शरद् ऋतुमा असामान्य तापक्रम र अनियमित वर्षा
गत शरद् ऋतुमा नेपालमा वर्षा र तापक्रमको प्रवृत्तिमा अनियमितता देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मनसुनपछि (अक्टोबर-नोभेम्बर)को जलवायु सम्बन्धी प्रारम्भिक प्रतिवेदनले देशभरि यो अवधिमा सरदरभन्दा कम वर्षा भएको र अधिकतम तापक्रम पनि सरदरभन्दा बढी भएको देखाएको हो। विशेषगरी, तराईमा सरदरभन्दा बढी न्यूनतम तापक्रम र हिमाली क्षेत्रमा सामान्यभन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ।
विभागका अनुसार देशभर सामान्यभन्दा कम वर्षा भएको छ। मनसुनपछिको अवधिमा सरदरको ८०.४ प्रतिशत मात्र वर्षा भएको हो। कोशी र गण्डकी प्रदेशका केही भागमा २०० मिलिमिटरभन्दा बढी वर्षा भए पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भागमा १० मिलिमिटरभन्दा पनि कम वर्षा मापन गरिएको छ।
विभागले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भागमा गम्भीर खडेरीको स्थिति देखिएको बताएको छ। यी क्षेत्रमा सामान्यभन्दा ५० प्रतिशत कम वर्षा भएको थियो। मनसुनपछिका दुई महीनामा सरदर ६० मिलिमिटर पानी पर्नुपर्नेमा यस वर्ष ५१.४ मिलिमिटर मात्र परेको थियो।
मनसुनपछि मात्रै होइन, मध्य हिउँदसम्म पनि यस वर्ष खासै वर्षा हुन सकेको छैन। विभागले चिसो यामको हावापानीको आकलन निकालेर यस वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने बताएको थियो। बितेका दुई हिउँद पनि खडेरीमय भएका थिए।
गत मनसुनपछिका दुई महीनामा तापक्रममा पनि अनियमितता देखिएको छ। खासगरी, देशको सरदर न्यूनतम तापक्रम शरद् ऋतुमा सन् १९९९ यताकै उच्च मापन गरिएको विभागले जनाएको छ। विशेषगरी, तराई क्षेत्रमा देखिएको उच्च तापक्रम र पश्चिमी नेपालमा देखिएको खडेरीको अवस्था उल्लेखनीय देखिएको विभागले जनाएको छ।
पछिल्ला वर्षहरूमा अधिकतम र न्यूनतम दुवै तापक्रम बढिरहेको देखिएको छ। जलवायु वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण अधिकतम र न्यूनतम तापक्रम बढिरहेको बताउँदै आएका छन्।
यो प्रतिवेदन १०९ मौसम केन्द्रबाट प्राप्त तथ्यांकका आधारमा तयार पारिएको हो। यो असामान्य मौसमी अवस्थाले कृषि उत्पादन, जलस्रोत र पारिस्थितिक प्रणालीमा गम्भीर असर पार्ने सम्भावनालाई इंगित गर्छ। खासगरी, पानी कम पर्दा कृषि बाली र जलविद्युत् उत्पादन पनि घट्छ।