बसको ठक्करबाट सशस्त्रका इन्स्पेक्टरको मृत्यु
यात्रुवाहक बसले ठक्कर दिंदा सर्लाहीमा एक जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ।
बसको ठक्करबाट सर्लाहीको बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको हो। गए राति बीओपीमा ड्यूटीमा रहेका वेला बसले ठक्कर दिएको थियो।
बागमती प्रदेश ०१-००६ ख २००४ नम्बरको बसको ठक्करबाट इन्स्पेक्टर तुलाधर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले बताए।
प्रहरीले घटनास्थलबाट बसचालक सहित तीन जनालाई पक्राउ गरेको छ। घटनाबारे उनीहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।