होटल र रेस्टुरेन्ट क्षेत्रको अर्थतन्त्रमा एक खर्ब योगदान
नेपालका होटल तथा रेस्टुरेन्टले देशको अर्थतन्त्रमा एक खर्ब रुपैयाँभन्दा धेरै योगदान गर्ने गरेको देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पहिलो एकीकृत राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण, २०८० को नतीजा अनुसार नेपालको होटल तथा रेस्टुरेन्ट क्षेत्रले मुलुकको अर्थतन्त्रमा वार्षिक एक खर्ब नौ अर्ब २७ करोड एक लाख रुपैयाँ बराबरको मूल्य अभिवृद्धि गर्ने गरेको देखिएको हो।
आर्थिक वर्ष २०७९/८० को तथ्यांकमा आधारित यो सर्वेक्षण अनुसार देशभर एक लाख ४२ हजार २२३ वटा आवास तथा भोजन सेवाप्रदायक प्रतिष्ठान सञ्चालनमा छन्। यी प्रतिष्ठानमा तीन लाख ८७ हजार ७४७ जना कार्यरत छन्, जसमध्ये एक लाख ६ हजार ४५९ जना तलबी कर्मचारी छन्।
सर्वेक्षणको नतीजा अनुसार यस क्षेत्रले तीन खर्ब २६ अर्ब एक करोड चार लाख रुपैयाँ बराबरको सेवा उत्पादन गरेको छ भने दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख लागत खर्च गरेको देखिन्छ।
सर्वेक्षण अनुसार होटल तथा रेस्टुरेन्ट क्षेत्रसँग पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख बराबरको स्थायी सम्पत्ति छ।
होटल तथा रेस्टुरेन्टका कर्मचारी तथा कामदारको तलब-ज्याला र सुविधामा २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च भएको सर्वेक्षणले देखाएको छ। यस क्षेत्रका करीब २८.४ प्रतिशत प्रतिष्ठानले वित्तीय संस्थाबाट ऋण लिएका छन् भने ७१.६ प्रतिशत प्रतिष्ठान ऋण नलिई सञ्चालनमा छन्।
यस सर्वेक्षणले २०६० सालको होटल तथा लज सर्वेक्षणको तुलनामा व्यापक क्षेत्र समेटेको छ। यसमा तारे होटल, गैरतारे होटल, रिसोर्ट, लज, होमस्टे, अतिथिगृह, छात्रावास, रेस्टुरेन्ट र क्याटरिङ/पार्टी प्यालेस समेत समावेश गरिएको कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता डा. हेमराज रेग्मीले बुधबार नतीजा सार्वजनिक गरेका हुन्।