गाउँलेलाई पढाएका लाहुरे
विदेशी सेनामा रहेका नेपाली लाहुरेहरूले स्वदेश फर्केपछि पल्टनमा पढेको ज्ञान उपयोग गर्दै दूरदराजका आफ्ना गाउँठाउँमा शिक्षा र स्वास्थ्यसेवा पुर्याए।
पहिलो र दोस्रो विश्वयुद्धले अनेक क्षति गरे। दुवै युद्धमा थुप्रै नेपालीले विदेशीका लागि विदेशीसँग लडे। कसैले वीरताको पदक त कसैले वीरगति पाए। दोस्रो विश्वयुद्धको करीब एक दशकपछि पोखराले चाहिं शिक्षाको नयाँ ज्योति पायो। यो ज्योति बाल्ने काम युद्धमा ज्यान अर्पिएका र बाँचेर फर्किएका तिनै नेपाली सैनिकले गरे।
अमरसिंह उच्च माविमा अहिले दुई हजारभन्दा बढी छात्रछात्रा छन्। यहाँ दृष्टिविहीनलाई पनि पढ्ने सुविधा छ। यो त्यही विद्यालय हो, जसलाई पहिले सोल्जर्स बोर्ड स्कूल भनिन्थ्यो। विसं २०१३ मा स्थापना हुँदा यसको औपचारिक नाम सोल्जर्स बोर्ड भोकेशनल जुनियर हाइस्कूल थियो। भारत सरकारले पहिलो र दोस्रो विश्वयुद्धमा हराएका गोर्खाली सैनिकका भागको रहलपहल रकमबाट ४४ लाख रुपैयाँको युद्धोत्तर पुनर्निर्माण कोष बनाएको थियो। यस अन्तर्गत नेपालमा विकास निर्माणका काम गर्न केन्द्रीय समन्वय बोर्ड थियो। पश्चिमाञ्चल क्षेत्र हेर्ने जिम्मा सन् १९५४ मा पोखरा, काहुँका अवकाशप्राप्त मेजर वीरसिंह गुरुङलाई दिइयो। र, उनैको सक्रियतामा स्थापित जुनिएर स्कूल आज उच्च मावि बनेको हो।
गुरुङलाई यो जिम्मेवारीका लागि योग्य ठहर्याइनुमा विशेष कारण थियो। उनी थिए नै शिक्षाप्रेमी। कोषले अमरसिंह स्कूल स्थापना गर्नुभन्दा तीन वर्षअघि २०११ सालमै गुरुङले आफ्नो गाउँमा निजी लगानीबाट पाँच रोपनी जग्गा किनेर काहुँ प्रावि (हाल कालिका मावि) खोली आफ्नो योग्यता सावित गरिसकेका थिए। पल्टनमा पढेको कखरा अनि त्यसले सिकाएको शिक्षाको महत्त्व बुझेर उनी अवकाशपछि गाउँका अरूलाई पढाउन प्रेरित भएका थिए। देशमा आधुनिक शिक्षाको जग राम्ररी बसिनसकेको त्यो जमानामा यो सानो काम थिएन। कोषकै लगानीमा त्यसपछि साविकको तप्राङ गाविस-३, सिल्दजुरेमा जुरेथुम प्रावि (हाल महारुद्र निमावि), पार्चेमा अन्नपूर्ण मावि, थुमाकोटमा सीताराम मावि र तानचोकमा माझगाउँ प्रावि स्थापना गरिए।
पल्टनको पढाइले शिक्षाको महत्त्व सिकाएका सैनिकलाई लडाइँको चोटले अस्पतालको महत्त्व बुझायो। त्यसैले उनीहरूकै पहल र कोषको लगानीमा २०१३ सालमै पोखराको रामघाटमा सोल्जर्स बोर्ड अस्पताल स्थापना गरियो जुन पछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कहलायो। यस भेगकै नमूना यो अस्पतालमा बर्सेनि कैयौं हजार बिरामीले उपचारसेवा पाउँदै आएका छन्।
यसरी लाहुरेहरूले विदेशी भूमिमा गरेको योगदान स्वदेशको स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि काम लागिरहेको छ। पहाडी क्षेत्रको शैक्षिक एवं अन्य विकास निर्माणमा भारतीय र ब्रिटिश गोर्खा सैनिकको ठूलो भरथेग छ। उच्च पहाडी भूभागमा सरकार पुग्न नसकिरहँदा उनीहरूले नै आफ्नो गाउँठाउँमा शिक्षा फैलाउन प्रयत्न गरे।
यो प्रयत्न किन महत्त्वपूर्ण छ भने, राणाकालमा सर्वसाधारणका छोराछोरीले आधुनिक शिक्षा पढ्ने बन्दोबस्ती नै थिएन। यहाँ सन् १८५३ मा स्थापित दरबार हाइस्कूलमा राणा परिवारका र केही धनाढ्यका छोराछोरीले मात्र पढ्न पाउँथे। यस्तोमा सर्वसाधारणका छोराछोरी पढ्न भारत जानुपर्थ्यो। तिनैबाट कतिपय युवाले मौखिक रूपमा शिक्षा ग्रहण गर्दै आएका थिए। जनताका छोराछोरीले देशमा व्यवस्थित रूपमा पढ्न पाएको २००७ सालमा राणाशासन हटेर प्रजातन्त्र आएपछि हो, त्यो पनि शहरी क्षेत्रमा मात्र। गाउँमा शिक्षा पाउने भर भने भारतमा पढेर आएकाहरू, तिनै अग्रजबाट कखरा चिनेकाहरू र ब्रिटिश सेनामा भर्ती भएर फर्केका तिनै लाहुरेहरू थिए। भर्ती हुँदा अनपढ रहे पनि फौजमा पढ्न र लेख्न सिकेपछि लाहुरेहरूले त्यही ज्ञान गाउँका केटाकेटीलाई बाँड्ने गरेका थिए।
२००७ सालपूर्व दूरदराजमा जेजति विद्यालय खुलेका थिए ती भारतबाट पढेर आएकाहरू, केही जागरूक स्थानीय र लाहुरेहरूको सक्रियतामा खुलेका थिए। राज्यको सरोकार उति थिएन। त्यसैले उति वेला देशभर ३१० प्राथमिक तथा निम्न माध्यमिक विद्यालय, ११ माध्यमिक विद्यालय, दुई क्याम्पस र एक प्राविधिक विद्यालय मात्र थिए। त्यति वेला नेपालको साक्षरता पाँच प्रतिशत मात्र थियो।
२००७ सालपछि विद्यालय खुल्ने दर पनि बढ्दै गयो। हाल बेलायत बस्दै आएका तत्कालीन क्याप्टेन केशर पुन मगरका अनुसार उनी पाँच महीना छुट्टीमा गाउँ आउँदा चौतारीमा राखेर केटाकेटीलाई पढाउँथे। शुरूमा सित्तै पढाएका उनलाई पछि गाउँलेले १ रुपैयाँ तलब व्यवस्था गरिदिएका थिए। पछि म्याग्दीस्थित आफ्नो गाउँ रिममा विद्यालय खोल्न उनले जग्गा उपलब्ध गराए।
पर्वतको साविक क्याङ गाविस-२, लेसपारका गोरबहादुर फगामी मगरले भने कक्षा ५ सम्म भए पनि गाउँमै पढ्ने मौका पाए। स्कूल खुलिसकेको थियो। २१ वर्ष पुगेपछि पल्टनमा भर्ती भए। पल्टनमै वायरिङ/मेडिकल कोर्स गरेका उनले जागीरबाट अवकाशपछि गाउँमै मेडिकल स्टोर्स खोलेर स्वास्थ्यसेवा दिंदै आएका थिए। हनेरी नायब सुबेदार उनलाई सदरमुकाम कुस्मासम्म पनि लेसपारका डाक्टर भनी चिनिन्थ्यो।
राणाकालमै १९८६ सालमा गुल्मीको भार्सेमा क्याप्टेन शिवराज पुन मगर र क्याप्टेन तीर्थराम बुढाथोकीको पहलमा पाठशाला स्थापना गरी पढाउन थालिएको थियो। त्यहाँ जनसहयोग मावि बनेको उक्त विद्यालयमा स्थानीय तथा अन्य भारतीय पूर्व गोर्खा सैनिकले आर्थिक संकलन गरी भौतिक पूर्वाधार थपिदिएका छन्। पूर्व सैनिक रहेका तत्कालीन मन्त्री गिरिप्रसाद बुढाथोकीको पनि यसमा योगदान छ। नेपाली सेनाबाट अवकाशप्राप्त मेजर हेमलाल पुन मगरका अनुसार यो स्कूल स्थापना गर्न अहिले बाग्लुङतिर परेका साविकका १२–१३ वटा गाविसबाट पनि आर्थिक संकलन गरिएको थियो।
२०१३ सालमा म्याग्दीको खिवाङ निमावि स्थापना गर्न तत्कालीन सुबेदार कर्नु पुन (गर्बुजा)ले निकै पसिना खर्चेका थिए। उनलाई पूर्व गोर्खा सैनिकहरूले पनि आर्थिक सहयोग गरे। कर्नुले आफ्नो छोरा रवीन्द्रलाई पनि प्रारम्भिक शिक्षा सोही स्कूलबाट दिए। खिवाङमा कखरा चिनेपछि रवीन्द्रले बाबासँग पल्टन (भारत)मा गई अध्ययनलाई निरन्तरता दिए। त्यहाँ मेकानिकल इन्जिनीयरिङ शिक्षा हासिल गरी भारतीय फौजमा भर्ती भएको र त्यो शिक्षाले पदोन्नतिमा सजिलो भएको उनी बताउँछन्। अवकाशपछि अहिले रवीन्द्र पोखरा, रामबजारमा बसोबास गर्छन्।
सुबेदार धर्मु पुन मगरले २०११/१२ सालतिर म्याग्दीको रघुगंगा गाउँपालिका-१, बेग गाउँ, देउरालीस्थित पीपलबोटमुनि स्थानीय केटाकेटी जुटाएर पढाउन शुरू गरेका थिए। त्यो पहल हाल महादेव माविमा परिणत भएको छ। विद्यालयको भवन निर्माण गर्न स्वदेश-विदेशमा बसोबास गरिरहेका लाहुरे परिवारबाट एक करोड रुपैयाँ संकलन गरिएको छ। कम्प्युटर शिक्षकलाई तलब दिन २५ लाख अक्षयकोष व्यवस्था गरिएको छ।
सोही पालिकामा नेपालका १३ नेपाली भीसीमध्येका एक तुलबहादुर पुन मगरको गाउँ तिब्ल्याङ छ। त्यहाँ रहेको कालिका माविको भवन निर्माण गर्न गोर्खा वेलफेयर स्किमले आर्थिक सहयोग गरेको छ। बेगको स्कूलमा कखरा सिकी राखुको स्कूलबाट एसएलसी उत्तीर्ण गरेका योगकुमार फगामी ब्रिटिश आर्मीमा भर्ती भई अवकाशपछि हाल बेलायत बसिरहेका छन्। एनआरएनए यूकेका अध्यक्ष उनी गाउँमा स्कूल नभएको भए आफू शिक्षाको ज्योतिबाट वञ्चित हुने बताउँछन्। फगामीकै सक्रियतामा बेगको स्कूल भवन पुनर्निर्माण गरिएको छ ।
बाग्लुङमा पनि स्कूल स्थापनामा लाहुरेहरूको योगदान छ। भकुन्डे, नुनथलामा २०११ सालमा भारतीय भूपू सैनिक सुबेदार दिलबहादुर थापा मगरको सक्रियतामा भैरव निमावि स्थापना गरिएको थियो। रिघामा २०१६ सालमा हवल्दार गंगाप्रसाद पुन मगर (मुखिया), तिलबहादुर पुन मगर, रिमबहादुर पुन मगर, रामनाथ पुन मगर, हवल्दार धनप्रसाद श्रीस मगर, भविलाल श्रीस मगर, मित्रबहादुर श्रीस मगर, दीपक पुन मगर र खड्कबहादुर पुन मगरले प्रावि स्थापना गरेका थिए। हाल त्यो रिघा उच्च मावि बनेको छ।
भारतीय सैनिक भक्तबहादुर पुन मगर, जीतबहादुर पुन मगर, क्या. खडगबहादुर पुन मगरले पाण्डवखानीमा २०१८ सालमा प्रावि स्थापनामा सघाएका थिए। हाल त्यो पाण्डवखानी उच्च मावि बनेको छ। २०१८ सालतिर काँडेबासमा जनजागृति प्रावि (हाल उच्च मावि) स्थापना गरियो। यसका लागि जग्गा, फर्निचर खरीद, भवन निर्माणसम्मका काममा क्याप्टेन यामबहादुर बुढाथोकी मगर, मेजर लालबहादुर थापा मगर, कपरोल रेशम बुढाथोकी मगर र ल्याप्टेन भीमबहादुर थापा मगरले सघाएका थिए।
अवकाशप्राप्त क्याप्टेन यामबहादुर बुढाथोकीका अनुसार उति वेला पहाडी क्षेत्रमा पुग्दो विद्यालय नरहेकाले मगर, गुरुङ, राई र लिम्बू लाहुरेहरूले व्यक्तिगत तथा संस्थागत रूपमा आर्थिक सहयोग गरेर शिक्षा विस्तार गरेका थिए। यो कुरा पाल्पाको सर्वोदय उच्च माविका प्रधानाध्यापक खुमबहादुर राना मगरको भनाइले पनि प्रस्ट्याउँछ, “यो स्कूल स्थापनामा भूपू सैनिकहरूले आर्थिकदेखि अध्यापनसम्मका काममा योगदान गरेका छन्।” साविकको बौघा गुम्हा गाविसस्थित यस विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चेतबहादुर थापा (अर्घाली) मगर सुवेदार पदबाट अवकाशप्राप्त भारतीय सैनिक हुन्।
दूरदराजका बस्तीमा विद्यालय नहुँदादेखि लाहुरेहरूले देशको शैक्षिक विकासमा थालेको भरथेग पछिल्लो समय पनि निरन्तर छ। रुपन्देहीमा २०६४ सालमा स्थापित रुद्रपुर पीसल्यान्ड भूपू सैनिक पब्लिक इङ्लिश स्कूल प्रालि लाहुरेहरू मिलेर बनाएका हुन्। स्कूल व्यवस्थापन समिति अध्यक्ष हनेरी नायब सुबेदार कृष्ण फौजा मगर भूपूहरू मिलेर शिक्षा क्षेत्रमा केही गर्ने मनसायले यो स्कूल स्थापना गरिएको बताउँछन्। बुटवल उपमहानगरपालिका-९, रामनगरमा २०५७ सालमा मानव ज्ञान निमावि (हाल उच्च मावि)को भवन निर्माण गर्न भूपू सैनिकहरू क्या. यामबहादुर बुढाथोकी मगर, यामलाल पुन मगर र बहादुर थापा मगरका पत्नीहरूले पहल गरेका थिए। उनीहरूकै सक्रियतामा गोर्खा वेलफेयर स्किम अन्तर्गत ४८ लाख रुपैयाँ उपलब्ध भएको थियो।
यस्तै, नवलपरासीको बर्दघाटमा एक्स आर्मी पब्लिक इङ्लिश हायर सेकेन्डरी स्कूल र स्याङ्जाको वालिङ-१ मा भूपू सैनिक आवासीय उच्च मावि छ। गोर्खा वेलफेयर स्किमबाट पछिल्लो १० वर्षमा १७ हजार ७५ जनाले कुल १३ करोड १४ लाख ३३ हजार ४२६ रुपैयाँको शैक्षिक छात्रवृत्ति पाएका छन्। यस अवधिमा साविकका ११ अञ्चल (कोशी, मेची, सगरमाथा, जनकपुर, बागमती, लुम्बिनी, राप्ती, नारायणी, गण्डकी, धौलागिरि र भेरी)का १२४ वटा विद्यालय प्रत्येकमा चारदेखि १० वटासम्म कक्षाकोठा, फर्निचर र शौचालय बनाइएका छन्। विद्यालय स्थापनामा खर्चिएको रकम नै १५ करोड २० लाख ७३ हजार ९९६ रुपैयाँ देखिन्छ। यस बाहेक डिस्ट्रिक्ट सोल्जर्स बोर्डबाट पनि बर्सेनि छात्रवृत्ति वितरण र विद्यालयमा सहयोग हुँदै आएको छ। यो सबै विगतमा ब्रिटिश र भारतीय गोर्खामा रहेका लाहुरेले गरेको योगदानको प्रतिफल हो।
पहिले तत्कालीन भारतको लाहोर (हाल पाकिस्तान)मा सेनामा भर्ती भएर आउनेहरूलाई लाहुरे भनिन्थ्यो। पछि अन्य देशको सेनामा भर्ती भएर आउनेलाई पनि लाहुरे भन्न थालियो। शुरूका व्यक्तिहरू शासकको उर्दीले जबर्जस्ती भर्ती भएका थिए। कालान्तरमा तिनै लाहुरेले गाउँघरका भर्ती हुनलायक युवालाई पनि सँगै लगे। खान/लगाउन समस्या रहेका पहाडी क्षेत्रका ती युवाको भर्तीपछिको रवाफ, तिनका किमती लुगा र पैसा देखेर पछि अरू युवा पनि लाहुरे बन्ने सपना देख्न थाले। हुनेखाने (विशेषगरी राणाहरू)ले मात्र पढ्न पाउने जमानामा पहाडी क्षेत्रका जनजाति युवा विदेशी सेनामा भर्ती भई लडाइँको अग्रभागमा लड्ने स्थलसेना (इन्फन्ट्री)का रूपमा प्रयोग भए।
गाउँघरको हावापानीमा रमाएका तर अनपढ युवालाई सेनाको कडा अनुशासन र युद्धकला सिकाएर लडाइँको अग्रभागमा पठाएपछि उनीहरू सामुन्ने आएका दुस्मनलाई पराजित गरी बहादुर कहलिए। नेपाल विश्वमा बहादुर जन्माउने देशका नामले चिनियो। तिनै लाहुरेहरूले देशको अर्थतन्त्रमा पनि सघाइरहेका छन्। अहिले बहालवाला लाहुरेको तलब र अवकाशप्राप्त पेन्सनरहरूबाट देशमा अर्बौं रुपैयाँको रेमिटेन्स भित्रिइरहेछ। उनीहरूले आफ्नो गाउँठाउँको सडक, खानेपानी जस्ता भौतिक निर्माणका काममा पनि संस्थागत र व्यक्तिगत रूपमा सघाइरहेकै छन्।
लाहुरेहरूले निश्चित रूपमा अन्य देशका लागि रगत बगाए। तर यो भर्ती सरकारकै नीति अन्तर्गत भएको हो। सन् १८१६ मा ब्रिटिश गोर्खामा नेपालीहरू भर्ती गर्न थालिए। ब्रिटिशले भारत छाडेपछि पनि नेपालीहरू बेलायती र भारतीय सेना दुवैमा रहने गरी अर्को त्रिपक्षीय सम्झौता भयो। जे भए पनि लाहुरेहरूले शिक्षा सहितका क्षेत्रमा जेजति योगदान गरेका छन्, त्यो देशका लागि रगत बगाएभन्दा कम छैन। उनीहरूको वीरताको गाथा लडाइँमा मात्र सीमित छैन, राष्ट्रसेवाका अनेक आयाममा फैलिएको छ।
स्रोत :
– गोरखा वेलफेयर स्किम, पोखरा, ब्रिटिश क्याम्प
– डिस्ट्रिक्ट सोल्जर्स बोर्ड, भारतीय पेन्सन क्याम्प, पोखरा
– गोरखा भिक्टोरिया क्रस अभिनन्दन समारोह (काठमाडौं, २०५० माघ २३)
– मेजर वीरसिंह गुरुङ स्मृति प्रतिष्ठान, स्मृति स्मारिका, २०६९
– भारतीय भूतपूर्व सैनिक कल्याणकारी संगठन नेपालका पत्रिकाहरू
– झलक सुवेदी, ब्रिटिश साम्राज्यका नेपाली मोहरा
– प्रा.डा.मनप्रसाद वाग्ले, (नयाँ पत्रिका, ‘०७ सालकै वरिपरि घुमेको शिक्षा’, २०६९ कात्तिक १८)
– गीत/संगीत (मास्टर मित्रसेन)
– मेजन पुन मगर, पुन मगर एक अध्ययन- २०६६
– सुबेदार इन्द्रबहादुर गुरुङ, सचिव : मेजर वीरसिंह गुरुङ स्मृति प्रतिष्ठान, पोखरा
– क्या. यामबहादुर बुढाथोकी मगर, (भूपू अध्यक्ष : नेपाल मगर संघ, केन्द्रीय समिति)
– रेशम पुन मगर, जीडब्लूएस, पोखरा
– कृष्णबहादुर फौजा (अध्यक्ष : रुद्रपुर पीसल्यान्ड भूपू सैनिक पब्लिक इङ्लिश स्कूल, व्यवस्थापन समिति)
– सुबेदार चेतबहादुर थापा, (अध्यक्ष : स्कूल व्यवस्थापन समिति, सर्वोदय उच्च मावि, बौघा गुम्हा, पाल्पा)