लोक सेवा परीक्षाको तनाव : तयारीसँगै चाहिन्छ सकारात्मक सोच
सरकारी सेवामा प्रवेश गर्ने सपना देखेका धेरैलाई परीक्षाको कठिन तयारी, अनिश्चितता र असफलताका कारण मानसिक तनाव हुने भएकाले आफ्नै ढाडस तथा परिवार र समाजको हौसला, साथसहयोगको खाँचो हुन्छ।
गत पुस ८ गते बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटस्थित डेराको कोठामा बाबु र छोरा मृत भेटिए। खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीणको शव राति सुतेकै ठाउँमा थियो। दुवैको कानको तल्लो भागमा चोट थियो।
घटनापछि कुलप्रसादका जेठा छोरा मिलन आचार्य फरार थिए। शव भेटिएको भोलिपल्टै उनले बाबु र भाइको हत्या आफूले गरेको भन्दै प्रहरीमा आत्मसमर्पण गरे। केही वर्षयता लोक सेवा आयोगको परीक्षाको तयारी गरिरहेका उनले पटक पटक परीक्षा दिंदा पनि नाम ननिस्किएपछि मानसिक तनावमा रहेको र यस्तो बीभत्स हत्या गरेको बयान प्रहरीमा दिएका छन्। उनले बुबा र भाइको हत्यापछि आत्महत्याको असफल प्रयास गरेका थिए।
जिल्ला हुलाक कार्यालय, खोटाङका निमित्त प्रमुख (नासु) रहेका कुलप्रसाद स्कूटरको लाइसेन्सका लागि परीक्षा दिन आएर छोराहरूको डेरामा बसेका थिए। मिलनका अनुसार पुस ६ गते शनिबार राति सुत्ने वेला छोराले लोक सेवामा नाम निकाल्न नसकेका कारण गाउँसमाजले कुरा काट्न थालेको भन्दै बुबाले उनलाई सम्झाएका थिए। २०७४ सालदेखि लोक सेवाको तयारीमा जुटेका उनले ६/७ पटक परीक्षा दिंदा पनि नाम निकाल्न नसकेर पीडामा रहेको अवस्थामा बुबाको कुराले थप आघात भएको र सोही राति घटना गराएको बताएका छन्।
यस घटनामा मिलन लोक सेवाको परीक्षामा पटक पटक असफल हुँदाको तनावको भूमिका केकति जोडिएको छ भन्ने अनुसन्धानको विषय हो। तर लामो समय परीक्षाको तयारी गर्दा पनि नाम निकाल्न नसकेपछि हतास हुने, मानसिक तनावमा पर्नेहरू उत्तिकै छन्। सरकारी जागीर हुनु जीविका चलाउने रोजगारी मात्र नभई सामाजिक प्रतिष्ठा पनि मानिने भएकाले यसका आकांक्षीहरूका लागि आफ्नो असफलता ठूलो मनोसामाजिक समस्या बन्ने गरेको छ।
लोक सेवाको तयारी गरिरहेकाहरूले तनाव व्यवस्थापन कसरी गर्ने गरेका छन्? असफलताबीच अथक रूपमा परीक्षा दिंदै आएका विद्यार्थीसँग हिमालखबरले कुराकानी गरेको छ।
बारा जितपुरका २९ वर्षीय रवि यादवले लोक सेवा आयोगको तयारी गर्न थालेको पाँच वर्ष भयो। त्रि-चन्द्र क्याम्पसमा बीएस्सी सकेपछि पढाइलाई थाती राखेका उनको पहिलो प्राथमिकता सरकारी सेवामा प्रवेश गर्नु हो। सँगै बसेर तयारी गरेका साथीहरूको नाम निस्किएर सिफारिश भइसक्दा उनी अन्तर्वार्तासम्म पनि पुग्न सकेका छैनन्। यसैले उनको मनमा एकखालको तनाव र बेचैनी छ। “मेरा धेरै साथीले नाम निकालिसकेका छन्, उनीहरूलाई हेर्दा पनि तनाव हुन्छ,” उनले भने।
रविका दुई भाइ छन्। बुबा कतारमा मजदूरी गर्छन्, आमा गाउँमै खेतीपाती गर्छिन्। ‘होम ट्यूशन’ पढाएर पकेट खर्च जोहो गर्ने उनी बुबाको ढल्कँदो उमेरका कारण परिवारको आर्थिक टेको बन्न र भविष्य सुनिश्चित गर्न आफूले जसरी पनि लोक सेवामा नाम निकाल्नै पर्ने दबाब महसूस गरिरहेछन्। अर्कातिर, गाउँसमाजले अरूसँग तुलना गरेर आफूलाई असफल भन्दा, परिवारले पनि अरूकै कुरा सुनेर नाम निकाल्न नसकेको भन्दै रिस पोख्दा उनलाई तनावले झनै घेर्छ।
यस्तो तनावलाई उनी कसरी व्यवस्थापन गरिरहेका छन् त? उनी भन्छन्, “सरकारी सेवा प्रवेश गर्छु भन्नेमा ढुक्क छु म। जसरी पनि नाम निकाल्छु भनेर परिवारलाई विश्वास दिलाउँदै तयारी गरिरहेको छु।” आफूलाई हिम्मत र सान्त्वना दिने सुझबुझ परिवारमा नभएकाले आफूले नै उल्टै सम्झाइबुझाइ गर्नुपरेको उनी बताउँछन्।
रविका अनुसार उनी परिवारलाई बारम्बारको असफलतापछि सफल भएका विभिन्न व्यक्तिको उदाहरण दिन्छन् र ‘समय लाग्छ, धैर्य गर्नुपर्छ, सफल भइन्छ’ भनेर सम्झाउँछन्।
काठमाडौं, कुलेश्वरमा डेरा लिएर बसेका उनी त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको चौरमा आफू जस्तै लोक सेवाको तयारी गरिरहेका साथीहरूसँग बसेर पढ्छन्। साथीहरूको विभिन्न अनुभव सुनेपछि आफ्नो तनाव र निराशा थामथुम पार्न सहज हुने उनको अनुभव छ। “साथीहरू कोही घरबाट पैसा दिंदैनन् भन्छन्, खाजा खाने र हिंडडुल गर्ने पैसा पनि छैन भन्ने सुनाउँछन्। मलाई त बुबाले पैसा पठाइरहनुभएकै छ भनेर चित्त बुझाउँछु,” उनी भन्छन्।
उनका अनुसार पढाइको तनाव र असफलताले निम्त्याउने अत्यास र निराशा चिरेर सकारात्मक कसरी रहने भनेर लोक सेवाको तयारी कक्षामा पनि सिकाइन्छ। तनाव व्यवस्थापन गर्न उनी वेलावेला ‘मोटिभेशनल भिडिओ’ पनि हेर्छन्।
रविले त हालसम्म पाँच वर्षदेखि परीक्षा दिइरहेका छन्, साथीहरूको भीडमा दशौं वर्षदेखि परीक्षा दिइरहेका व्यक्ति भेट्दा उनी आफूलाई सान्त्वना दिने ठाउँ पाउँछन्। साथै, लोक सेवामा सजिलै पास भइन्छ भन्ने पनि उनलाई लाग्दैन र असफलतालाई स्वाभाविक मान्छन्। “लोक सेवाको परीक्षामा समय, मिहिनेत, उमेर, त्याग सबथोक चाहिन्छ। सबैले सक्ने भए त सबै जना सरकारी सेवामा हुन्थे नि,” उनी भन्छन्।
उनका अनुसार लोक सेवाको तयारी गरिरहेका धेरै जना तनावमै हुन्छन्। कतिले घरपरिवारको जिम्मेवारी वहन गर्दै पढ्नुपर्ने हुन्छ, कतिसँग फारम भर्न समेत पैसा हुँदैन, कतिको एकपछि अर्को असफलता भोग्दाभोग्दै लोक सेवाले निर्धारण गरेको उमेर घर्किन लाग्छ। उनी भन्छन्, “परिवारबाट आर्थिक भरथेगसँगै प्रेरणा र सहयोग भयो भने लोक सेवाको तयारी एकसुरले गर्न सकिन्छ र सहज पनि हुन्छ।”
सबथोक छाडेर निरन्तर डट्नुपर्ने कठिन यात्रा मानिन्छ, लोक सेवाको तयारी। यति गर्दा पनि परीक्षामा पार पाइन्छ भन्ने निश्चितता हुँदैन। किनकि एक से एक तयारी गरेर आउनेहरूबीच चर्को प्रतिस्पर्धा हुन्छ।
लोक सेवा आयोगको परीक्षामा कति धेरै प्रतिस्पर्धा हुन्छ भन्ने दृष्टान्त हेरौं। आयोगको ६५औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ६६० पदका लागि विज्ञापन खुल्दा चार लाख ७३ हजार ४९० जनाले आवेदन दिए। सबै परीक्षा पास गरेर दुई हजार ६८८ जना मात्रै सिफारिश भए।
‘समय लाग्छ, आत्तिनु हुँदैन’
एक दशकभन्दा बढी समयदेखि विभिन्न सेवाका प्रतिस्पर्धात्मक तयारी कक्षाका अन्तरक्रियात्मक कार्यक्रममा सहजीकरण गर्दै आएका नेपाल सरकारका उपसचिव मित्रप्रसाद घिमिरे परीक्षामा असफलता पनि यथार्थ पाटो रहेको र असफल हुँदा तनाव हुनु स्वाभाविक भएको तर मनोभाव व्यवस्थापन महत्त्वपूर्ण कुरा भएको बताउँछन्।
प्रतिस्पर्धामा असफलतालाई स्विकार्न सक्ने गरी परीक्षार्थी मानसिक रूपमा बलियो हुनुपर्ने घिमिरे सुझाव दिन्छन्। व्यक्तिको मनोभावले पढाइमा असर पार्ने भएकाले लोक सेवाको तयारी गरिरहेकाहरू सधैं सकारात्मक रहनुपर्ने उनको भनाइ छ।
“उमेर घर्किरहेको हुन्छ, परिवारलाई हेर्नुपर्ने दायित्व बढेको र सामाजिक परिवेशले बाँधिरहेको हुन्छ र परीक्षाका लागि अथाह मिहिनेत गरे पनि नतीजा के हुन्छ भन्न सकिंदैन। पाठ्यक्रम पनि बुझ्नेभन्दा घोक्ने खालको भएकाले मानसिक रूपमा स्वस्थ हुनुपर्छ,” उनी भन्छन्। उनले अन्तरक्रियात्मक कार्यक्रममा सहभागी विद्यार्थीलाई सकारात्मक सोच्न र आफ्नो योजनामा कटिबद्ध रहन सिकाउने गरेका छन्।
असफलताबाट हार खानु हुँदैन भन्नेमा घिमिरे आफैं एक उदाहरण हुन्। उनी खरिदारदेखि उपसचिवसम्म खुला प्रतिस्पर्धाबाट आएका हुन्। उक्त अवधिमा नायब सुब्बामा दुई पटक र उपसचिवमा एक पटक असफल भएका थिए। “मेरो उदाहरणले पनि देखाउँछ, समय लाग्छ, आत्तिनु हुँदैन,” उनी भन्छन्।
लोक सेवाको थोरै पदको विज्ञापनमा अत्याधिक दरखास्त पर्ने र कडा प्रतिस्पर्धा हुने भएकाले परीक्षाको तयारी गर्नेलाई पारिवारिक वातावरण समेत उपयुक्त हुनुपर्ने उनी बताउँछन्। “परिवारले हौसला र साथ दिनुका साथै अध्ययन गर्ने माहोल बनाइदिनुपर्छ,” उनी भन्छन्।
लोक सेवाको परीक्षा जसरी पनि छिचोल्नै पर्ने पारिवारिक र सामाजिक दबाबका कारण धेरै युवाले चर्को मानसिक दबाब भोगिरहेकोबारे घिमिरे सरकारी जागीरलाई प्रतिष्ठाको विषय बनाउने समाजको दृष्टिकोण नै भत्काउनुपर्ने धारणा राख्छन्। “सरकारी जागीर भए छोरी दिन्छन् भन्ने भनाइ पहिला खूबै सुनिन्थ्यो, तर आज त्यो भाष्य परिवर्तन भइसक्यो। सरकारी जागीरमा भन्दा राम्रो कमाइ र मान-प्रतिष्ठान निजी क्षेत्र लगायत अन्य क्षेत्रको जागीरमा छ,” उनी भन्छन्।
नेपाल सरकारका पूर्व सचिव तथा प्रशासनका जानकार गोपीनाथ मैनाली अन्य क्षेत्रमा रोजगारीका अवसर कम भएकाले सरकारी सेवाप्रति आकर्षण बढेको र यसैकारण चर्को प्रतिस्पर्धाले विद्यार्थीमा तनाव सिर्जना गरेको बताउँछन्। “बर्सेनि पाँच लाख श्रमिक बजारमा आउँछन्, तीमध्ये २५ सयले मात्र सरकारी जागीर पाउने हुन्,” उनी भन्छन्।
२०५९ सालदेखि लोक सेवा परीक्षाको तयारी गर्ने विद्यार्थीलाई पढाइरहेका मैनाली विद्यार्थीलाई तीन वटा सुझाव दिन्छन्। पहिलो, भविष्यमा के गर्ने र निजामतीमा पनि प्रशासन वा संस्थानमा कुन तहको तयारी गर्ने भन्नेमा स्पष्ट भएर त्यसै अनुसार तयारी गर्नुपर्छ। दोस्रो, समय लाग्छ, धैर्य राख्नुपर्छ र यसमा परिवारले साथ दिनुपर्छ। तेस्रो, निरन्तर प्रयास गर्छु भन्ने अठोट हुनुपर्छ।
तनावले निजामती प्रवेशका आकांक्षीहरूलाई मात्रै नभएर जागीर खाइरहेकालाई पनि सताएको उनी बताउँछन्। उनका अनुसार माथिल्लो तहमा बढुवाको तयारी गरिरहेकाहरू तनावमा हुने गरेका छन्।
त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा. सरोज ओझा मानिसले परीक्षालाई तनावका रूपमा लिएर यसमा पास नभए भविष्य सकियो भन्ने सोच्ने गरेको बताउँछन्। मानसिक तनाव व्यवस्थापन गर्न नसक्दा व्यक्ति स्वयंलाई मात्र नभई परिवार र समाजलाई नै असर पार्ने भएकाले मानसिक स्वास्थ्यबारे सबै पक्ष संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
डा. ओझाका अनुसार त्रिवि शिक्षण अस्पतालमा दैनिक १० देखि १५ जनासम्म मानसिक स्वास्थ्य समस्या लिएर आउने गरेका छन्, यसमा परीक्षामा असफल भएकाहरूले पनि परामर्श लिने गरेका छन्। सामाजिक प्रतिष्ठाका कारण लोक सेवा आयोगमा नाम निकालेर जागीर खानुलाई नै जीवनको उद्देश्य बनाउने र त्यसमा सफल नभए चरम निराश हुने अवस्था देखिएकाले जागीरप्रति समाजको बुझाइ नै फेर्नुपर्ने उनी बताउँछन्।
“जागीर मात्रै सबथोक होइन, अन्य विकल्प पनि छन् भनेर फराकिलो बुझाइ बनाउनुपर्छ,” उनी भन्छन्, “जागीर र त्यसमा पनि सरकारी जागीरलाई निर्विकल्प मानेर अड्किंदा असफलताले विवेकशून्य बनाउँछ र कतिपयको अवस्थामा आत्महत्या वा आपराधिक काममा ढल्काउँछ।”
परीक्षाको असफलताले निम्त्याउने तनावको व्यवस्थापनमा व्यक्ति स्वयं, परिवार, समाज र राज्यको दायित्व हुने उनी बताउँछन्। “व्यक्तिले परीक्षामा नाम ननिस्किए अर्को प्रयासमा गर्न सकिन्छ वा अरू विकल्प पनि छन् भन्ने सोच्नुपर्छ। परिवारले अर्को पटक सकिन्छ भनेर ढाडस दिनुपर्छ, समाजले सरकारी जागीर खाने मात्रै राम्रो भन्ने भाष्य बदल्नुपर्छ,” उनी भन्छन्।
सन् २०२० मा नेपाल सरकारले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणमा वयस्क उमेर समूहमा मानसिक समस्या धेरै रहेको र त्यसमा पनि शिक्षित व्यक्ति धेरै रहेको उल्लेख छ।
यो पनि पढ्नुहोस्-