यस्तो छ थातथलो खोज्दै गाउँठाउँ चहारिरहेका युवा अध्येताको समाज चिन्तन
युवामा बढ्दै गएको पहिचानको यस्तो लालसाले सकारात्मक भूमिका खेलेको विश्वास गरिन्छ। किनकि समाजसँग प्रत्यक्ष संवाद गर्ने यस्तो कर्मले तिनले हाम्रो समाजको विशिष्टतालाई बुझ्न पाएका छन्।
गाउँबाट नजीकको शहर झरेको, त्यो शहरबाट काठमाडौं उक्लिएको र काठमाडौंबाट तेस्रो मुलुकमा उडेकाहरूको कथाव्यथाको पोथाले हाम्रो लेखन भकारी छचल्किसकेको छ। प्रवासन बहसको यो महासागरमा हामीले समुद्रपारका समृद्ध शहरको मोह त्यागी स्वदेश फर्किएका ऊर्जावान् युवाहरूको कथा सुन्न पाएका छैनौं। ‘समस्या मात्र समाचार हुन्’ भन्ने पाठशालाबाट दीक्षित सञ्चारकर्मीहरूका चिन्तनका कारण हुन सक्दछ, काठमाडौं खाल्डो छिचोलेर आफ्नो थातथलोका मिथक बटुल्न गाउँ गाउँ पुगेका तन्नेरीहरू हाम्रा नजरमा परिरहेका छैनन्।
यो संख्या नजानिंदो किसिमले बढ्दै गएको देखिन्छ। तिनीहरू के गरिरहेका छन्? के बटुलिरहेका छन् र त्यसबाट के सोच बनाइरहेका छन्? हामीले थाहा पाउन सकिरहेका छैनौं। हामीले ‘हिमालखबर छलफल’ मार्फत बौद्धिक वृत्तमा छुटेका यस्तै मुद्दामाथि विमर्श चलाउँदै आएका छौं। यसपालि यो शृंखलामा शहरमा शिक्षादीक्षा लिंदै हुर्किरहेका पाँच यस्ता युवासँग छलफल गरेका छौं, जो आफ्नो थातथलो खोज्दै गाउँ गाउँ चहारिरहेका छन्। त्यसलाई आफ्नो कला मार्फत व्यक्त गर्ने प्रयत्न गरिरहेका छन्।
युवामा बढ्दै गएको पहिचानको यस्तो लालसाले सकारात्मक भूमिका खेलेको विश्वास गरिन्छ। किनकि समाजसँग प्रत्यक्ष संवाद गर्ने यस्तो कर्मले तिनले हाम्रो समाजको विशिष्टतालाई बुझ्न पाएका छन्। त्यसैले होला, यसरी गाउँठाउँ डुलिरहेका युवाले समाजमा सीमान्त पारिएका समुदायका मुद्दामाथि पैरवी गरिरहेका छन्। तिनका अधिकारका निम्ति प्लेकार्ड बोकी मण्डलामा नाराबाजी गरिरहेका छन्। बौद्धिक मञ्चमा तिनका वाणी बन्ने उपक्रममा पनि सहभागी भइरहेका छन्। दौंतरी जतिले देश छाडिरहँदा यी युवालाई आफ्नो पुर्खाको उत्पत्तिथलो र त्यस सम्बन्धी मिथक अध्ययन गर्दै गाउँ गाउँ डुलिरहन के कुराले उत्प्रेरित गरिरहेको होला? कृत्रिम बौद्धिकताको आक्रामकतासँग जुध्दै आफ्नो वर्तमान र भविष्यको जोहो गर्नुपरिरहेको युवा पुस्ता किन र केका निम्ति इतिहासमा फर्किएर आफ्नो अस्तित्व खोजिरहेको होला?
हामीले उनीहरूसँग यसबारे गरेका प्रश्नका जवाफ रोचक थिए। काठमाडौंमा हुर्किएका तर आफ्नो थातथलो खोज्दै हुम्लामा बारम्बार धाइरहेका सन्डुप दोर्जेको जवाफ थियो, “हामीले आधुनिकताका नाममा पुर्खाले इजाद गरेका यस्ता कैयौं उत्पादनहरू बिर्सिएका रहेछौं, जुन अहिलेको तुलनामा निकै व्यावहारिक थिए। हामीले पुस्ताबाट प्राप्त गर्दै आएको ज्ञानलाई संयोजन गर्न सकेका रहेनछौं, जुन अहिलेको समयमा झन् बढी सान्दर्भिक हुँदै गएको देखिन्छ।”
छलफलमा काठमाडौंवासी अमन शाही, पुस्तैनी थलो मुस्ताङ भएकी प्रियंका तुलाचन, सिन्धुलीकी सारा तुँनिच कोइँच, हुम्लाका सन्डुप दोर्जे र मोरङका सन्देश घिमिरे सहभागी थिए। भिन्न समुदायबाट प्रतिनिधित्व गर्ने सहभागीमध्ये चार जना ललितकलाका अभ्यर्थी हुन् भने घिमिरे अनुसन्धाता तथा लेखक हुन्। यी सहभागीसँग जेबी पुन मगरले गरेको भिडिओ छलफल: