अन्यायपूर्ण किसिमले सदस्यता खाइदिएपछि विकल्पमा हिंड्न बाध्य भएँ : भीम रावल
नेकपा (एमाले)बाट निष्कासित भीम रावलले बाध्य भएर विकल्पमा हिंड्न परेको बताएका छन्।
रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेबाट आफूलाई अन्यायपूर्ण तरीकाले निकालिएको बताएका छन्। जीवन पर्यन्त एमालेमै बस्ने इच्छा रहे पनि अन्यायपूर्ण ढंगले निकालिएको उनको भनाइ थियो।
रावलले भने, “निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यका रूपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन। त्यसैले आज देश र जनताको हितका लागि नयाँ विकल्पबाट हिंड्न बाध्य भएँ।”
एमालेभित्र मूल्य र मान्यतामा हिंड्नेहरू अध्यक्ष केपी शर्मा ओली गुटको कोपभाजनमा परिरहेको उनको आरोप थियो। आफू पनि ओली गुटको निशानामा परेको रावलको जिकिर थियो। “देशभक्त, मूल्य र मान्यतामा हिंड्नेहरू केपी ओली गुटको कोपभाजनमा पर्न थाले,” उनले भने।
रावलले एक घन्टाभन्दा लामो पत्रकार सम्मेलनमा लिखित धारणा राखेका थिए। उनले एमाले अध्यक्ष ओलीमाथि नै प्रश्न गरेका थिए।
महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेकाले नै आफूलाई किनारा लगाउन खोजिएको उनको भनाइ थियो। “मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्ने जस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो,” रावलले थपे, “तपाईं केपी ओलीले आठौं महाधिवेशनमा झलनाथ खनाल र नवौं महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा किन प्रतिस्पर्धा गरेको?”
एमालेको पुस १० गते बसेको सचिवालय बैठकले रावललाई सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो। उनी एमालेका पूर्व उपाध्यक्ष हुन्।