भीम रावलले जागरण अभियान सञ्चालन गर्ने
नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्ने भएका छन्।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन्। देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको उनको धारणा छ।
पुस १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। एमाले अध्यक्ष ओलीले निरंकुश र अन्यायपूर्ण किसिमले आफ्नो पार्टी सदस्यता खाइदिएको रावलले वाचन गरेको ३१ पृष्ठको विज्ञप्तिमा उल्लेख छ।
आफूले लामो समय काम गरेको एमालेको रङ खुइलिएर ‘बामाले (बाउको मात्र नाम लेऊ)’ बनेको रावलको आरोप छ।