संगीतको दरबारभित्र देखिएको इतिहास
संगीतको प्रवर्द्धनमा राज्यको योगदान प्रस्ट देखिएको मल्लकाललाई छाडेर संगीतलाई शासकको भोगविलासमा उपयोग गरिएको राणाकाललाई शास्त्रीय संगीतको स्वर्णयुग मान्नु कतिको जायज होला?
नेपालमा नाट्य-अभिनय तथा संगीतको परम्परा पुरानै भए पनि यसको लिपिबद्ध इतिहास मल्लकालदेखि मात्र पाइन्छ। मल्लकालमा शास्त्रीय संगीत (दक्षिणएशियाली संगीत शैली)का अभ्यासलाई पुष्टि गर्ने यथेष्ट सन्दर्भहरू छन्। अर्थात् मल्लकालमै दक्षिणएशियाली संगीत शैलीसँग नेपालीहरू परिचित थिए। यद्यपि नेपालमा संगीतमा घरानियाँ पद्धतिको प्रारम्भ उति पुरानो होइन। खासगरी राणाकालमा आएपछि मात्र संगीतमा घरानियाँ अवधारणा विकास भएको देखिन्छ। त्यही वेला स्थापित रेग्मी घरानाका पछिल्ला पुस्ता हुन्, प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी।
पितापुर्खाको पदचाप पछ्याउँदै रेग्मीले पनि साधनामा कठिन मानिने यही विधालाई जीवनयापनको आधार बनाए। शास्त्रीय संगीतकै विषयमा विद्यावारिधि गरेका उनले नेपाली संगीत दरबार : आदिकालदेखि आधुनिक कालसम्म पुस्तक समेत लेखेका छन्। नेपाली संगीतको इतिहास दर्शाउने भरपर्दो पुस्तकको अभाव खट्किरहँदा उनको पुस्तकले त्यसलाई पुर्ने प्रयत्न गरेको छ। यसमा नेपाली संगीत इतिहासको रूपरेखा छ।
रेग्मीले संगीतको कालविभाजन समेत नेपालमा प्रचलित शासनकालका आधारमा गरेका छन्। लिच्छवि, मल्ल र शाहकालमा भएको सांगीतिक विकासक्रमको चर्चा गर्दै राणाकाललाई शास्त्रीय संगीतको स्वर्णयुग मानेका छन्। यस्तो कालविभाजन खासगरी काठमाडौं खाल्डोमा भएका ऐतिहासिक गतिविधिमा आधारित छ। यहाँ बुझ्नुपर्ने के भने, काठमाडौं उपत्यकाको इतिहासले समग्र नेपालको प्रतिनिधित्व गर्दैन। काठमाडौंकेन्द्रित गतिविधिलाई नै नेपालको मूलधारको इतिहास मान्ने परम्पराकै फेरो समातेर संगीतको इतिहास केलाएका रेग्मीले यसो गर्नुको बलियो आधार भने दिएका छैनन्।
स्वर्णयुगीन भाष्य
लिच्छविकाललाई स्वर्णयुग मान्ने ऐतिहासिक भाष्यलाई कतिपय लेखकले आलोचना गर्दै आएका छन्। रेग्मीले पनि लिच्छविकालको साटो मल्लकाललाई कलावस्तु र वैभवको स्वर्णयुग मानेका छन् (संगीतको दरबार, पृष्ठः १२२)। काठमाडौं उपत्यकामा अहिलेसम्म पनि मल्लकालीन संगीत र संस्कृतिको अटूट प्रवाह, नेवार समुदायको सामाजिक-सांस्कृतिक जीवनमा संगीतको अभिन्न भूमिका, संगीत सम्बन्धमा लेखिएका मल्लकालीन सयौं ग्रन्थ र संगीत विकासमा शासकको योगदान प्रस्टै देखिन्छ। नाट्य-अभिनयात्मक प्रदर्शनीका दृष्टिले मल्लकालमा संगीतको स्थान उच्च देखिन्छ। मल्लकालमा जनसाधारणदेखि राजामहाराजको संगीतसँगको सम्बन्ध, जात्रापर्व र तीसँग जोडिएका संगीतको दिगो संरक्षणका लागि गुठी जग्गाको व्यवस्थापन आदिले पनि यसलाई पुष्टि गर्छन्।
यसरी हेर्दा कलावस्तुको मात्र होइन, संगीतको विकासक्रमकै आधारमा पनि मल्लकाललाई संगीतको स्वर्णयुग मान्न सकिन्छ। तापनि रेग्मी सांगीतिक विकासमा राणाकाललाई स्वर्णयुग भनिरहेछन्, खासगरी वीरशमशेरको शासनकाललाई। उनको यस तर्कमा प्रश्न उठाउने ठाउँ पर्याप्त छन्। किनकि इतिहासविद्हरूले राणाकाललाई अन्धकार युग भन्दै आएका छन्। आलिशान महलमा बस्ने शासकले आफ्नो सोख र विलासका लागि मात्र शास्त्रीय संगीतलाई महत्त्व दिएका हुन्।
विसं १९५६ को पुस-माघताका बगडी (नेपालको पर्सा भेगमा पर्ने)मा गरिएको भनिएको अन्तर्राष्ट्रिय स्तरको संगीत सम्मेलनमा वीरशमशेरले सम्पत्तिको जुन खोलो बगाए, त्यसलाई राणाहरूले नेपाली नागरिकबाट शोषण गरेर लिएको भन्दा फरक नपर्ला। यसर्थ राणाकाललाई शास्त्रीय संगीतको स्वर्णकाल देख्ने लेखकको चिन्तनले एउटा सम्भ्रान्त वर्गको मात्र पृष्ठपोषण गर्छ। संगीतलाई आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रूपमै महत्त्व दिएर राज्यका तर्फबाट गरिएको हुन्थ्यो भने मात्र बगडीमा भएको सम्मेलनलाई उचित मान्न सकिन्थ्यो।
त्यसकारण अपवाद बाहेकका नागरिकले पढ्ने पाठशाला समेत नभएको त्यस युगमा राणाहरूले गरेको सम्मेलन तिनको वैभव देखाउन गरेको फजुल खर्च मात्र नभएर राज्यको आर्थिक हित विपरीत समेत रहेको मान्न सकिन्छ। उनीहरू साँच्चै संगीतप्रेमी थिए त जनस्तरमा संगीत शिक्षण किन गराएनन्? संगीतका विद्यालय/महाविद्यालय किन स्थापना गरेनन्?
आफूलाई कट्टर हिन्दू धर्म-संस्कृतिको हिमायती ठान्ने राणाहरूले आफ्नो दरबारमा भारतीय मुस्लिम कलाकार प्रवेश गराउनुलाई (पृष्ठ : २२०) धार्मिक सहिष्णुताको अभ्यास देख्ने लेखकले समकालीन नेपाली दलित कलाकारहरू सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परिरहेको स्थितिलाई अनदेखा गर्नु पनि प्रश्नको परिधिभन्दा बाहिर छैन। त्यस्तै, महिला कलाकारको क्षमता र प्रतिभाको कदर नगरी उनीहरूप्रति भोग-वासनाको दृष्टिकोण राख्ने राणाप्रवृत्तिलाई कठोर आलोचना गर्न पनि रेग्मी चुकेका छन्।
आलोचनात्मक विमर्श
शास्त्रीय संगीतका साधक रेग्मीले साधना र प्रशिक्षणको व्यस्तताबाट समय निकालेर संगीतको इतिहास खोजबिन गर्दै यति गहन पुस्तक तयार पार्नु निकै वन्दनीय छ। भाषा, साहित्य, संस्कृति, लोकसाहित्य र नाट्य-अभिनय समेत समेटेर लेखिएको पुस्तकमा लोकवार्ताको गन्ध पाइन्छ। उनले संगीत र संस्कृतिलाई वातावरण र पर्यावरणमा आधारित कृषिप्रणालीले पनि निर्दिष्ट गरेको हुन्छ भन्ने मानवशास्त्रीय विचार व्यक्त गरेका छन्। यसैमा टेकेर संगीतको विकासमा व्यवसाय र जातीयताको भूमिकाबारे छलफल गरेका छन्। संगीतको विकासमा लोकसाहित्य र लोकसंस्कृतिको महत्त्व र भूमिका खोतल्दै नेपाली संस्कृतिका विविध पक्षमा संगीतको सम्बन्ध मसिनो गरी केलाएका छन्।
संगीतको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा विभिन्न कालखण्डमा राज्यले गरेका प्रयासको खोज नै यस पुस्तकको श्रेष्ठता रहेको लेखकीय दृष्टिकोण छ। तर यहाँ राज्य कुन वर्गको सांस्कृतिक तथा सांगीतिक उत्थानतर्फ बढी ढल्कियो भन्ने प्रतिकथन उठाउनु जरूरी छ। विशेषतः हिन्दू जातीय समुदायको उत्थानमा राज्य लागिपरेकोबारे लेखक मौन छन्। त्यसैले बहुल संस्कृतियुक्त समाजमा रहेको सांगीतिक विविधतालाई जोड्न केकस्ता प्रयास भए त भन्नेमा पनि थप खोजिनुपर्छ।
अर्कातिर लेखकले नेपालको सांगीतिक परम्परामा दक्षिणएशियाली संगीत शैलीको प्रभाव रहेको उल्लेख गरेका छन्। यसले नेपाली संगीतमा मौलिकता छैन त भन्ने प्रश्न उब्जाउँछ। संगीतले समाजलाई राष्ट्रिय एकतामा बाँध्छ भनिन्छ। नेपाली समाजका हकमा चाहिं यसले केकस्तो भूमिका खेल्यो भन्नेमा लेखकको ध्यान उति पुगेको देखिंदैन।
सुनिए अनुसार राणाका दरबारमा हुने गायन खस नेपालीभन्दा बढी हिन्दी भाषामा हुन्थ्यो। यति हुँदाहुँदै पनि शास्त्रीय गायन परम्परामा नेपाल भाषा (नेवार) र खस भाषाको स्थान केकस्तो थियो त? मल्लकालमै नेवार भाषामा राग गाइने गरेको कुरा त लेखकले नै प्रस्तुत गरेका छन्। यससँगै २००७ सालको परिवर्तनपछि विशेषतः पञ्चायतकालमा राजा महेन्द्रले आफ्नो सत्ता मजबूत बनाउन नेपाली साहित्य र संगीतलाई केकसरी उपयोग गरे र त्यसमा रेडियो नेपाल, राष्ट्रिय नाचघर र सरकारी प्रकाशनगृहहरूको भूमिका कस्तो रह्यो भन्ने समेत उल्लेख गरिएको भए पुस्तकको ओज अझ बढ्थ्यो।
सत्तासँग संगीतको केकस्तो सम्बन्ध हुन्छ र स्रष्टालाई शासकले कसरी प्रयोग गर्छन् भन्ने पाटो पनि पुस्तकमा खट्किएको छ। शासकले मेटाएको भुइँमान्छेको इतिहास लोकसंगीतमा निहित हुन्छ र यसैका आधारमा भुइँमान्छेको इतिहास पुनर्लेखन गर्न सकिन्छ। संगीतले सत्ताले प्रतिपादन गरेको राष्ट्रियतालाई मजबूत मात्र बनाउँदैन कि जनस्तरीय सांगीतिक र सांस्कृतिक इतिहासको उत्खनन समेत गर्न सक्छ। समग्रमा सांगीतिक इतिहासको अनुसन्धान नभइरहेको स्थितिमा रेग्मीले आफ्नो सामर्थ्यले जेजति गरेका छन्, त्यो आफैं पनि कम प्रशंसनीय भने छैन।
यो पनि पढ्नुहोस् : ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’