माधव नेपाल र म त एकजुट हुने भइसक्यौं : वामदेव गौतम
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)सँग एकीकरण गर्ने तय भइसकेको बताएका छन्।
गौतमले बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले एकजुट हुन लागेको बताएका हुन्। “माधव नेपाल र म त एकजुट हुने भइसक्यौं,” गौतमले भने।
एकीकृत समाजवादीका नेतासँगको भेटवार्तामा एकजुट हुने समझदारी बनेको उनको भनाइ थियो। केही समयमै यस विषयमा निर्णय गरिने उनले बताए।
त्यस्तै, एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पनि सहमति नजीक पुगेको बताए। गौतमसँगको छलफल सकारात्मक रहेको बताउँदै छिट्टै निर्णयमा पुगिने उनको भनाइ थियो।
छलफलपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा खतिवडाले भने, “निकै बेर छलफल भयो। लगभग सहमतिको दिशामा गएका छौं।”
यसअघि पुस १५ मा पनि नेपाल र गौतमबीच छलफल भएको थियो। त्यति वेला गौतमले आफूलाई कार्यकारी भूमिका दिनुपर्ने माग गरेका थिए।