आर्थिक अभावले पढाइबाट वञ्चित विद्यार्थीलाई ध्यानमा राखेर खोटाङको जन्तेढुंगा गाउँपालिकाले आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ।
जन्तेढुंगा गाउँपालिका-३, काहुलेस्थित लक्ष्मी माविमा आवासीय कक्षा सञ्चालनमा ल्याइएको हो। गाउँपालिकाको व्यवस्थापनमा शुरू गरिएको आवासीय विद्यालयको प्रतिनिधि सभा सदस्य रामकुमार राईले उद्घाटन गरेका छन्।
भौगोलिक रूपमा विद्यालयदेखि टाढा रहेका विद्यार्थीलाई शिक्षाको पहुँचमा पुर्याउने, कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई शिक्षाको अवसर प्रदान गर्ने, बालबालिकाको सिकाइस्तर वृद्धि गर्ने र शैक्षिक उपलब्धि वृद्धि गर्ने उद्देश्यसाथ आवासीय विद्यालय सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताइन्। हाल लक्ष्मी माविमा विपन्न परिवारका, आमा र बुबाबाट अलग भएका, बेवारिसे अवस्थाका १९ विद्यार्थीलाई राखिएको छ।
विद्यालय जान र आउन घन्टौं लाग्ने गाउँका विद्यार्थीलाई पनि क्रमशः आवासीय विद्यालयमा ल्याइने गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए। आवासीय विद्यार्थीलाई आवास, खाना, खाजा, पोशाक र पाठ्यसामग्री निःशुल्क उपलब्ध गराइने उनले जनाए। उनीहरूको रेखदेख, पठनपाठन र अभिभावकीय भूमिकाका लागि लक्ष्मी माविकै तीन शिक्षिकालाई जिम्मेवारी दिइएको छ।
निःशुल्क आवासमा बस्ने विद्यार्थीका लागि प्रतिविद्यार्थी खाना र खाजा बापत मासिक पाँच हजारका दरले वार्षिक १० महीनाको रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। यसका लागि चालू आर्थिक वर्षमा १७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
आम्दानी भएका र शुल्क तिर्न सक्ने अभिभावकले पनि आफ्ना बालबालिकालाई आवासीय विद्यालयमा राख्ने सक्नेछन्। त्यसका लागि प्रतिविद्यार्थी वार्षिक ५० हजार रुपैयाँ शुल्क तोकिएको अध्यक्ष राईले बताइन्।
गाउँपालिकाभित्र बसोबास रहेका, घरदेखि विद्यालय जान र आउन एक घन्टाभन्दा बढी समय लाग्ने, जेहेनदार, कमजोर आर्थिक अवस्था भएका, अनाथ, असहाय र टुहुरा बालबालिकालाई शिक्षाको प्रबन्ध गर्न गाउँपालिकाले कार्यविधि नै बनाएको थियो। आवासीय विद्यालय सञ्चालन कार्यविधि गत जेठ ११ मा राजपत्रमा प्रकाशन गरिएको थियो। त्यसैका आधारमा अहिले विद्यालय सञ्चालन गरिएको हो।