यसैले जति असुरक्षित भए पनि नेपालको ठूलो संख्याको श्रमबजार भारत भयो। बस्यालले भारतपछि मलेशिया र साउदी अरब जाने संख्या सम्झिए, “सुदूरपश्चिममा चार वर्षअघि नौ हजारले श्रम स्वीकृति लिएका थिए भने गत वर्ष बढेर एक्काइस/बाइस हजार पुग्यो।”
कालापारेका स्थिति कस्तो थियो? तिनले श्रमको मूल्य पाए? ठगिए कि? कस्ता कालापारे थिए/छन्?
कालापारे अनौपचारिक काम गरिरहेका थिए। तिनले शिक्षा पाएका थिएनन्। मजदूर अधिकारको ज्ञान थिएन। थियो भने पनि पर्याप्त थिएन। तिनलाई ब्यांकबाट पैसा पठाउनेदेखि केही परे दूतावास जानेबारे पनि राम्रो ज्ञान थिएन। प्रायः नेपाली कामदार अत्यावश्यक ज्ञान र सीप नहुँदा समस्या झेलिरहेका थिए (सुसन टिम, सेभिङ एन्ड क्रेडिट एशोसिएशन एन्ड रेमिटेन्सः द केस अफ फार वेस्ट नेप्लीज लेबर माइग्रेन्स इन दिल्ली, २००३)।
***
तारानाथ शर्माको संस्मरण ‘बैकिनीका आँसुले डुब्छ बयलपाटा’ छापिएको ५५ वर्ष भयो। अहिले पनि बैकिनीहरूका आँसुुले बयलपाटाहरू डुबेकै छन्। बैकनहरूको बम्बई तन्केर रूस पुग्दा सिंगो देश नै बैकिनीहरूका बयलपाटा हुँदै छ। रेग्मी धनसराले गाए जसरी बयलपाटामा बैकिनीहरूका ‘हाडको झिट्टो’ मात्र छ, तन मात्र छ। बैकिनीहरूको ‘सुर्ता परान’ त बम्बईमा छ। तिनका दिलमन बम्बईमा बैकनसँग छ।
गाउँघरतिर रिसको झोंकमा भन्छन् नि- के चिर्कोबजाङ्ङो पर्यो?
पर्यावरणीय संवेदनशील भूगोबनोटवाल नेपालमा बाटोघाटो खन्नु र घर-भ्यूटावर ठड्याउनुमात्र ‘विकास’ हो भन्ने सरकारी भाष्य भएर भयो कि? कुनाका मानिस, महिला, दलित, आदिवासी, कर्णाली, मधेश, सुदूरपश्चिमका भुइँजन र गरीबका जीवनस्तर उकास्ने विधि नबनाएर पो भयो कि? भुइँतहका मानिसको जीवनपद्धति बदल्ने र पर्यावरणीय संवेदनशील नीति सरकारी गिदीमा नघुसेर भयो कि? छेल्लरे बाँठा मामा, कृष्ण नेपालीहरू जस्ता बैकन, धनसरा विक, सुनिता लुहार, राधा आउजी, विमला नेपालीहरू जस्ता बैकिनीहरूका आँसु पुछ्ने रुमालरूपी योजना सरकारसँग नभएर भयो कि? नीति बनाउनेका दिलदिमाग नै एडीबी, वर्ल्ड ब्यांकहरू भएर भयो कि? ‘गण-लोकतन्त्र’ को नाउँमा ओली-देउवा-दाहाल ‘जोक’तन्त्रले पो गर्नु गर्यो कि?
मन्थन माया मारिम् भने, विमर्श बियालो गरिम् भने बैकिनीहरूका आँसुले डुबिरहनेछन्, बयलपाटाहरू।