मधेशका शक्तिलाई एकजुट हुन आग्रह
मधेशकेन्द्रित दलका नेताहरूले मधेशको मुद्दा सम्बोधन गर्न र मधेशी जनताका समस्या समाधान गर्न यस क्षेत्रका दल र नेताहरू एकजुट हुनुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा मधेशी एकता समाजले आयोजना गरेको कार्यक्रममा नेताहरूले मधेशका शक्तिहरू एक ठाउँमा नआए केन्द्रीय सत्ताले गोटी बनाइराख्ने जोखिम रहेकाले सहकार्य आवश्यक रहेकामा जोड दिए।
राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले ठूला दलहरूले आफ्नो स्वार्थ अनुसार संविधान संशोधन गर्न लागेको भन्दै सचेत हुन आग्रह गरे। “मधेशी, थारू, आदिवासी, जनजाति एक ठाउँमा नआएसम्म उत्पीडित समुदायले भोगिरहेको विभेद निरन्तर रहिरहन्छ, यसैले सबै एक ठाउँमा आउनुपर्छ,” उनले भने।
जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले मधेशी शक्तिहरूलाई कमजोर पार्न पछिल्लो समय मधेशमा जातीय र धार्मिक अतिवाद देखिएकाले सावधान रहनुपर्ने बताए। यस्तो अवस्थामा मधेशका उत्पीडित शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष राजकिशोर यादवले मधेशकेन्द्रित दलले आफ्नो राजनीतिक शत्रुको पहिचान नगरेसम्म र संघर्षको मार्गचित्रमा प्रस्ट नभएसम्म एकतातिर बढ्न नसकिने बताए।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेशकेन्द्रित दलले सम्पूर्ण मधेशलाई एकीकृत रूपमा हेर्न नसकेको आरोप लगाए। दलहरूबीच एकताको साटो साझा मुद्दाबारे सहकार्य गर्न प्राथमिकता दिइनुपर्ने उनले बताए। “पहिलो चरणमा मधेशकेन्द्रित दलबीच सहकार्य गर्नुपर्छ, त्यसपछि देशभरिको आदिवासी, जनजाति र उत्पीडित समुदायसँग जोडिएका दलसँग सहकार्य गर्ने गरी कार्यदल बनाइनुपर्छ,” उनले भने।
जनमत पार्टीका प्रवक्ता शरद यादवले मधेशी जनताको विश्वास जितेर एकता कायम गर्न जरूरी रहेको बताए। “कुनै नेताको राजनीतिक जीवन बचाउन र टिकाउन होइन, मधेशको मुद्दा र मधेशी जनताका लागि एकता गरिनुपर्छ,” उनले भने।
रौतहटबाट निर्वाचित स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मधेशका शक्ति भनिने दलहरूले मधेशी शब्द नै हटाएर एउटा पसल जस्तो चलाएको र मधेशी समुदायलाई धोका दिइरहेको आरोप लगाए। यी दलहरूले मधेशलाई बेवास्ता गरेर व्यक्तिगत लाभमा केन्द्रित भई आफ्नो राजनीति गरिरहेको पनि उनले टिप्पणी गरे। “दलहरूको लोकतन्त्रीकरण र विविधीकरण नभएसम्म मधेशको शक्ति बलियो हुँदैन। तर अहिले त नेताहरू अध्यक्ष भइराख्ने सोचका कारण नयाँ नयाँ दल खोल्न जोड दिइएको देखिन्छ,” उनले भने।
बहुजन एकता पार्टी, नेपालका अध्यक्ष हरिनन्दन रञ्जनले काठमाडौंको सत्ताले गरेको विभेद जसरी नै मधेशको नेतृत्वले त्यस क्षेत्रका दलित, उत्पीडित र पछाडि पारिएका वर्गलाई विभेद गरिरहेको र यो प्रवृत्ति बन्द भए मात्रै एकता कायम हुने बताए। देश र मधेशको समस्या जातिवाद रहेकाले त्यस विरुद्ध डट्नुपर्नेमा उनले जोड दिए।
नागरिक प्रथम अभियानका संयोजक सुरेन्द्र चौधरीले नेताहरूमा रहेको अहंकार र एकले अर्काको अस्तित्व नस्विकार्ने प्रवृत्तिका कारण मधेशका शक्तिबीच एकता हुन कठिन रहेको बताए।
राजनीतिक विश्लेषक तुलानारायण साहले मधेशका शक्तिहरू संविधान संशोधनका लागि एकताबद्ध भएर लाग्नुपर्ने बताए।
आयोजक रहेको मधेशी एकता समाजका संस्थापक रवीन्द्र यादवले मधेशकेन्द्रित दलहरूले आपसी मनोमालिन्य पर राखेर एकजुट भएर अगाडि बढे मात्रै मधेशको मुद्दा सम्बोधन हुन सक्ने बताए।