एमसीसीले नेपाललाई थप पौने सात अर्ब अनुदान दिने
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले ६ अर्ब ८० करोड रुपैयाँ थप सहायता प्रदान गर्ने भएको छ।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब रुपैयाँ बराबरको एमसीसी अन्तर्गतका आयोजनाका निम्ति थप रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले जनाएको छ।
एमसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ। बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजना मार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्न एमसीसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ।’
यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’ को सफलता सुनिश्चित गर्न योगदान पुग्ने एमसीसी कम्प्याक्ट अपरेशनका उपाध्यक्ष क्यामरन अल्फोर्डले जनाएका छन्।
एमसीसी परियोजना अन्तर्गत ४०० केभीको डबल सर्किट ३१५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ। काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेशन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइनेछ। प्रसारण लाइन निर्माणपछि नेपाल-भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ।