वामदेव गौतमले माधव नेपालसँग मागे सक्रिय भूमिका
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)मा आफ्नो सक्रिय भूमिका हुनुपर्ने माग गरेका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र गौतमबीच सोमबार भेटवार्ता भएको थियो। पार्टी मुख्यालयमा भएको भेटमा गौतमले आफूलाई वरिष्ठ नेताको जस्तो भूमिकामा नराख्न आग्रह गरेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए। उनका अनुसार गौतमले चौबीसै घन्टा सक्रिय हुने भूमिका माग गरेका थिए।
एकीकृत समाजवादीमा अध्यक्ष नेपालपछिको वरीयतामा सम्मानित नेता झलनाथ खनाल, त्यसपछि वरिष्ठ नेतात्रय बेदुराम भुसाल, प्रमेशकुमार हमाल र घनेन्द्र बस्नेत छन्। ती नेताका अनुसार वरिष्ठ नेताहरूमध्ये पहिलो वरीयता पाउने निश्चित जस्तो भएपछि गौतमले ‘वरिष्ठ नेताको सक्रिय भूमिका हुँदैन’ भनेका थिए।
गौतमले भेटपछि ‘नयाँ आकाशतर्फ फेरि हिंड्न पर्छ भन्ने पनि कुरा भएको’ प्रतिक्रिया दिएका छन्। आफू एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवित रहेको उनको भनाइ छ।
यसअघि नै गौतमले एकीकृत समाजवादीसँग वार्ता गर्न समिति गठन गरेका थिए। एकता अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला रहेको वार्ता समिति गठन भएको थियो। समितिले पनि एकीकृत समाजवादीसँग वार्ता गरिरहेको जनाएको छ।
त्यस्तै, एकीकृत समाजवादीले पनि वार्ता टोली गठन गरेको थियो। एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहेको टोलीमा प्रमेश हमाल र बलराम बास्कोटा सदस्य छन्। दुवै टोलीले छलफल गर्दै आए पनि सोमबार भने गौतमले नेपालसँग भेटवार्ता गरेका हुन्।