युवा लेखकलाई रचना पठाउन नेपालयको आह्वान
किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना सिर्जना पठाउनका लागि आह्वान गरेको छ।
स्थापनाको २५ वर्ष पुगेको अवसरमा नयाँ पुस्ताका लेखक पहिचान गर्न यस्तो आह्वान गरिएको नेपालयले जनाएको छ। संकलित सिर्जनाबाट सन् २०२५ भित्र कथा, कविता र निबन्ध तीन वटै विधामा फरक फरक पुस्तक प्रकाशन गर्ने नेपालयको योजना छ।
एक्काइसौं शताब्दी : के सोचिरहेको छ र के लेखिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर सिर्जना पठाउन नेपालयले आह्वान गरेको हो।
त्यसका लागि तीन सदस्यीय निर्णायक समिति बनाएको छ, जसमा लेखकहरू श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्ले छन्। समितिले तीनवटै विधामा २५ वटा रचना छान्नेछ। छनोटमा परेका रचना पुस्तकका रूपमा प्रकाशित हुनेछन्।
पुस्तकमा समेटिएका रचनाका लेखकलाई रोयल्टी दिने व्यवस्था समेत गरिएको विज्ञप्तिमा उल्लेख छ। नयाँ पुस्ताका लेखकको दृष्टिकोण पस्कन यस्तो ‘थिम’ बनाइको नेपालयका सम्पादक विमल आचार्यले बताए।
सबै भाषामा आफ्नो सिर्जना पठाउन सकिनेछ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग भएका रचना भने मान्य नहुने नेपालयले शर्त राखेको छ। साथै, रचना दुई हजार ५०० शब्दमा सीमित हुनुपर्नेछ। सम्भावना भएका तर कारणवश अगाडि आउन नसकेका नयाँ पुस्ताका लेखकको पहुँच होस् भनेर यस्तो अभियान शुरू गरिएको नेपालयका टीम लीडर किरणकृष्ण श्रेष्ठले बताए।